Banijya News

नाडा अटो शो २०२६ सुरु : गाडीको प्रदर्शनीदेखि भविष्यको यातायात प्रविधिसम्मको झलक

1
1.0K Shares

नेपालमा सवारी साधन, अटोमोबाइल प्रविधि र यातायात क्षेत्रको बदलिँदो स्वरूपलाई एउटै छानामुनि प्रस्तुत गर्दै नाडा अटो शो २०२६ सुरु भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको प्रदर्शनीको मंगलबार उपराष्ट्रपति रामसहायप्रसाद यादवले उद्घाटन गरेसँगै भृकुटीमण्डपमा अटोमोबाइल क्षेत्रको ठूलो जमघट सुरु भएको हो। नाडा अटो शो आगामी १४ भदौसम्म सञ्चालन हुनेछ। यसपटकको प्रदर्शनीलाई केवल नयाँ गाडी र मोटरसाइकल हेर्ने थलोका रूपमा मात्र नभई नेपालमा विकसित हुँदै गएको विद्युतीय सवारी, स्वदेशी एसेम्बल उद्योग, अटो पार्ट्स तथा भविष्यको यातायात प्रविधिको झलक दिने मञ्चका रूपमा प्रस्तुत गरिएको छ।

नाडाका अध्यक्ष उपेन्द्र उप्रेतीले उद्घाटन समारोहमा सवारी साधनप्रतिको परम्परागत दृष्टिकोण परिवर्तन गर्नुपर्नेमा जोड दिए। उनका अनुसार अहिले सवारी साधन केवल विलासिताको वस्तु नभई नागरिकको दैनिक आवागमन, व्यवसाय, रोजगारी र समग्र आर्थिक गतिविधिसँग जोडिएको आधारभूत आवश्यकता बनिसकेको छ।

उप्रेतीले अटोमोबाइल क्षेत्रलाई विलासितासँग मात्र जोडेर हेर्ने पुरानो दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताए। उनका अनुसार यो क्षेत्रले नेपालमा १० लाखभन्दा बढी रोजगारी सिर्जना गरेको छ भने वार्षिक ९० अर्ब रुपैयाँभन्दा बढी राजस्वमा योगदान पुर्‍याउँदै आएको छ। त्यसैले अटोमोबाइल क्षेत्रलाई आर्थिक गतिविधि चलायमान बनाउने महत्वपूर्ण क्षेत्रका रूपमा हेर्नुपर्ने उनको भनाइ थियो।

अटोमोबाइल व्यवसायको विस्तार भइरहे पनि राजधानीमा पर्याप्त प्रदर्शनी पूर्वाधार नहुँदा क्षेत्रको वास्तविक क्षमता प्रदर्शन गर्न कठिन भइरहेको नाडाले जनाएको छ। अध्यक्ष उप्रेतीले भृकुटीमण्डपको वर्तमान संरचनाले ट्रक, बस तथा हेभी इक्विपमेन्टजस्ता ठूला सवारी साधन प्रदर्शन गर्न पर्याप्त स्थान नदिएको बताए। उनले काठमाडौँमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए।

उनका अनुसार ठूलो क्षमताको प्रदर्शनी केन्द्र निर्माण भए नेपालमा आयोजना हुने अन्तर्राष्ट्रिय तथा राष्ट्रियस्तरका औद्योगिक प्रदर्शनीलाई समेत थप व्यवस्थित बनाउन सकिनेछ। नाडाले अटोमोबाइल व्यवसायमा दीर्घकालीन लगानी आकर्षित गर्न नीतिगत स्थिरता आवश्यक रहेकोमा पनि जोड दिएको छ। अध्यक्ष उप्रेतीले करका दर र नीतिमा पटक–पटक हुने परिवर्तनले व्यवसायीलाई दीर्घकालीन योजना बनाउन कठिन हुने बताए। सरकारले कर नीतिमा स्थिरता कायम गर्ने प्रतिबद्धतालाई व्यवहारमै लागू गर्नुपर्ने उनको माग छ।

