नेपालमा आएको विनाशकारी बाढी र रसुवा क्षेत्रमा गएको पहिरोपछि भारतको प्रतिष्ठित सूचना प्रविधि कम्पनी इन्फोसिसको सहायक कम्पनी इन्फोसिस पब्लिक सर्भिसेसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ल्याक्स गोपिसेट्टी सम्पर्कविहीन भएका छन्। व्यक्तिगत भ्रमणका क्रममा रसुवा पुगेका गोपिसेट्टी बाढी र पहिरो प्रभावित क्षेत्रमा सम्पर्कविहीन भएको इन्फोसिसले पुष्टि गरेको हो। भारतको बेङ्गलुरुमा मुख्यालय रहेको इन्फोसिसले विज्ञप्ति जारी गर्दै गोपिसेट्टी नेपाल भ्रमणका क्रममा सम्पर्कमा नरहेको जानकारी दिएको छ। कम्पनीका अनुसार उनी व्यक्तिगत प्रयोजनका लागि नेपाल आएका थिए र भ्रमणकै क्रममा रसुवा क्षेत्रमा पुगेका थिए।
पछिल्लो समय रसुवामा भोटेकोशी हुँदै आएको भीषण बाढी तथा त्यसपछि विभिन्न स्थानमा गएको पहिरोले ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीले नदी आसपासका बस्ती, सडक, पुल तथा जलविद्युत् आयोजनामा क्षति पुर्याउनुका साथै धेरै मानिसलाई सम्पर्कविहीन बनाएको छ। पहिरोका कारण कतिपय सडकमार्ग अवरुद्ध हुँदा प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यसमेत चुनौतीपूर्ण बनेको छ।
यही प्राकृतिक विपद्को बीच रसुवा पुगेका गोपिसेट्टीको अवस्था अज्ञात बनेपछि उनको परिवार, इन्फोसिस र सम्बन्धित निकायको चिन्ता बढेको छ। उनको खोजी तथा अवस्थाबारे जानकारी लिन नेपालका सम्बन्धित निकायसँग समन्वय भइरहेको इन्फोसिसले जनाएको छ। कम्पनीले गोपिसेट्टीसँग सम्पर्क स्थापित गर्न तथा उनको अवस्थाबारे यथार्थ जानकारी प्राप्त गर्न आवश्यक प्रयास भइरहेको बताएको छ। साथै, कठिन परिस्थितिमा उनको परिवारसँग निरन्तर सम्पर्कमा रहेको र आवश्यक सम्पूर्ण सहयोग उपलब्ध गराइरहेको इन्फोसिसको भनाइ छ।
‘हाम्रो तत्कालको प्राथमिकता उनको सुरक्षा र कल्याण सुनिश्चित गर्नु हो,’ कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ। इन्फोसिसले नेपालमा भएको प्राकृतिक विपद्का कारण भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःखसमेत व्यक्त गरेको छ।
को हुन् ल्याक्स गोपिसेट्टी ?
ल्याक्स गोपिसेट्टी विश्वव्यापी रूपमा परिचित सूचना प्रविधि कम्पनी इन्फोसिसको महत्वपूर्ण नेतृत्व तहमा रहेका वरिष्ठ प्रविधि व्यवसायी हुन्। उनी हाल इन्फोसिस पब्लिक सर्भिसेसको प्रमुख कार्यकारी अधिकृतका रूपमा कम्पनीको नेतृत्व गरिरहेका छन्। इन्फोसिसको वेबसाइटमा उपलब्ध विवरणअनुसार गोपिसेट्टी कम्पनीको रणनीतिक योजना तथा व्यावसायिक लक्ष्य कार्यान्वयन गर्ने महत्वपूर्ण जिम्मेवारीमा छन्। उनी यसअघि इन्फोसिसमै ग्लोबल भाइस प्रेसिडेन्ट तथा ‘बिजनेस एप्लिकेसन्स एन्ड डिजिटल वर्कस्पेस सर्भिस’ का प्रमुखका रूपमा कार्यरत थिए।
इन्फोसिस पब्लिक सर्भिसेसले मुख्यतः अमेरिका र क्यानडाका सार्वजनिक क्षेत्रका संस्थाहरूलाई प्रविधिसम्बन्धी सेवा उपलब्ध गराउँदै आएको छ। डिजिटल रूपान्तरण, सूचना प्रविधि तथा सार्वजनिक सेवासँग सम्बन्धित प्रविधि समाधानमा कम्पनीले काम गर्दै आएको छ। इन्फोसिसमा आबद्ध हुनुअघि गोपिसेट्टीले विश्वप्रसिद्ध परामर्श तथा प्रविधि कम्पनी एक्सेन्चरमा प्रबन्ध निर्देशकका रूपमा काम गरेका थिए। त्यसअघि उनले बेरिङपोइन्ट, आईबीएम, पीडब्ल्यूसी र एचसीएलजस्ता अन्तर्राष्ट्रिय कम्पनीमा विभिन्न उच्च जिम्मेवारी सम्हालेका थिए।
रसुवामा बाढी र पहिरोको जोखिम अझै कायम रहेका बेला विदेशी नागरिक तथा उच्च तहका व्यावसायिक व्यक्तिसमेत सम्पर्कविहीन हुनुले प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यको गम्भीरता थप उजागर गरेको छ। गोपिसेट्टीको खोजीका लागि नेपाली पक्षसँगको समन्वयलाई तीव्र बनाइएको इन्फोसिसले जनाएको छ। अहिले उनको अवस्था र सुरक्षित उद्धार नै कम्पनी तथा परिवारको प्रमुख चासो बनेको छ।


