Banijya News

भोटेकोसी बाढी प्रभावित कम्पनीको विवरण सार्वजनिक गर्न नेप्सेलाई सेबोनको निर्देशन

1
1.0K Shares

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले रसुवास्थित भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका सूचीकृत कम्पनीहरूको अवस्था सार्वजनिक गर्न तथा तिनको धितोपत्र कारोबारमाथि विशेष निगरानी राख्न नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई निर्देशन दिएको छ।

सेबोनले हालै जारी गरेको निर्देशनअनुसार भोटेकोसी नदी प्रणाली वरपर सञ्चालनमा रहेका वा निर्माणाधीन जलविद्युत् आयोजना, प्रसारण लाइन तथा अन्य भौतिक पूर्वाधारमा बाढीका कारण पुगेको क्षतिको यथार्थ विवरण संकलन गरी सार्वजनिक गर्न नेप्सेलाई भनिएको हो। बोर्डले प्राकृतिक विपद्का कारण लगानीकर्ता र बजारमा पर्न सक्ने प्रभावलाई ध्यानमा राख्दै प्रभावित कम्पनीहरूको अवस्थाबारे पारदर्शी सूचना प्रवाह गर्न जोड दिएको छ।

भोटेकोसी क्षेत्रमा आएको बाढीपछि सेयर बजारमा निरन्तर गिरावट देखिएको छ। यद्यपि, प्रभावित हुन सक्ने कम्पनीहरूको सेयर कारोबारमा कुनै अस्वाभाविक गतिविधि हुन नदिन सेबोनले नेप्सेलाई ‘अलर्ट’ अवस्थामा रहन निर्देशन दिएको छ। विशेष गरी कम्पनीहरूको सेयर मूल्यमा हुने अस्वाभाविक उतारचढाव, असामान्य खरिद–बिक्री तथा भित्री सूचनाको दुरुपयोगबाट प्रेरित हुन सक्ने गतिविधिमाथि कडा निगरानी गर्न भनिएको छ।

बोर्डले नेप्सेलाई पाँच बुँदे निर्देशन जारी गर्दै प्राकृतिक विपद्बाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित हुन सक्ने सबै सूचीकृत कम्पनीहरूको विस्तृत सूची तत्काल तयार पार्न र त्यसको जानकारी बोर्डलाई उपलब्ध गराउन भनेको छ। साथै, प्रभावित कम्पनीहरूको नाम, क्षतिको अवस्था, सञ्चालनमा परेको असर तथा पुनःस्थापनाको प्रगतिसम्बन्धी विवरण सार्वजनिक गर्नसमेत आग्रह गरिएको छ।

सेबोनका अनुसार यस्ता घटनाले लगानीकर्ताको मनोविज्ञानमा प्रभाव पार्ने भएकाले बजारमा गलत सूचना फैलिन नदिन समयमै तथ्यगत जानकारी उपलब्ध गराउनु आवश्यक छ। त्यसका लागि नेप्से र सम्बन्धित कम्पनीहरूबीच समन्वय गरी नियमित सूचना प्रवाह गर्न पनि निर्देशन दिइएको छ।

बोर्डले बजारको निष्पक्षता, पारदर्शिता र लगानीकर्ताको हित संरक्षणलाई प्राथमिकतामा राख्दै प्रभावित कम्पनीहरूको धितोपत्र कारोबारमाथि निरन्तर निगरानी गर्ने जनाएको छ। आवश्यक परे थप नियामकीय कदम चालिने संकेतसमेत बोर्डले दिएको छ। यस निर्देशनसँगै बाढी प्रभावित कम्पनीहरूको वास्तविक अवस्था सार्वजनिक हुने र लगानीकर्ताले तथ्यमा आधारित निर्णय लिन सहज हुने अपेक्षा गरिएको छ।

1

Scroll to Top