सुदूरपश्चिम क्षेत्रमा २०८३ भदौ १० गते आएको विनाशकारी बाढी र पहिरोबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि निजी क्षेत्रबाट उल्लेखनीय सहयोग जुट्न थालेको छ। यसैक्रममा नेपाल दाना उद्योग संघले आफ्ना सदस्य उद्योगहरूको तर्फबाट तीन करोड १७ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ।
संघले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पठाएको औपचारिक पत्रमार्फत उक्त जानकारी गराउँदै प्राकृतिक विपत्तिबाट प्रभावित परिवारहरूको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले रकम उपलब्ध गराइएको उल्लेख गरेको छ। संघका अनुसार देशभर रहेका २६ वटा सदस्य उद्योगबाट स्वेच्छिक रूपमा राहत रकम सङ्कलन गरिएको हो।
नेपाल दाना उद्योग संघका अध्यक्ष उमेशचन्द्र सापकोटाले हस्ताक्षर गरेको पत्रमा बाढीपहिरोका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरिएको छ। साथै विपत्तिबाट प्रभावित नागरिकहरूको जीवनलाई पुनः सामान्य अवस्थामा फर्काउन सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
संघका अनुसार हालसम्म तीन करोड १७ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भइसकेको छ भने थप सहयोग रकम सङ्कलन गर्ने प्रक्रिया पनि जारी छ। यसबाट राहत तथा पुनर्निर्माण अभियानलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।
हालैको बाढीपहिरोले सुदूरपश्चिमका विभिन्न जिल्ला प्रभावित भएका छन्। सयौं परिवार विस्थापित हुनुका साथै घर, सडक, पुल, कृषि क्षेत्र तथा सार्वजनिक संरचनामा ठूलो क्षति पुगेको छ। प्रभावित क्षेत्रका नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै दीर्घकालीन पुनर्स्थापनाको आवश्यकता रहेको सरकारी निकायहरूले बताउँदै आएका छन्।


