नेपालको पर्यटन उद्योगलाई थप सुदृढ, व्यवस्थित र प्रतिस्पर्धी बनाउन नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) र टुरिष्ट बस एसोसिएसन अफ नेपाल (टिवान)बीच सहकार्यलाई प्रभावकारी बनाउने सहमति भएको छ। पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न चुनौतीहरूको समाधान तथा उद्योगको दिगो विकासका लागि दुवै संस्थाले संयुक्त रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
टिवानले काठमाडौंमा आयोजना गरेको नाट्टाको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना कार्यक्रमका अवसरमा पर्यटन क्षेत्रका विभिन्न पक्षबारे छलफल गरिएको थियो। कार्यक्रममा बोल्दै नाट्टाका नवनिर्वाचित अध्यक्ष भरतजङ्ग पाण्डेले पर्यटन उद्योगसँग सम्बन्धित सबै सरोकारवालाबीच सहकार्य अपरिहार्य रहेको बताए। उनले पर्यटन क्षेत्रका साझा समस्या समाधान गर्न नाट्टा र टिवान हातेमालो गर्दै अघि बढ्ने स्पष्ट पारे।
अध्यक्ष पाण्डेले टिवानलाई नाट्टाको अभिन्न हिस्सा तथा पर्यटन उद्योगको महत्वपूर्ण साझेदारका रूपमा व्याख्या गर्दै दुवै संस्थाको उद्देश्य र चुनौती समान रहेको बताए। उनका अनुसार पर्यटक आगमन वृद्धि, सेवा गुणस्तर सुधार, पूर्वाधार विकास तथा व्यवसायीका समस्या समाधानका विषयमा संयुक्त पहल आवश्यक छ। उनले पर्यटन क्षेत्रको समग्र हितका लागि एकताबद्ध भएर काम गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा टिवानका संस्थापक अध्यक्ष श्रीकान्त आचार्यले पर्यटक बस व्यवसाय तथा समग्र पर्यटन उद्योगले विभिन्न प्रकारका समस्याहरू झेलिरहेको उल्लेख गरे। उनले नयाँ नेतृत्वले पर्यटन क्षेत्रका चुनौती समाधान गर्न प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गर्दै व्यवसायीका समस्यालाई सम्बन्धित निकायसम्म पुर्याउन पहल गर्नुपर्ने आवश्यकता औँल्याए।
नाट्टाका महासचिव राजकुमार देवकोटाले पर्यटक बसपार्कको अभावलाई पर्यटन उद्योगकै प्रमुख समस्यामध्ये एकका रूपमा चित्रण गरे। उनले बसपार्कको समस्या केवल टिवान वा बस व्यवसायीको मात्र नभई सम्पूर्ण पर्यटन क्षेत्रसँग जोडिएको विषय भएको बताए। पर्यटकलाई गुणस्तरीय सेवा प्रदान गर्न र पर्यटन व्यवसायलाई व्यवस्थित बनाउन स्थायी तथा सुविधासम्पन्न पर्यटक बसपार्क आवश्यक रहेको उनको भनाइ थियो। उनले यस विषयमा नाट्टा पूर्ण प्रतिबद्धताका साथ काम गर्ने आश्वासन दिए।
टिवानका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले हालसम्म पर्यटक बस व्यवसायीले स्थायी बसपार्कको अभावमा ठूलो समस्या भोग्दै आएको बताए। उनका अनुसार उपयुक्त पूर्वाधार नहुँदा व्यवसाय सञ्चालनमा कठिनाइ भइरहेको छ, जसको प्रत्यक्ष असर सेवा प्रवाहमा समेत परेको छ। उनले बसपार्क निर्माण तथा अन्य साझा समस्याको समाधानका लागि नाट्टासँग सहकार्यलाई अझ मजबुत बनाइने जानकारी दिए।
पर्यटक बस व्यवसायीहरूको हकहित संरक्षण तथा व्यवसाय प्रवर्द्धनका उद्देश्यले स्थापना भएको टिवानले हाल काठमाडौंको सोह्रखुट्टे सडकलाई अस्थायी बसपार्कका रूपमा प्रयोग गर्दै आएको छ। स्थायी व्यवस्थाको अभावमा सञ्चालन भइरहेको भए पनि संस्थाले देशका प्रमुख पर्यटकीय गन्तव्यहरूमा नियमित सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।
टिवानका महासचिव प्रकाशचन्द्र अधिकारीका अनुसार हाल दैनिक करिब १०० वटा पर्यटकीय बसमार्फत पोखरा, चितवनको सौराह, लुम्बिनी, जनकपुरलगायत प्रमुख पर्यटकीय क्षेत्रहरूमा सेवा प्रदान गरिँदै आएको छ। उनले पर्यटक बस सेवा पर्यटन उद्योगको महत्वपूर्ण आधार भएकाले यसको व्यवस्थापन, पूर्वाधार विकास र सेवा विस्तारमा सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने बताए।
कार्यक्रममा सहभागीहरूले नेपालको पर्यटन क्षेत्रलाई थप व्यवस्थित, सुरक्षित र आकर्षक बनाउन निजी क्षेत्रका संस्थाहरूबीचको सहकार्यलाई बलियो बनाउनुपर्ने धारणा व्यक्त गरेका थिए। उनीहरूका अनुसार पर्यटन क्षेत्रका साझा चुनौती समाधान गर्न एकीकृत प्रयास आवश्यक रहेको र नाट्टा तथा टिवानबीचको सहकार्यले पर्यटन उद्योगको विकासमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।

