पोखराको कोलाहलबाट केही पर, चारैतिर मनोरम हिमशृंखलाले घेरिएको कास्कीको माछापुच्छ्रे गाउँपालिका–६, अस्ताम गाउँ शुक्रबार (भदौ ५) एकाएक राष्ट्रिय चासोको केन्द्र बन्यो । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को अप्रत्याशित भ्रमणले अस्तामवासीमा एकातिर खुसी र कौतूहल छायो भने अर्कोतर्फ वर्षौंदेखि थाती रहेका आधारभूत समस्या देशको कार्यकारी प्रमुखसमक्ष सुनाउने व्यग्र उत्कण्ठा देखियो ।
शुक्रबार बिहानैदेखि अस्तामको उकालो बाटोमा सुरक्षाकर्मीको आवागमन बाक्लिएपछि मात्र स्थानीयले प्रधानमन्त्री आफ्नै गाउँमा आउँदै गरेको सुइँको पाएका थिए । स्थानीय बासिन्दा आफ्ना घरआँगन र सडकछेउछाउ भेला भएर देशका कार्यकारी प्रमुखलाई प्रत्यक्ष देख्न र मनका कुरा सुनाउन व्यग्र प्रतीक्षा गरिरहेका थिए ।
प्रधानमन्त्री बालेन अस्तामको प्रसिद्ध अन्नपूर्ण इको भिलेजमा बस्ने तालिका रहेको जानकारी पाएपछि स्थानीयहरू गाउँको मुहार फेरिने आशामा उत्साहित देखिए ।
बाटोछेउमा भेटिएकी स्थानीय ज्ञानु अधिकारीले भनिन्, “बिहान सुरक्षाकर्मी आएपछि मात्र थाहा भयो । पुराना दलहरूलाई वर्षौं भोट दियौँ, तर केही भएन । अब नयाँ नेतृत्वले देश र जनताका लागि केही राम्रो गर्छन् कि भन्ने ठूलो आस छ । उहाँलाई गाडीबाटै भए पनि एक नजर देख्न पाऊँ भनेर कुरिरहेका छौँ ।”
उनले नयाँ राजनीतिक दलले राम्रो काम गर्नुपर्ने बताइन् । अपराध गर्नेलाई विदेशमा जस्तै कडा कारबाही गर्नुपर्ने उनले धारणा राखिन् ।
अस्ताम गाउँ भौगोलिक रूपमा उच्च डाँडामा अवस्थित भएकाले यहाँको सबैभन्दा ठूलो र प्रमुख समस्या भनेकै खानेपानी र सिँचाइको अभाव हो । विश्वविद्यालयका प्राध्यापक नन्दलाल अधिकारीले यहाँका बहुसंख्यक बासिन्दा किसान रहेका र पानीको चरम अभावका कारण उनीहरूको पसिना खेर गइरहेको बताए ।
“सरकारले यहाँ व्यवस्थित खानेपानी र सिँचाइ योजना ल्याइदिने हो भने कृषकहरूले उत्पादन गरेको ताजा तरकारी यहीँका होटेल र नजिकैको पोखरा बजारमा सहजै बेचेर आत्मनिर्भर बन्न सक्छन्,” उनले भने ।
पानीबिना तरकारी खेती सम्भव नरहेको उनले बताए । “खानेपानी त पुग्दैन भने पानी नभई तरकारी खेती सम्भव नै छैन,” उनले भने, “पोखराको नजिकै भएकाले यहाँ पानीको व्यवस्थापन भए कृषकहरू आर्थिक रूपमा समृद्ध बन्नेछन् ।”
पोखराबाट छोटो दूरीमै रहेको भए पनि अस्ताम पुग्ने मुख्य सडक अत्यन्तै कच्ची र अप्ठ्यारो अवस्थामा छ । स्थानीय रामप्रसाद अधिकारी र शोभाखर अधिकारीले सडक र पिउने पानीको समस्यालाई पहिलो प्राथमिकतामा राखेर समाधान गरिदिन प्रधानमन्त्रीसमक्ष आग्रह गरे ।
“हाम्रो मुख्य अपेक्षा भनेको बाटो नै हो । बर्खामा त पानीको जोहो हुन्छ, तर हिउँदमा काकाकुल हुनुपर्छ,” रामप्रसादले भने, “अप्ठ्यारो बाटोले गर्दा बिरामी पर्दा अस्पताल पुर्याउन समेत गाह्रो छ ।”
अर्का स्थानीय शोभाखरले भने, “अहिलेसम्म यहाँ कुनै प्रधानमन्त्री आउनुभएको थिएन । अहिले बालेनज्यू आउनुभएको छ, उहाँले हाम्रो यो अप्ठ्यारो बाटो कालोपत्र गरिदिए र पानीको धारा जोडिदिए हामी गाउँलेको ठूलो कल्याण हुनेथियो । प्रधानमन्त्री हाम्रो गाउँमा आएर नजर राखिदिनुभएकोमा हामी ज्यादै खुसी छौँ । उहाँले हाम्रो बाटो र पानीको समस्या बुझेर काम गरिदिए हामी सधैँ आभारी रहनेछौँ ।”
अस्ताम समस्याको गाउँ मात्र होइन, यो प्रकृतिको अनुपम वरदान पाएको पर्यटकीय गन्तव्य हो । यहाँबाट माछापुच्छ्रे हिमाल ऐनामा जस्तै छर्लंग र नजिकै देखिन्छ ।
यसका साथै अन्नपूर्ण, मनास्लु रेन्ज र धौलागिरि हिमशृंखलालाई एकै स्थानबाट ३६० डिग्रीमा अवलोकन गर्न सकिन्छ ।
प्राध्यापक अधिकारीका अनुसार, पोखरामा चर्को गर्मी हुँदा पनि अस्ताममा वर्षैभरि शीतल हावापानी रहने भएकाले यो विदेशी तथा आन्तरिक पर्यटकका निम्ति योग, ध्यान र प्रकृतिको आनन्द लिने उत्कृष्ट केन्द्र बनेको छ । यहाँ रहेका प्राकृतिक ओडार र गुफाहरूको संरक्षण गर्दै उच्च पर्वतीय खेलकुदको पूर्वाधार निर्माण गर्न सके यसले समग्र देशकै अर्थतन्त्रमा ठूलो टेवा पुर्याउने स्थानीयको विश्वास छ ।
प्रधानमन्त्रीको भ्रमणका क्रममा विकास निर्माणका माग मात्र उठाइएन, देशको शान्ति सुरक्षा र न्याय प्रणालीप्रति समेत गम्भीर चासो व्यक्त गरे । स्थानीय ज्ञानु अधिकारीले देशमा बढ्दो अपराध, बालिका तथा महिला हिंसाप्रति आक्रोश पोख्दै कडा कानुन कार्यान्वयनको माग गरिन् ।
“देशमा साना नानीहरूको बलात्कार र हत्याजस्ता जघन्य अपराध गर्नेहरूलाई जेलमा मात्र थुनेर पुग्दैन, विदेशमा जस्तै कठोरभन्दा कठोर सजाय दिने कानुन बनोस्,” उनले भनिन्, “बालेनज्यूबाट हामीले सुशासन र कानुनी कडाइँको ठूलो आशा राखेका छौँ ।”

