Banijya News

४२० मेगावाटको तिला-२ जलविद्युत् आयोजनामा ५२ अर्ब ५५ करोड ऋण लगानी जुट्यो

1
1.0K Shares

कर्णाली प्रदेशको कालिकोटमा निर्माण हुन लागेको ४२० मेगावाट क्षमताको तिला–२ जलविद्युत् आयोजनाका लागि विभिन्न बैंक तथा वित्तीय संस्थासँग लगानी सम्झौता सम्पन्न भएको छ। ऊर्जा तिला पावर कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित उक्त आयोजनामा एभरेस्ट बैंक लिमिटेडको अगुवाइमा बैंक तथा वित्तीय संस्थाहरूले लगानी गर्ने भएका हुन्। लगानी सम्झौता सम्पन्न भएसँगै आयोजनाको वित्तीय व्यवस्थापनतर्फको महत्वपूर्ण चरण पूरा भएको छ।

आयोजनामा लगानी गर्ने कन्सोर्टियम बैंकहरूमा एभरेस्ट बैंक अगुवा बैंकका रूपमा रहेको छ भने सानिमा बैंक सहअगुवा बैंकका रूपमा सहभागी छ। त्यस्तै, प्राइम कमर्सियल बैंक, एनआईसी एसिया बैंक र ग्लोबल आईएमई बैंक को–लिड बैंकका रूपमा रहेका छन्।

यसैगरी सिद्धार्थ बैंक, नबिल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, मुक्तिनाथ विकास बैंक र कामना सेवा विकास बैंक पनि आयोजनामा सहभागी बैंकका रूपमा रहेका छन्। विभिन्न बैंक तथा वित्तीय संस्थाको सहभागिताले ठूलो क्षमताको जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक वित्तीय स्रोत जुटाउन सहयोग पुगेको कम्पनीले जनाएको छ।

कालिकोट जिल्लामा निर्माण हुने आयोजनाअन्तर्गत तिलागुफा नगरपालिकामा बाँध तथा खाँडाचक्र नगरपालिकामा विद्युत् गृह निर्माण गरिनेछ। आयोजना अर्धजलाशययुक्त (पीआरओआर) प्रकृतिको हुनेछ। यसले दैनिक ६ घण्टासम्म पिकिङ अवधारणामा विद्युत् उत्पादन गर्न सक्नेछ। उच्च माग हुने समयमा विद्युत् उत्पादन गर्न सक्ने भएकाले राष्ट्रिय प्रसारण प्रणालीका लागि आयोजना महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

आयोजनाको कुल अनुमानित लागत ७० अर्ब ७ करोड रुपैयाँ रहेको छ। उक्त लागतको ७५ प्रतिशत अर्थात् ५२ अर्ब ५५ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट ऋणका रूपमा जुटाइनेछ। बाँकी २५ प्रतिशत अर्थात् १७ अर्ब ५२ करोड रुपैयाँ प्रवर्द्धक तथा लगानीकर्ताबाट स्वपूँजीका रूपमा व्यवस्थापन गरिनेछ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि २० प्रतिशत सेयरसमेत छुट्याएको छ। यसबाट स्थानीय समुदाय तथा सर्वसाधारणलाई आयोजनाको लगानीमा सहभागी हुने अवसर प्राप्त हुनेछ।

तिला–२ जलविद्युत् आयोजनाले २०७५ साल भदौ ७ गते विद्युत् विकास विभागबाट विद्युत् उत्पादनको अनुमति प्राप्त गरिसकेको छ। त्यस्तै, २०८१ साल कात्तिक ७ गते नेपाल विद्युत् प्राधिकरणसँग २९६.७४ मेगावाट क्षमताका लागि विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) सम्पन्न भएको छ।

आयोजना निर्माण सुरु भएको चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि सुक्खायाममा दैनिक ६ घण्टासम्म पिकिङ क्षमतामा विद्युत् उत्पादन गरिनेछ। आयोजनाबाट वार्षिक कुल २ हजार ३१८.७९ गिगावाट आवर विद्युत् उत्पादन हुने अनुमान गरिएको छ।

कम्पनीका अनुसार सुक्खायामको पिक समयमा ४५१.०५ गिगावाट आवर, अफ–पिक समयमा २०५.४५ गिगावाट आवर तथा वर्षायाममा १ हजार ६६२.२९ गिगावाट आवर विद्युत् उत्पादन हुनेछ। उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ।

आयोजनाका मुख्य प्रवर्द्धकमा स्ट्रिम इन्भेस्टमेन्ट, ऊर्जा इम्प्याक्ट फन्ड, रविन्स यूएसए लगायत संस्थागत तथा व्यक्तिगत लगानीकर्ता रहेका छन्। वित्तीय व्यवस्थापन पूरा भएसँगै अब आयोजना निर्माणलाई गति दिने बाटो खुलेको कम्पनीको विश्वास छ।

1

Scroll to Top