Banijya News

सुरुङबाट चिनियाँ नागरिकको ११ दिनपछि जीवित उद्धार

1
1.1K Shares

भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि सुरुङभित्र फसेका एक चिनियाँ नागरिकलाई नेपाली सेनाको उद्धार टोलीले ११ दिनपछि जीवितै उद्धार गरेको छ। बाढीका कारण प्रभावित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट उनलाई उद्धार गरिएको हो।

भदौ १० गते भोटेकोसी नदीमा आएको भीषण बाढीका क्रममा ती चिनियाँ नागरिक माथिल्लो त्रिशूली–१ आयोजनाको अडिट–४ टनेलभित्र फसेका थिए। बाढीपछि सुरुङ तथा आयोजनाको क्षेत्रमा उद्धार कार्य चुनौतीपूर्ण बनेको थियो। लामो समयदेखि सम्पर्कविहीन रहेका उनलाई जीवित अवस्थामा फेला पारेर उद्धार गर्न नेपाली सेना तथा दक्षिण कोरियाका विपद् उद्धार विज्ञहरूको संयुक्त टोली परिचालन गरिएको थियो।

उद्धार टोलीले केहीबेरअघि अडिट–४ टनेलबाट उनलाई सकुशल बाहिर निकालेको हो। लामो समय सुरुङभित्र फसेका उनलाई उद्धारपछि आवश्यक स्वास्थ्य परीक्षण तथा उपचारका लागि नुवाकोटको त्रिशूलीस्थित मैथिली ब्यारेकतर्फ लगिँदैछ। उनको स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण भने सार्वजनिक भइसकेको छैन।

भोटेकोसीमा आएको बाढीले माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना लगायत आसपासका क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढी र पहिरोका कारण सडक, पुल, विद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा क्षति पुगेपछि उद्धार तथा खोजी कार्य कठिन बनेको थियो।

यसैबीच, नेपाली सेनाको उद्धार टोलीले यसअघि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट दुई जना नेपाली नागरिकलाई पनि जीवितै उद्धार गरेको थियो। उनीहरूलाई बुधबार सुरुङबाट सकुशल बाहिर निकालिएको थियो।

1

Scroll to Top