विवाह गर्ने आश्वासन दिँदै महिलासँग आत्मीय सम्बन्ध बनाएर रकम असुल गरेको आरोपमा पक्राउ परेका चलचित्रकर्मी सञ्जय उर्फ डम्बर खतिवडाविरुद्ध थप जाहेरी परेको छ। आफूलाई प्रभावशाली राजनीतिक तथा प्रशासनिक व्यक्तिसँग निकट रहेको देखाउँदै विभिन्न बहानामा रकम असुल गर्ने गरेको आरोप उनीमाथि लागेको छ।
खतिवडा यसअघि बेलायतमा बस्दै आएकी नेपालीमूलकी एक महिलाबाट ४२ लाख रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका थिए। काठमाडौं प्रहरीले अनलाइनमार्फत प्राप्त जाहेरीका आधारमा भदौ ८ गते उनलाई पक्राउ गरेको थियो। उनीविरुद्ध अनुसन्धान चलिरहेका बेला काठमाडौंमा व्यवसाय गर्दै आएकी अर्की युवतीले पनि प्रहरी परिसरमा जाहेरी दिएकी हुन्।
प्रहरीका अनुसार खतिवडाले ती युवतीसँग विवाह गर्ने आश्वासन दिँदै आफू दक्षिण कोरियाका लागि नेपाली राजदूत बन्न लागेको बताएका थिए। राजदूत बन्न सभामुख डा. डीपी अर्याललाई १ करोड ७५ लाख रुपैयाँ बुझाउनुपर्ने र त्यसमध्ये ७५ लाख रुपैयाँ बुझाइसकेको तथा थप १ करोड रुपैयाँ दिन बाँकी रहेको भन्दै उनले रकम मागेको आरोप जाहेरीमा उल्लेख छ।
खतिवडाले आफू सभामुख अर्याल तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग निकट रहेको दाबी गर्दै उनीहरूसँगका तस्बिर र सम्पर्कका प्रमाण देखाएर आफ्नो प्रभाव देखाउने गरेको पनि युवतीको आरोप छ। त्यस्तै, प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई समेत आफ्नो दाइ भन्दै प्रभाव जमाउने गरेको दाबी गरिएको छ।
प्रहरीका अनुसार खतिवडाले आफू चलचित्र विषयमा पीएचडी गरेको, बूढानीलकण्ठमा हाइड्रो तथा होटल व्यवसाय सञ्चालन गरिरहेको र अविवाहित रहेको बताउँदै युवतीसँग नजिकिएका थिए। घरमा वृद्ध बुबाआमा रहेकाले परिपक्व बुहारीको आवश्यकता रहेको भन्दै उनले विवाह गर्ने प्रस्तावसमेत राखेका थिए।
जाहेरीअनुसार करिब दुई महिनासम्म उनी युवतीसँग दिनमा दुई पटकसम्म भेट्ने र अत्यन्तै हेरचाह गर्ने व्यवहार देखाउने गर्थे। विवाह गर्ने भएपछि शारीरिक सम्बन्धसमेत राख्नुपर्ने प्रस्ताव उनले गरेको तर युवतीले अस्वीकार गरेको बताइएको छ। विवाह र भविष्यमा राजदूत बनेपछि आफूलाई कोरिया लैजाने विश्वासमा युवतीले भने विभिन्न समयमा रकम उपलब्ध गराउँदै गएको जाहेरीमा उल्लेख छ।
खतिवडाले युवतीलाई अटोमोबाइल व्यवसाय विस्तारका लागि जापानको टोयोटा कम्पनी तथा अन्य व्यवसायिक संस्थासँग आफ्नो सम्पर्क रहेको भन्दै विश्वास दिलाएको आरोप छ। युरोपमा लगानीको अवसर आएको र तत्काल रकम नदिए अवसर गुम्ने बताएपछि युवतीले २२ लाख रुपैयाँ दिएको उल्लेख छ।
पछि आफू दक्षिण कोरियाका लागि राजदूत नियुक्त भएको दाबी गरेका खतिवडा अष्ट्रेलिया गएपछि युवतीलाई उनको व्यवहारप्रति शंका लागेको बताइएको छ। होटल तथा रेष्टुरेन्टमा हुने खर्चसमेत आफूलाई तिर्न लगाउने गरेको र सामान्यदेखि महँगा बिलसमेत युवतीकै जिम्मामा पार्ने गरेको आरोप छ।
