Banijya News

कुलमानले प्रधानमन्त्री शाहलाई के दिए सुझाव ?

1
1.0K Shares

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी मुलुकमा हाल देखिएको विपद् व्यवस्थापन, उद्धार कार्य, राहत वितरण तथा पूर्वाधार विकासका विषयमा विस्तृत सुझाव प्रस्तुत गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार भएको भेटवार्तामा घिसिङले विशेषगरी भोटेकोशी क्षेत्रमा आएको विपत्तिपछि उत्पन्न चुनौतीहरूको समाधान, दीर्घकालीन पूर्वाधार सुरक्षा तथा प्रभावित नागरिकहरूको व्यवस्थापनका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्।

भेटका क्रममा घिसिङले विपद्पछिको अवस्थामा उद्धार, राहत र पुनर्स्थापनालाई एकीकृत रूपमा अघि बढाउन आवश्यक रहेको बताए। उनले बाढी र पहिरोका कारण विभिन्न स्थानमा सिर्जित संकटको प्रभावकारी व्यवस्थापन गर्न आधुनिक प्रविधि तथा आवश्यक उपकरणहरूको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिए। विशेषगरी सुरुङभित्र फसेका नागरिकहरूको उद्धारलाई तीव्र र प्रभावकारी बनाउन अत्याधुनिक उपकरण तथा दक्ष जनशक्तिको परिचालन अपरिहार्य रहेको उनको भनाइ थियो।

उनले भौगोलिक रूपमा दुर्गम स्थानहरूमा उद्धार सामग्री तथा भारी उपकरण पुर्‍याउन कठिनाइ भइरहेकाले आवश्यक परे हेलिकोप्टरमार्फत हेभी इक्युपमेन्ट ढुवानी गरेर कामलाई गति दिनुपर्ने सुझाव दिए। उनका अनुसार हालको विपद्का कारण करिब २३५ मेगावाट क्षमताका जलविद्युत् आयोजनाहरू प्रभावित भएका छन्, जसले ऊर्जा क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। यस परिस्थितिमा निजी क्षेत्रका प्रवर्धकहरूलाई प्रोत्साहन गर्न तथा बीमा दाबी भुक्तानी प्रक्रियालाई सहज बनाउन सरकारले विशेष नीतिगत सहजीकरण गर्नुपर्ने उनले बताए।

सडक पूर्वाधार पुनःस्थापनाको विषय पनि छलफलको प्रमुख एजेन्डा बनेको थियो। घिसिङले स्याफ्रुबेँसीलगायत विभिन्न क्षेत्रमा अवरुद्ध सडकहरू तत्काल सञ्चालनमा ल्याउन र आवश्यक स्थानहरूमा बेलिब्रिज निर्माण गरी आवागमन सहज बनाउन आग्रह गरे। उनले सडक कनेक्टिभिटीमा ढिलाइ हुँदा स्थानीय जनजीवन, आपूर्ति व्यवस्था र उद्धार कार्यमा प्रत्यक्ष असर पर्ने भएकाले यसलाई उच्च प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे।

दीर्घकालीन पूर्वाधार सुरक्षाको सन्दर्भमा घिसिङले जलविद्युत् आयोजनाहरूको डिजाइन तथा संरचनागत मापदण्ड पुनरावलोकन गर्नुपर्ने आवश्यकता औंल्याए। उनले नदी किनारमा निर्माण हुने सडक तथा अन्य संरचनाहरूको जोखिम विश्लेषण गरेर मात्र निर्माण प्रक्रिया अघि बढाउनुपर्ने र बेसिन व्यवस्थापनलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने सुझाव दिए।

भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै घिसिङले प्रभावित क्षेत्रमा स्थलगत अवलोकनका क्रममा शव व्यवस्थापनमा ढिलाइ भएको पाइएको र यसप्रति स्थानीय बासिन्दा तथा जनप्रतिनिधिहरूले असन्तुष्टि व्यक्त गरेको जानकारी दिए। उनले शव व्यवस्थापन, राहत वितरण र पुनर्स्थापनाका कार्यलाई अझ प्रभावकारी बनाउन सरकार गम्भीर हुनुपर्ने बताए।

होल्डिङ सेन्टरहरूमा आश्रय लिइरहेका बालबालिका, महिला तथा ज्येष्ठ नागरिकहरूको अवस्था पनि छलफलको विषय बनेको थियो। ती केन्द्रहरूमा स्वास्थ्य सेवा, सुरक्षा र आवश्यक सामाजिक संरक्षणको उचित व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए। यस क्रममा प्रधानमन्त्री शाहले होल्डिङ सेन्टरमा रहेका बालबालिकाहरूलाई काठमाडौं ल्याएर आवश्यक व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी घिसिङले दिए।

प्रधानमन्त्री शाहले घिसिङद्वारा प्रस्तुत सुझावहरूलाई सकारात्मक रूपमा लिँदै विपद् व्यवस्थापन, उद्धार तथा पूर्वाधार पुनर्निर्माणका कार्यमा विज्ञहरूको सुझावअनुसार प्रभावकारी कदम चाल्ने आश्वासन दिएका छन्। घिसिङले विपद् पूर्वतयारीमा केही कमजोरी भएको स्वीकार गर्दै अहिलेको संकटको घडीमा सरकार, निजी क्षेत्र र नागरिक समाज सबैले जिम्मेवारीपूर्वक सहयोग गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

1

Scroll to Top