Banijya News

रसुवा बाढीपीडितका लागि इप्पानको १३ करोड १ लाख रुपैयाँ सहयोग

1
1.0K Shares

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले रसुवा जिल्लाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि १३ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ। प्रारम्भिक रूपमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको इप्पानले विभिन्न ऊर्जा कम्पनी तथा सरोकारवालाहरूबाट अपेक्षाभन्दा बढी सहयोग जुटेपछि उक्त रकम बढाएर १३ करोड १ लाख रुपैयाँ पुर्‍याएको हो।

मंगलबार सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा आयोजित एक कार्यक्रममा इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले उक्त सहयोग रकम ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठलाई हस्तान्तरण गरेका हुन्। इप्पानका अनुसार भदौ ११ गते बसेको आकस्मिक कार्यसमिति बैठकले बाढीपीडितहरूको सहयोगार्थ विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। त्यसपछि सदस्य कम्पनीहरू तथा ऊर्जा क्षेत्रसँग सम्बन्धित विभिन्न पक्षहरूको सहभागितामा सहयोग रकम संकलन गरिएको थियो।

अध्यक्ष डाँगीले भोटेकोशी बाढीका कारण ऊर्जा क्षेत्रमा ठूलो क्षति पुगेको जानकारी दिए। उनका अनुसार सञ्चालनमा रहेका ८ वटा तथा निर्माणाधीन ५ वटा गरी कुल १३ वटा जलविद्युत् आयोजनाका संरचना बाढीले ध्वस्त बनाएको छ। यसले ऊर्जा उत्पादन, लगानी तथा पूर्वाधारमा गम्भीर असर पुर्‍याएको उनले बताए।

उनले भौतिक संरचना र आर्थिक लगानीको क्षतिभन्दा पनि दक्ष जनशक्ति तथा श्रमिकहरूको ज्यान गुम्नु ऊर्जा क्षेत्रका लागि अझ ठूलो पीडा भएको उल्लेख गरे। डाँगीले भोटेकोशी बाढीलाई सामान्य प्राकृतिक विपद् मात्र नभई देशको विकास र अर्थतन्त्रमा गम्भीर असर पार्ने राष्ट्रिय महाविपत्तिका रूपमा व्याख्या गरे।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै उनले संकलित रकम वास्तविक पीडितसम्म पारदर्शी, प्रभावकारी र शीघ्र रूपमा पुर्‍याउन सरकारसँग आग्रह गरे। साथै, विपद्को यस कठिन घडीमा सरकार, निजी क्षेत्र, विकास साझेदार, सामाजिक संघसंस्था तथा आम नागरिकबीच सहकार्य र एकता आवश्यक रहेको बताए।

डाँगीले ऊर्जा क्षेत्र स्वयं पनि बाढीका कारण गम्भीर संकटमा परेको उल्लेख गर्दै आफ्नै सदस्य कम्पनीका आयोजनाहरू क्षतिग्रस्त भएको, लगानी डुबेको तथा संरचनाहरू बगेको बताए। यद्यपि यस्तो परिस्थितिमा पनि पीडित नागरिकहरूको दुःखमा साथ दिन इप्पानले सहयोग अभियान अघि बढाएको उनको भनाइ थियो।

1

Scroll to Top