Banijya News

रसुवा–त्रिशूली बाढीमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, अझै २ हजार ४२६ जना सम्पर्कविहीन

1
1.0K Shares

भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढी र त्यसपछि गएको पहिरोका कारण ज्यान गुमाउनेको संख्या ६६९ पुगेको छ। बाढी प्रभावित विभिन्न जिल्लाबाट नेपाल प्रहरीले संकलन गरेको विवरणअनुसार आज अपराह्न ४ बजेसम्म ६६९ जनाको शव फेला परेको हो।

प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार बाढी र पहिरोबाट सबैभन्दा ठूलो मानवीय क्षति चितवनमा भएको छ। चितवनमा मात्रै २४८ जनाको शव फेला परेको छ। त्यसपछि नवलपरासी पूर्वमा १५८, गोरखामा ५४, धादिङमा ४९, नुवाकोटमा ४१, तनहुँमा ३१, नवलपरासी पश्चिममा ७५ र रसुवामा १३ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीसँगै रसुवाका विभिन्न क्षेत्रमा गएको पहिरोले अवस्था थप भयावह बनाएको थियो। पहिरोका कारण सडक, पुल, विद्युत् आयोजना तथा बस्तीमा क्षति पुगेको छ भने कतिपय स्थानमा अझै पनि उद्धार टोली पुग्न कठिन भइरहेको छ। नदी किनार तथा पहिरो प्रभावित क्षेत्रमा बेपत्ताको खोजी कार्य जोखिमपूर्ण बनेको छ।

नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेका अनुसार हालसम्म बाढी प्रभावित क्षेत्रबाट २ हजार ३०१ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये नुवाकोटका १ हजार ६२२, रसुवाका ६७६ र धादिङका ३ जना रहेका छन्।

बाढी तथा पहिरोमा परी गम्भीर घाइते भएका केहीलाई थप उपचारका लागि हेलिकोप्टर तथा अन्य माध्यमबाट काठमाडौं ल्याइएको छ। प्रहरीका अनुसार काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका गरी हालसम्म १४० जना रहेका छन्।

विपद्को उद्धार अभियानमा खटिएका सुरक्षाकर्मीसमेत बाढीको चपेटामा परेका छन्। रसुवा बाढीपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका दर्जनौं कर्मचारी सम्पर्कविहीन भएका छन्। प्रहरीका अनुसार नेपाली सेनाका ४५, नेपाल प्रहरीका २७ र सशस्त्र प्रहरी बलका १३ जना अझै सम्पर्कमा आएका छैनन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको भदौ १३ गते बिहान १० बजेसम्मको अद्यावधिक विवरणअनुसार अझै २ हजार ४२६ जना सम्पर्कविहीन छन्। तीमध्ये जलविद्युत् आयोजनाबाट मात्रै ९३३ जना रहेका छन्। विदेशी नागरिक ५१७ जना तथा गैरआवासीय वा विदेशमा बस्ने नेपाली १२७ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।

जिल्लागत रूपमा रसुवाबाट ५६२, नुवाकोटबाट ११५ र मकवानपुरबाट ६५ जना सम्पर्कविहीन छन्। यसबाहेक भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका ४ तथा लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना पनि सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।

बाढी र पहिरोले विशेषगरी रसुवा क्षेत्रमा निर्माणाधीन तथा सञ्चालनमा रहेका जलविद्युत् आयोजनालाई समेत ठूलो असर पारेको छ। आयोजनाका कामदार तथा कर्मचारी सम्पर्कविहीन भएपछि सुरुङ, निर्माणस्थल र नदी आसपासका क्षेत्रमा खोजी कार्यलाई प्राथमिकता दिइएको छ।

प्रहरीका अनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य सम्बन्धित निकायका उद्धार टोली सम्भावित जोखिमयुक्त क्षेत्रमा परिचालित छन्। बाढी र पहिरोका कारण क्षतिग्रस्त सडक तथा भौगोलिक अवस्थाका कारण केही क्षेत्रमा स्थलमार्गबाट उद्धार गर्न कठिन भएपछि वैकल्पिक माध्यमबाट समेत खोजी भइरहेको छ।

विपद्पछि अहिले सरकारको मुख्य प्राथमिकता बेपत्ताको खोजी, जीवितको उद्धार, घाइतेको उपचार तथा प्रभावित परिवारलाई राहत उपलब्ध गराउनु बनेको छ। बाढीले पुर्‍याएको मानवीय र भौतिक क्षतिको पूर्ण विवरण अझै आउन बाँकी रहेकाले मृतक र बेपत्ताको संख्या थप परिवर्तन हुन सक्ने अधिकारीहरूले बताएका छन्।

1

Scroll to Top