Banijya News

‘१७ सय किलोको मासु खाने उपभोक्ताका लागि ग्यास महँगो होइन, दुई महिना पुग्छ’ : आयल निगम

1
1.1K Shares

नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले एलपी ग्यासको मूल्य महँगो भएको भन्दै भइरहेको गुनासोप्रति असन्तुष्टि जनाउँदै बजारका अन्य उपभोग्य वस्तुको तुलनामा ग्यासको मूल्य अझै सस्तो रहेको दाबी गरेका छन्।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको ‘बाढीपहिरोपछिको आपूर्ति तथा मूल्य शृङ्खलामा परेको प्रभाव र देखिएका चुनौती’ विषयक अन्तरक्रियामा बोल्दै साहले ग्यासको मूल्यलाई केवल सिलिण्डरको मूल्यका आधारमा मात्रै हेर्न नहुने बताएका हुन्।

उनका अनुसार नेपाल आयल निगमले अहिले पनि प्रतिसिलिण्डर करिब ४ सय रुपैयाँ घाटा व्यहोरेर एलपी ग्यास बिक्री गरिरहेको छ। ग्यास व्यवसायीहरूले समेत घाटामा कारोबार गर्नुपरेको गुनासो गरिरहेको अवस्थामा उपभोक्ताले ग्यास महँगो भएको भन्दै गरेको गुनासोलाई पनि समग्र बजारको मूल्य र उपभोगको दृष्टिकोणबाट हेर्नुपर्ने साहको भनाइ छ।

साहले दैनिक उपभोग्य वस्तुको मूल्यसँग ग्यासको तुलना गर्दै यसको वास्तविक लागत र उपयोगितालाई बुझ्न आग्रह गरे। उनका अनुसार बजारमा अहिले एक किलो मासुको मूल्य करिब १ हजार ७ सयदेखि १ हजार ८ सय रुपैयाँसम्म पर्न सक्छ। उक्त रकम बराबरको मासु परिवारले एक छाक वा बढीमा एक दिनमै उपभोग गर्न सक्छ। तर, करिब २१ सय रुपैयाँ पर्ने एउटा ग्यास सिलिण्डरले एउटा परिवारलाई झण्डै दुई महिनासम्म खाना पकाउन पुग्ने उनको दाबी छ।

‘पैसा २१ सय रुपैयाँ हुनु ठूलो कुरा होइन,’ साहले भने, ‘मुख्य कुरा उपभोक्तालाई प्राथमिकता दिएर उनीहरूको चुलो कसरी बाल्ने भन्ने हो। यो हामी सबैको साझा दायित्व हो।’

नेपालमा एलपी ग्यास उत्पादन नहुने भएकाले यसको आपूर्तिका लागि पूर्ण रूपमा विदेशी बजारमा निर्भर रहनुपर्ने अवस्था रहेको उनले बताए। यस्तो अवस्थामा मूल्यभन्दा पनि बजारमा ग्यासको नियमित र सहज आपूर्तिलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ।

पछिल्लो समय बाढीपहिरोका कारण सडक तथा यातायात संरचनामा क्षति पुग्दा पेट्रोलियम पदार्थको ढुवानी र आपूर्ति प्रणालीमा थप चुनौती उत्पन्न भएको साहले बताए। प्राकृतिक विपत्तिले आपूर्ति शृङ्खला प्रभावित भए पनि निगमले उपभोक्तालाई ग्यासको अभाव हुन नदिन तथा बजारमा आपूर्ति सहज बनाउन अधिकतम प्रयास गरिरहेको उनले जानकारी दिए।

1

Scroll to Top