अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच लाख रुपैयाँ घुस लिएको आरोपमा आन्तरिक राजस्व कार्यालय, लहानका कर अधिकृत युवराज एम. एस. पाल र चार्टर्ड एकाउन्टेन्ट राम रिझन यादवविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार सिरहाको लहान नगरपालिका–६ स्थित आन्तरिक राजस्व कार्यालय, लहानका कर अधिकृत पालले आर्थिक वर्ष २०७८/७९ को पूर्णकर लेखापरीक्षणका लागि सेवाग्राहीले पेस गरेका कागजात नमिलेको भन्दै दुःख हैरानी दिई घुस/रिसवत माग गरेका थिए।
अख्तियारको बर्दिवासस्थित कार्यालयबाट खटिएको टोलीले कर अधिकृत पाललाई सेवाग्राहीबाट पाँच लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
अनुसन्धानका क्रममा पालले आर्थिक वर्ष २०७८/७९ देखिको लेखापरीक्षण तथा कर निर्धारणको काम गरी कर फछ्र्यौट गराउन सेवाग्राहीले पेस गरेका बिल बिजक नमिलेको र मिलाउनुपर्ने भन्दै विभिन्न व्यवसायिक तथा औद्योगिक फर्म तथा कम्पनीको लेखापरीक्षण र कर निर्धारण गर्ने क्रममा चार्टर्ड एकाउन्टेन्ट राम रिझन यादवमार्फत बार्गेनिङ गरी पाँच लाख रुपैयाँ घुस लिएको खुलेको आयोगले जनाएको छ।
आयोगले पालको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको ठहर गर्दै पाँच लाख रुपैयाँ बिगो कायम गरी कैद तथा बिगोबमोजिम जरिवानाको मागदाबी लिएको छ।
त्यस्तै, चार्टर्ड एकाउन्टेन्ट यादवले पालसँग मिलेमतो गरी काम मिलाउन सेवाग्राहीसँग रकमको बार्गेनिङ गरेको, पाललाई पाँच लाख रुपैयाँ घुस लिन लगाएको र सेवाग्राहीलाई घुस दिन लगाई दुरुत्साहन गरेको आयोगले जनाएको छ।
यादवको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (४) बमोजिमको कसुर भएको भन्दै आयोगले उनीविरुद्ध पनि कैद तथा बिगोबमोजिम जरिवानाको मागदाबी गरेको छ।
आयोगले दुवै जनाविरुद्ध मंगलबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।


