प्रधानमन्त्री वालेन्द्र शाह मुक्तिनाथ दर्शन तथा पारिवारिक भ्रमण सम्पन्न गरी आइतबार काठमाडौँका लागि प्रस्थान गरेका छन्। परिवारका सदस्यसहित शनिबार मुस्ताङ आएका प्रधानमन्त्री शाहले जिल्लाका विभिन्न स्थानको अवलोकन गर्नुका साथै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा पुगेर विशेष पूजार्चना गरेका थिए।
प्रधानमन्त्री शाह शनिबार अपराह्न मुक्तिनाथ मन्दिर पुगेका थिए। त्यहाँ उनले धार्मिक विधिअनुसार पूजा–आराधना गर्दै देशमा शान्ति, समृद्धि र नागरिकको सुख–समृद्धिको कामना गरेका थिए। मुक्तिनाथ हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको साझा आस्थाको केन्द्रका रूपमा परिचित रहेको छ। वर्षभरि हजारौँ आन्तरिक तथा बाह्य पर्यटक तथा तीर्थयात्रीहरू यहाँ दर्शनका लागि पुग्ने गर्दछन्।
पारिवारिक भ्रमणका क्रममा प्रधानमन्त्री शाहले मुस्ताङको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा तथा पर्यटन गतिविधिबारे पनि जानकारी लिएका थिए। उनको भ्रमणलाई ध्यानमा राख्दै स्थानीय प्रशासन र सुरक्षा निकायले आवश्यक सुरक्षा व्यवस्था मिलाएका थिए।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार प्रधानमन्त्री शाह केहीबेरअघि जोमसोमबाट काठमाडौँतर्फ प्रस्थान गरेका हुन्। उनले जोमसोम–बेनी सडकमार्ग प्रयोग गर्दै सङ्घीय राजधानीतर्फ यात्रा सुरु गरेका जानकारी दिइएको छ।
प्रधानमन्त्रीको भ्रमणका क्रममा स्थानीय बासिन्दाले पनि स्वागत गरेका थिए। छोटो बसाइका बीच उनले स्थानीय अवस्था तथा पर्यटन क्षेत्रका सम्भावनाबारे चासो व्यक्त गरेको बताइएको छ। मुस्ताङ नेपालको प्रमुख पर्यटकीय तथा धार्मिक गन्तव्य भएकाले यहाँको विकास र पूर्वाधार विस्तारका विषयमा समेत प्रधानमन्त्रीको ध्यानाकर्षण भएको स्थानीय स्रोतले जनाएको छ।