युवती अस्पतालमा भर्ना भएपछि खतिवडाले सम्पर्कबाट टाढिन खोजेको र त्यसपछि उनीबारे थप जानकारी खोज्दा आफूले बताएकोभन्दा फरक तथ्य भेटिएको जाहेरीमा उल्लेख छ। आफू विवाहित रहेको, उमेरसमेत फरक रहेको र अन्य महिलासँग पनि यस्तै व्यवहार गरेको जानकारी पाएपछि रकम फिर्ता माग्दा उनले प्रमाण खोज्ने तथा रकम दिन आलटाल गरेको युवतीको दाबी छ।
प्रहरीमा उजुरी दिने बताएपछि विभिन्न पुराना चर्चित घटनामा फसाइदिने भन्दै धम्की दिएको आरोपसमेत जाहेरीमा लगाइएको छ। खतिवडाको व्यवहारका कारण आफू मानसिक तनावमा परेको र उनले प्रयोग गर्ने एमजी गाडी तथा दाह्री पालेका पुरुष देख्दा समेत डर लाग्ने अवस्था आएको युवतीले जाहेरीमा उल्लेख गरेकी छन्।
जाहेरीअनुसार विभिन्न मितिमा खतिवडालाई लाखौँ रुपैयाँ दिइएको छ। यसमा बैंकको चेकमार्फत ५ लाख, कार्यालयमै १ लाख ५० हजार र १ लाख रुपैयाँ तथा उनका कर्मचारीमार्फत बालुवाटारमा ३ लाख ५० हजार रुपैयाँ दिएको दाबी गरिएको छ। कोरिया जाने टिकटबापत १ लाख ५५ हजार तथा विभिन्न यात्राका क्रममा समेत खर्च व्यहोरेको उल्लेख छ। होटल तथा रेष्टुरेन्टको खानपिन खर्च मात्रै १ लाख ३८ हजार ९३९ रुपैयाँ पुगेको जाहेरीमा दाबी गरिएको छ।
यसैबीच खतिवडाविरुद्ध विगतमा पनि आर्थिक कारोबारसम्बन्धी विवाद रहेको दाबी गरिएको छ। केही स्रोतका अनुसार उनले तत्कालीन अर्थमन्त्री युवराज खतिवडाको नामसमेत प्रयोग गर्दै एक सहकारीबाट व्यक्तिगत प्रयोजनका लागि ५० लाख रुपैयाँ लिएको वा अर्थमन्त्रीसँग सम्बन्धित कामका लागि रकम जम्मा गर्न लगाएको विषयमा पनि विवाद रहेको बताइएको छ। उक्त रकम लामो समयदेखि फिर्ता नगरेको र रकम माग्दा उल्टै धम्की दिने गरेको आरोपसहित थप मुद्दा दायर गर्ने तयारी भइरहेको जानकारी प्राप्त भएको छ। यद्यपि, यस विषयमा सम्बन्धित पक्षको औपचारिक पुष्टि तथा स्वतन्त्र प्रमाण सार्वजनिक हुन बाँकी छ।
ठूला राजनीतिक तथा प्रशासनिक व्यक्तिसँग तस्बिर खिचाएर आफू उनीहरूको निकट व्यक्ति भएको देखाउँदै आर्थिक लाभ लिने गरेको आरोप खतिवडामाथि लागेको छ। पछिल्लो समय उनी राष्ट्रिय स्वतन्त्र पार्टीसँग निकट देखिएको बताइएको छ।
हाल ठगीसम्बन्धी जाहेरीका आधारमा खतिवडा काठमाडौं प्रहरी परिसरको हिरासतमा छन्। प्रहरीले मुलुकी अपराध संहिता, २०७४ को दफा २४९(१) अन्तर्गत ठगी तथा दफा २५३(१)(२) अन्तर्गत आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको जनाएको छ।
उता, सभामुख डा. डीपी अर्यालको सचिवालयले खतिवडालाई सभामुखले नचिन्ने स्पष्ट पार्दै आफ्नो नाम दुरुपयोग गरी कसैबाट रकम उठाइएको भए त्यस्तो कार्यमा संलग्न व्यक्तिमाथि कानुनी कारबाही हुनुपर्ने प्रतिक्रिया दिएको छ।

