Banijya News

नेपाल टेलिकमको नाफा एकै वर्षमा ४७.५८ प्रतिशतले बढ्यो

1
1.0K Shares

सेवा सुधार, डाटा खपतमा वृद्धि र सञ्चालन खर्चमा कटौतीको प्रभाव नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को वित्तीय नतिजामा देखिन थालेको छ। कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो वर्षको तुलनामा खुद मुनाफा ४७.५८ प्रतिशतले बढाउँदै ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ पुर्‍याएको छ।

नेपाल टेलिकमले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिकसम्म कम्पनीको खुद मुनाफा ६ अर्ब ६७ लाख रुपैयाँ थियो। एक वर्षमै कम्पनीको खुद नाफा २ अर्ब ८५ करोड ७९ लाख रुपैयाँले बढेको हो।

कम्पनीको नाफा वृद्धिको प्रभाव पछिल्लो त्रैमासिकमा अझ स्पष्ट देखिएको छ। गत वैशाखदेखि असार मसान्तसम्म मात्रै टेलिकमले ४ अर्ब २० करोड २४ लाख ५२ हजार रुपैयाँ नाफा कमाएको छ। अघिल्लो त्रैमासिकमा ३ अर्ब १४ करोड ८० लाख १८ हजार रुपैयाँ नाफा कमाएको कम्पनीले चौथो त्रैमासिकमा मात्रै १ अर्ब ५ करोड ४४ लाख ३४ हजार रुपैयाँ थप नाफा गरेको हो।

कम्पनीका अनुसार मुख्य दूरसञ्चार सेवाबाट हुने आम्दानी बढ्नु, विशेषगरी एफटीटीएच र जीएसएम डाटाको प्रयोग बढ्नु तथा सञ्चालन खर्च घट्नु नाफा वृद्धिका प्रमुख कारण हुन्। नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेले पछिल्लो समय भ्वाइस सेवाभन्दा डाटा खपत बढ्दै गएको र आम्दानी बढ्नुका साथै खर्चसमेत नियन्त्रणमा आएकाले नाफा वृद्धि भएको बताए।

गत आर्थिक वर्षमा टेलिकमको कुल सञ्चालन आय ३४ अर्ब ९५ करोड ४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आय ३३ अर्ब ८९ करोड ४५ लाख रुपैयाँ थियो। यसअनुसार सञ्चालन आय १ अर्ब ५ करोड ५९ लाख रुपैयाँ अर्थात् ३.१२ प्रतिशतले बढेको हो।

त्यस्तै, कम्पनीको कुल आय ३९ अर्ब १९ करोड ९६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको ३८ अर्ब १८ करोड ८१ लाख रुपैयाँको तुलनामा कुल आय १ अर्ब १ करोड १५ लाख रुपैयाँले बढेको हो।

करअघिको मुनाफामा पनि उल्लेख्य सुधार देखिएको छ। गत आर्थिक वर्षमा करअघिको नाफा १३ अर्ब २६ करोड ४७ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ९ अर्ब ८५ करोड २ लाख रुपैयाँको तुलनामा ३४.६६ प्रतिशत बढी हो।

ब्याजदर घट्दा ब्याज आम्दानी भने करिब ८६ करोड १९ लाख रुपैयाँले घटेको छ। तर जीएसएम सेवाको राजस्व ६४ करोड ५४ लाख रुपैयाँले बढेकाले मुख्य दूरसञ्चार व्यवसायबाट हुने आम्दानीले समग्र नाफालाई सकारात्मक प्रभाव पारेको कम्पनीले जनाएको छ।

यसबीच सरकारले नेपाल टेलिकमको सेवा सुधारलाई प्राथमिकतामा राख्दै विभिन्न नीतिगत तथा प्रशासनिक सुधार अघि बढाएको छ। डाटा प्याकेज सकिएपछि स्वतः ब्यालेन्स काटिने व्यवस्था हटाउँदै ‘पे–एज–यू–गोज’ प्रणाली लागू गरिएको छ। ग्राहकलाई डाटा सकिएपछि शुल्क कटाउने वा नयाँ प्याकेज खरिद गर्ने विकल्प दिइएको छ।

त्यस्तै, ‘वान टाइम केवाईसी’, ई–सिम वितरण, हराएको सिम पुनःप्राप्ति, स्वामित्व हस्तान्तरणलगायतका सेवा अनलाइनबाट उपलब्ध गराइएको छ। ग्राहकको सहजताका लागि ‘एकल विन्दु सेवा’ सहायता कक्षसमेत सञ्चालनमा ल्याइएको छ।

सरकारले ४जी सेवाको पहुँच र गुणस्तर विस्तारका लागि थप फ्रिक्वेन्सी उपलब्ध गराउने तथा डिजिटल सेवा सुधार गर्ने काम अघि बढाएको छ। विज्ञापन तथा प्रायोजनमा हुने खर्च कटौती, सञ्चालन तथा मर्मतसम्भार खर्च नियन्त्रणलगायतबाट टेलिकमले गत आर्थिक वर्षमा १० देखि १५ करोड रुपैयाँसम्म बचत गरेको जनाएको छ।

1

Scroll to Top