Banijya News

भोटेकोसी बाढी जलवायु परिवर्तनको असर हुनसक्ने प्रधानमन्त्री शाहको दाबी

1
1.0K Shares

प्रधानमन्त्री वालेन्द्र शाहले गत बुधबार रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढी जलवायु परिवर्तनका कारण उत्पन्न भएको हुनसक्ने बताएका छन्। मंगलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले हिमालय क्षेत्रमा बढ्दो तापक्रम र जलवायु परिवर्तनका कारण यस्ता प्राकृतिक विपत्तिको जोखिम बढ्दै गएको बताएका हुन्।

प्रधानमन्त्री शाहका अनुसार जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रको तापक्रम १.८ डिग्री सेल्सियससम्म वृद्धि भइसकेको पुष्टि भएको छ। यही कारण भोटेकोसीमा आएको विपत्ति सिर्जना भएको हुनसक्ने उनको दाबी छ। उनले जलवायु परिवर्तन विश्वव्यापी समस्या भएकाले त्यसबाट सिर्जित विपत्तिको सामना गर्ने जिम्मेवारी पनि विश्वव्यापी नै हुनुपर्ने बताएका छन्।

‘जलवायु परिवर्तनले हिमालय क्षेत्रको तापक्रम १.८ डिग्रीसम्म वृद्धि भइसकेको पुष्टि भएकाले सोही कारण यो विपत्ति आएकामा शंका छैन,’ प्रधानमन्त्री शाहले भनेका छन्। उनका अनुसार पछिल्लो घटनाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै नेपालले आगामी दिनमा सामना गर्नुपर्ने प्राकृतिक जोखिम अझ बढ्दै गएको संकेत गरेको छ।

भोटेकोसीमा आएको बाढी कसरी र किन यति ठूलो रूपमा आयो भन्ने विषयमा आम नागरिकमा जिज्ञासा रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले विज्ञहरूसँगको छलफलपछि प्रारम्भिक रूपमा हिमालय क्षेत्रमा हिउँ तथा चट्टानको हिमपहिरोबाट यो विपत्ति सिर्जना भएको हुनसक्ने जानकारी आएको बताएका छन्।

उनले यो घटना हिमालय क्षेत्रकै ठूलो प्राकृतिक विपत्तिमध्ये एक हुनसक्ने उल्लेख गर्दै सम्बन्धित क्षेत्रलाई थप सचेत र सतर्क बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्। साथै, जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेका विपत्तिका विषयलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष बलियो रूपमा प्रस्तुत गर्ने समय आएको उनको भनाइ छ।

प्रधानमन्त्री शाहले ‘हिउँ र चट्टान किन खस्यो ? यति धेरै पानी कसरी आयो ?’ भन्ने प्रश्नको वैज्ञानिक जवाफ खोज्नुपर्ने बताएका छन्। उनका अनुसार यस्ता घटनाको वास्तविक कारण पत्ता लगाउनु नेपालका लागि मात्र नभई मानव सभ्यताकै लागि महत्वपूर्ण विषय हो।

भोटेकोसी बाढीको सम्भावित कारणबारे चर्चा गर्दै प्रधानमन्त्री शाहले हिमनदीभित्र जमेको बरफ पग्लिँदा पानी र बरफ दुवै मिसिएर हिमनदीको ठूलो भाग अचानक खस्नसक्ने बताएका छन्। विज्ञहरूको भनाइ उद्धृत गर्दै उनले हिमनदीको ठूलो भाग अत्यधिक उचाइबाट खस्दा ठूलो ऊर्जा उत्पन्न हुने र खसेकै स्थानमा बरफ पग्लिन सुरु भएर त्यसले निरन्तर पानीको ठूलो प्रवाह सिर्जना गर्नसक्ने बताएका छन्।

हिमालयबाट नेपालतर्फको भूभाग क्रमशः ओरालो भएकाले बाढीको बहावले बाटोमा थप पानी र सामग्री समेट्दै गएर विनाशको मात्रा अझ बढेको हुनसक्ने उनको भनाइ छ। यसले भोटेकोसी आसपासका क्षेत्रमा ठूलो क्षति पुर्‍याएको उनले उल्लेख गरेका छन्।

प्रधानमन्त्री शाहले विपत्तिपछि सरकार खोज, उद्धार र राहत वितरणको चरणबाट अघि बढेर अब पुनःस्थापनातर्फ केन्द्रित भइरहेको जानकारी पनि दिएका छन्। प्रभावित नागरिकको जीवनरक्षा गर्नुका साथै उनीहरूको स्वास्थ्य संरक्षणका लागि आवश्यक उपचार, स्वास्थ्य सेवा तथा मनोपरामर्श उपलब्ध गराउने कामलाई प्राथमिकता दिइएको उनले बताएका छन्।

उनले प्राकृतिक विपत्तिको तत्कालीन व्यवस्थापनसँगै भविष्यमा यस्ता जोखिमबाट हुने क्षति न्यूनीकरणका लागि वैज्ञानिक अध्ययन, पूर्वतयारी र जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सहकार्यलाई समेत प्राथमिकता दिनुपर्ने संकेत गरेका छन्।

1

Scroll to Top