Banijya News

२६ वर्षपछि पुनर्जीवनको तयारीमा हेटौँडा कपडा उद्योग, पुराना मेसिनबाट परीक्षण उत्पादन

1
1.0K Shares

चीन सरकारको सहयोगमा २०३२ सालमा निर्माण सुरु भई २०३५ सालबाट उत्पादन थालेको हेटौँडा कपडा उद्योग २६ वर्षपछि पुनः सञ्चालनको तयारीमा पुगेको छ। लामो समयदेखि बन्द रहेको उद्योगलाई पुनर्जीवन दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाली सेनाले सहकार्य गर्दै परीक्षण उत्पादन सुरु गरेका छन्।

२० करोड रुपैयाँ लागतमा स्थापना भएको उद्योग २२ वर्षसम्म सञ्चालनमा रहे पनि लगातार घाटामा गएको भन्दै तत्कालीन मन्त्रिपरिषद्को निर्णयबाट २०५७ साल फागुन १ गते बन्द गरिएको थियो। त्यसपछि उद्योग पटकपटक सञ्चालन गर्ने तथा लिक्विडेसनमा लैजाने निर्णयको चक्रमा पर्दै आएको थियो।

सरकारले बन्द रहेका सरकारी उद्योग पुनः सञ्चालन गर्ने नीतिअनुसार हेटौँडा कपडा उद्योगलाई पुनर्जीवित गर्ने प्रक्रिया अघि बढाएको हो। गत असार १८ गते उद्योग पुनः सञ्चालन गर्ने निर्णय भएपछि नेपाली सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालयले उद्योग परिसरको सरसफाइ, पुराना मेसिनको मर्मत तथा परीक्षण उत्पादनको काम थालेको हो।

हाल उद्योगमा रहेका करिब ४८८ वटा कपडा बुन्ने तानमध्ये १० वटा मेसिन सञ्चालनयोग्य बनाइएको छ। तीमध्ये तीनवटा मेसिनलाई स्वचालित प्रणालीमा रूपान्तरण गरिएको छ। बाँकी मेसिनलाई पनि क्रमशः आधुनिक तथा स्वचालित प्रणालीमा लैजाने तयारी भइरहेको छ।

उद्योग पुनः सञ्चालनको काममा नेपाली सेनाका करिब ४० जना प्राविधिक तथा विभिन्न दर्जाका सैनिक खटिएका छन्। उनीहरूसँगै उद्योगका पुराना कर्मचारी तथा टेक्सटाइल क्षेत्रका दक्ष प्राविधिकले समेत मर्मत र उत्पादन लाइन पुनः सञ्चालनमा सहयोग गरिरहेका छन्।

प्राविधिकहरूका अनुसार पुराना सटल लुमलाई आधुनिक अटोमेटिक प्रणालीमा रूपान्तरण गर्दा उत्पादन क्षमता उल्लेख्य रूपमा बढाउन सकिन्छ। सामान्य सटल लुमबाट आठ घण्टामा करिब २० देखि २५ मिटर कपडा उत्पादन हुने भए पनि अटोमेटिक मेसिनबाट ६५ देखि ७० मिटरसम्म कपडा उत्पादन गर्न सकिने बताइएको छ। यसले जनशक्ति आवश्यकता घटाउनुका साथै उत्पादन लागतसमेत कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले शनिबार उद्योगको स्थलगत निरीक्षण गर्दै परीक्षण उत्पादन र मेसिन मर्मतको अवस्थाबारे जानकारी लिइन्। उनले उद्योगलाई क्रमशः पूर्ण क्षमतामा सञ्चालन गर्ने सरकारको लक्ष्य रहेको बताइन्। उनका अनुसार अहिलेको परीक्षण उत्पादन प्रारम्भिक चरण मात्र हो र दीर्घकालमा सबै ४८८ वटा मेसिन सञ्चालनमा ल्याउने उद्देश्य सरकारको छ।

मन्त्री यादवले उद्योग पुनः सञ्चालन हुन थालेसँगै केही स्वार्थ समूह सक्रिय हुन सक्ने भन्दै उद्योग जोगाउन जनताको साथ आवश्यक रहेको बताइन्। उनले उद्योगबाट उत्पादन हुने कपडा तथा अन्य सामग्रीको प्रयोगमा नेपाली उपभोक्ताले प्राथमिकता दिनुपर्नेमा जोड दिइन्।

उद्योग सञ्चालनको अर्को महत्वपूर्ण चुनौती कच्चा पदार्थको उपलब्धता हो। कपासको व्यावसायिक उत्पादन नेपालमै पर्याप्त नहुँदा विगतमा उद्योग सञ्चालनमा समस्या देखिएको थियो। सरकारले स्वदेशमै कपास खेती विस्तार गर्ने र दीर्घकालीन रूपमा कच्चा पदार्थको व्यवस्था गर्ने तयारी गरिरहेको जनाएको छ।

हेटौँडा कपडा उद्योगसँग १६६ रोपनी जग्गा र आवश्यक पूर्वाधार छन्। उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आए नेपाली सेना, नेपाल प्रहरी तथा सरकारी कर्मचारीका लागि आवश्यक कपडा यहीँबाट आपूर्ति गर्न सकिने भएकाले बजारको समस्या तुलनात्मक रूपमा कम हुने उद्योगीहरूको भनाइ छ। तर त्यसका लागि दक्ष व्यवस्थापन, आधुनिक प्रविधि, पर्याप्त कच्चा पदार्थ र प्रतिस्पर्धी उत्पादन लागत सुनिश्चित गर्नुपर्ने उनीहरूको सुझाव छ।

उद्योग सञ्चालनमा हुँदा करिब १ हजार २०० जनाले प्रत्यक्ष रोजगारी पाएका थिए। सुती धागो, कोरा, रंगीन, बुट्टेदार तथा सेतो कपडाका साथै नेपाली सेनाका लागि आवश्यक कपडा उत्पादन गर्दै आएको उद्योग बन्द भएपछि ठूलो औद्योगिक संरचना निष्क्रिय बनेको थियो।

पटकपटक लिक्विडेसनमा लैजाने प्रक्रिया अघि बढे पनि उद्योगका पूर्वाधार र मेसिन पूर्ण रूपमा उपयोगविहीन नभइसकेकाले पुनः सञ्चालनको सम्भावना रहेको प्राविधिकहरूको भनाइ छ। उद्योगका पुराना कर्मचारीसमेत आवश्यक पार्टपुर्जा परिवर्तन र मर्मत गरेपछि पुराना मेसिन पुनः सञ्चालन गर्न सकिने बताउँछन्।

1

Scroll to Top