सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्ना कर्मचारीहरूको स्वास्थ्य तथा कल्याणलाई उच्च प्राथमिकतामा राख्दै हृदय तथा रक्तनली सम्बन्धी रोगको रोकथामबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विशेष वेबिनार आयोजना गरेको छ। मेदान्ता–द मेडिसिटी अस्पताल, गुडगाउँ, भारतसँगको सहकार्यमा सम्पन्न उक्त कार्यक्रमले कर्मचारीहरूलाई हृदय स्वास्थ्यसम्बन्धी सही जानकारी प्रदान गर्नुका साथै स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने लक्ष्य राखेको थियो।
‘प्रिभेन्टिङ कार्डियोभास्कुलर डिजिजेस’ विषयक उक्त वेबिनार भाद्र १६, २०८३ (सेप्टेम्बर १, २०२६) मा आयोजना गरिएको थियो। कार्यक्रममा बैंकका ३५ वर्ष वा सोभन्दा माथिका कर्मचारीहरूलाई लक्षित गरिएको थियो। सत्रमा मेदान्ता–द मेडिसिटी अस्पतालका क्लिनिकल एण्ड प्रिभेन्टिभ कार्डियोलोजी विभागका वरिष्ठ विशेषज्ञ डा. मनिष बन्सलले स्रोत व्यक्तिका रूपमा सहजीकरण गर्नुभएको थियो।
वेबिनारका क्रममा हृदय तथा रक्तनली सम्बन्धी रोगका प्रमुख जोखिम कारकहरू, समयमै स्वास्थ्य परीक्षणको महत्व, रोगबाट बच्ने उपाय तथा दैनिक जीवनमा स्वस्थ बानी र व्यवहारको आवश्यकताबारे विस्तृत जानकारी प्रदान गरिएको थियो। साथै नियमित शारीरिक व्यायाम, सन्तुलित आहार, तनाव व्यवस्थापन तथा स्वस्थ जीवनशैलीमार्फत हृदय स्वास्थ्यलाई सुरक्षित राख्न सकिने विषयमा सहभागीहरूलाई सचेत गराइएको थियो।
कार्यक्रममा बैंकका ४४६ जना कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले विशेषज्ञसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै आफ्ना जिज्ञासाहरू राखेका थिए। यसले कार्यक्रमलाई थप प्रभावकारी, उपयोगी तथा सहभागितामूलक बनाएको बैंकले जनाएको छ। कर्मचारीहरूमा स्वास्थ्यप्रति सचेतना बढाई दीर्घकालीन स्वास्थ्य सुरक्षामा योगदान पुर्याउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमलाई सहभागीहरूले सकारात्मक रूपमा लिएका छन्।
सिटिजन्स बैंकले कर्मचारी, ग्राहक तथा अन्य सरोकारवालाहरूको स्वास्थ्य प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै आगामी दिनहरूमा पनि यस्ता जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। यसै क्रममा बैंकका कार्डवाहक ग्राहकहरूले मेदान्ता–द मेडिसिटी अस्पतालका विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट सुविधा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ, जसबाट उपचार सेवामा थप सहजता पुग्ने विश्वास बैंकले लिएको छ।
विश्वकै प्रतिष्ठित ‘बैंक अफ द इयर २०२४’ र ‘बैंक अफ द इयर २०२५’ अवार्ड प्राप्त गर्न सफल सिटिजन्स बैंकले प्रविधिमैत्री बैंकिङ सेवाको विस्तार गर्दै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ। हाल बैंकले देशका ६१ जिल्लामा रहेका २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर तथा ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ६० हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

