आन्तरिक राजस्व विभागले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’अन्तर्गत मंगलबार सार्वजनिक गर्ने तय गरिएको चिठ्ठाको नतिजा तत्कालका लागि स्थगित गरेको छ। विभागले मुलुकमा विद्यमान विपद्को अवस्थालाई ध्यानमा राख्दै नतिजा सार्वजनिक गर्ने कार्यक्रम हाललाई रोकिएको जनाएको हो।
यस कार्यक्रमअन्तर्गत यसअघि दुई चरणको चिठ्ठा सार्वजनिक भइसकेको छ। पछिल्लो चरणका लागि भदौ १५ गतेसम्म भएका योग्य कारोबारका आधारमा तयार गरिएका कुपनहरू सोमबार चिठ्ठामार्फत छनोट गरिएको थियो। ती कुपनबाट छनोट भएका विजेताको नाम मंगलबार सार्वजनिक गर्ने तयारी भए पनि विशेष परिस्थितिका कारण कार्यक्रम स्थगित गरिएको हो।
विभागका अनुसार नतिजा सार्वजनिक गर्ने कार्य रोकिए पनि योग्य कारोबारका आधारमा कुपन तयार गर्ने प्रक्रिया भने निरन्तर जारी रहनेछ। प्रणालीमा नयाँ योग्य कारोबार थपिँदै जाँदा त्यसअनुसार कुपन पनि थपिनेछन् भने हाल तयार भएका कुपन सुरक्षित रहनेछन्।
स्थगित भएको यो चरण र आगामी चरणको चिठ्ठा नतिजा एकैपटक सार्वजनिक गर्ने तयारी गरिएको विभागले जनाएको छ। नयाँ मिति, चिठ्ठामा समावेश हुने कारोबार अवधि तथा अन्य विवरणबारे विभागले पछि औपचारिक सूचना जारी गर्नेछ।

