Banijya News

रसुवा बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि हिमालयन बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग

1
1.0K Shares

हिमालयन बैंकले रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि ३ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा उपलब्ध गराउने जनाएको छ।

बैंकका अनुसार रसुवामा आएको बाढीले स्थानीय बासिन्दाको जनजीवनमा ठूलो असर पुर्‍याएको छ। बाढीका कारण धेरै परिवार विस्थापित भएका छन् भने भौतिक संरचना, पूर्वाधार तथा जीविकोपार्जनका स्रोतहरूमा समेत क्षति पुगेको छ। यस्ता प्रभावित नागरिकहरूको उद्धार, राहत वितरण तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले बैंकले आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको हो।

हिमालयन बैंकले विपद्को यस कठिन घडीमा प्रभावित समुदायको साथमा उभिने आफ्नो सामाजिक प्रतिबद्धतालाई पुनः दोहोर्‍याएको छ। बैंकले प्राकृतिक विपद्का कारण समस्यामा परेका नागरिकहरूको सहयोगका लागि सरकारी तथा सम्बन्धित निकायहरूसँग सहकार्य गर्न सदैव तयार रहेको जनाएको छ।

साथै, बैंकले बाढीपछिको राहत तथा उद्धार अभियानलाई प्रभावकारी बनाउन सरोकारवाला निकाय, संस्थाहरू तथा सर्वसाधारणलाई समेत आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरेको छ। बैंकले मानवीय संकटका बेला सामूहिक प्रयास र सहकार्यले मात्र प्रभावित समुदायलाई शीघ्र राहत र पुनःस्थापनामा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

हिमालयन बैंकले भविष्यमा पनि यस्ता प्राकृतिक विपद् तथा मानवीय संकटका अवस्थामा सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आवश्यक सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

1

Scroll to Top