उनका अनुसार स्थिर नीति र लगानीमैत्री वातावरण निर्माण हुन सके अटोमोबाइल क्षेत्रमा थप लगानी भित्र्याउन तथा रोजगारी सिर्जना गर्न सहज हुनेछ। नेपालमा विद्युतीय सवारी साधनको प्रयोग तीव्र रूपमा बढिरहेको भन्दै नाडाले अब एसेम्बल उद्योगसँगै कम्पोनेन्ट तथा पार्टपुर्जा उत्पादनलाई समेत प्राथमिकता दिनुपर्ने बताएको छ। स्वदेशमै सवारी साधन उत्पादन तथा एसेम्बल गर्ने उद्योगलाई दीर्घकालीन रूपमा टिकाउन सरकारले थप सहुलियत र प्रोत्साहन दिनुपर्ने नाडाको धारणा छ। स्वच्छ ऊर्जा, विद्युतीय सवारी, चार्जिङ पूर्वाधार र नयाँ प्रविधिको विकासमा सरकार तथा निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको अध्यक्ष उप्रेतीले बताए।

२०० भन्दा बढी स्टल, नयाँ प्रविधिको आकर्षण

यस वर्षको नाडा अटो शोमा २०० भन्दा बढी स्टल राखिएका छन्। प्रदर्शनीमा २३ वटा चारपांग्रे सवारी साधन, १७ वटा कमर्सियल भेहिकल, १३ वटा दुईपांग्रे सवारी साधन तथा ७० वटा अटो कम्पोनेन्टका स्टल रहेका छन्। त्यसबाहेक बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, अटोमोटिभ पार्टपुर्जा, एसेसरिज, टायर, लुब्रिकेन्ट्स, ग्यारेज उपकरण तथा अटोमोबाइलसँग सम्बन्धित विभिन्न उत्पादन र सेवाहरू पनि प्रदर्शनीमा राखिएका छन्।

नेपालमै एसेम्बल हुने सवारी साधन, लुब्रिकेन्ट्स, ब्याट्री, हेल्मेटलगायतका सामग्रीले पनि प्रदर्शनीमा स्थान पाएका छन्। यसले नेपालमा विस्तार हुँदै गएको स्वदेशी अटोमोबाइल उद्योग र त्यससँग जोडिएका सहायक क्षेत्रलाई समेत दर्शाएको छ।

५०औँ वर्षमा भविष्यको झलक

नाडाको ५०औँ वार्षिकोत्सवको अवसरमा यस वर्षको अटो शोलाई ‘स्वर्ण उत्सव संस्करण’का रूपमा प्रस्तुत गरिएको छ। त्यसैले प्रदर्शनीमा वर्तमानका सवारी साधनसँगै भविष्यको यातायात प्रविधिलाई समेत विशेष प्राथमिकता दिइएको छ। प्रदर्शनीमा जी–१ ह्युमनाइड रोबोट र जेओ–२ क्वाड्रप रोबोट लगायतका प्रविधि आकर्षणका रूपमा राखिएका छन्। यी प्रविधिले भविष्यमा यातायात, सेवा र मानव–मेसिन सहकार्य कसरी परिवर्तन हुन सक्छ भन्नेबारे आगन्तुकलाई नयाँ अनुभव दिने अपेक्षा गरिएको छ। यसरी नाडा अटो शो २०२६ यसपटक गाडी, मोटरसाइकल र पार्टपुर्जाको व्यापारिक प्रदर्शनीमा मात्र सीमित छैन। विद्युतीय सवारीको विस्तार, स्वदेशी उत्पादन, चार्जिङ पूर्वाधार, नयाँ प्रविधि र भविष्यको यातायात प्रणालीबारे बहस गर्ने साझा थलोका रूपमा समेत यसले आफ्नो दायरा फराकिलो बनाएको छ। ५०औँ वर्षमा प्रवेश गरेको नाडाको यो आयोजनाले नेपालमा अटोमोबाइल क्षेत्र अब केवल सवारी साधन आयात र बिक्रीको व्यवसाय नभई रोजगारी, प्रविधि, ऊर्जा रूपान्तरण र औद्योगिक विकाससँग जोडिएको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा बन्दै गएको सन्देश दिएको छ।

1

Scroll to Top