Banijya News

वैदेशिक सहायता अस्वीकार गरेको भन्ने हल्ला गलत : परराष्ट्रमन्त्री खनाल

1
1.0K Shares

परराष्ट्रमन्त्री शिशिर खनालले रसुवामा आएको भीषण बाढी तथा पहिरोपछि बेपत्ताको खोजी र उद्धारका लागि सरकारले वैदेशिक सहायता अस्वीकार गरेको भन्ने चर्चा गलत भएको स्पष्ट पारेका छन्। शनिबार परराष्ट्र मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा मन्त्री खनालले नेपालले अन्तर्राष्ट्रिय सहयोग नरोकेको बरु विभिन्न मित्रराष्ट्रबाट सहयोग प्राप्त भइरहेको जानकारी दिएका हुन्।

उनका अनुसार भारत, चीन, जापान, अस्ट्रेलियालगायतका मुलुकले नेपालमा जारी उद्धार तथा राहत अभियानमा सहयोग गर्न टोली र आवश्यक सामग्री पठाउने प्रक्रिया अघि बढाएका छन्। केही सहयोग नेपालमा आइसकेको र थप सहयोगका लागि समन्वय भइरहेको उनले बताए।

रसुवामा भोटेकोशी हुँदै आएको विनाशकारी बाढी र त्यसपछि विभिन्न क्षेत्रमा गएको पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको छ। सडक, पुल तथा जलविद्युत् आयोजनामा व्यापक क्षति भएपछि प्रभावित क्षेत्रमा उद्धार टोली परिचालन गर्नसमेत कठिनाइ भइरहेको छ। यही अवस्थाबीच नेपालले विदेशी सहयोग अस्वीकार गरेको भन्ने समाचार सार्वजनिक भएपछि त्यसबारे मन्त्री खनालले स्पष्टीकरण दिएका हुन्।

मन्त्री खनालले तत्कालको खोज तथा उद्धार अभियान नेपाली सुरक्षा निकायको नेतृत्वमा सञ्चालन भइरहेको बताए। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोली जोखिमयुक्त क्षेत्रमा परिचालित रहेको उनको भनाइ छ।

तर, सुरक्षा निकायको क्षमता र उपलब्ध स्रोतभन्दा बाहिरका विशेष प्रकृतिका उद्धारमा भने नेपालले अन्तर्राष्ट्रिय साझेदारसँग सहयोग मागिरहेको उनले स्पष्ट पारे। विशेषगरी सुरुङभित्र फसेका व्यक्तिको उद्धार, भग्नावशेषमुनि जीवित व्यक्ति पत्ता लगाउने प्रविधि, छिटो फरेन्सिक तथा डीएनए परीक्षण र शव व्यवस्थापनका लागि नेपालले मित्रराष्ट्रसँग सहयोग अनुरोध गरेको उनले बताए।

मन्त्री खनालका अनुसार रसुवाको बाढी–पहिरोले तत्काल उद्धार र राहतसँगै दीर्घकालीन पुनर्निर्माणको चुनौतीसमेत थपेको छ। सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य पूर्वाधारमा भएको क्षतिको विस्तृत मूल्यांकनपछि पुनर्निर्माण र पुनर्स्थापनाका लागि आवश्यक अन्तर्राष्ट्रिय सहयोगबारे औपचारिक रूपमा जानकारी गराइने उनले बताए।

उनले विपद्बाट भएको विनाशको स्तर ठूलो रहेकाले नेपाललाई तत्कालीन राहतभन्दा पनि दीर्घकालीन पुनर्निर्माण र पुनर्स्थापनामा अन्तर्राष्ट्रिय सहकार्य अझ महत्वपूर्ण हुने बताएका छन्।

1

Scroll to Top