Banijya News

एक वर्षमा बैंकिङ क्षेत्रको विदेशी सम्पत्ति ४६.८ प्रतिशतले बढ्यो

1
1.1K Shares

एक वर्षको अवधिमा नेपालको बैंकिङ क्षेत्रको विदेशी सम्पत्ति ४६.८ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म बैंकिङ क्षेत्रको कुल विदेशी सम्पत्ति ४१ खर्ब ४२ अर्ब ८५ करोड ५७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यस्तो सम्पत्ति २८ खर्ब २१ अर्ब ९५ करोड ९३ लाख रुपैयाँ थियो।

विदेशी सम्पत्तिमा सबैभन्दा ठूलो हिस्सा नेपाल राष्ट्र बैंकको रहेको छ। समीक्षा अवधिमा राष्ट्र बैंकको विदेशी सम्पत्ति ४५.३ प्रतिशतले बढेर ३७ खर्ब १८ अर्ब ३७ करोड ११ लाख रुपैयाँ पुगेको छ। यसमा सुन, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग सम्बन्धित सञ्चिति तथा विदेशी विनिमय सञ्चितिलगायत सम्पत्ति समावेश छन्।

राष्ट्र बैंकको सुन, विशेष आहरण अधिकार (एसडीआर) तथा आईएमएफसँगको सञ्चिति ६९.९ प्रतिशतले बढेर २ खर्ब ४५ अर्ब १८ करोड ५३ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, विदेशी विनिमय सञ्चिति ४३.८ प्रतिशतले बढेर ३४ खर्ब ७३ अर्ब १८ करोड ५८ लाख रुपैयाँ पुगेको छ।

बैंक तथा वित्तीय संस्थाको विदेशी सम्पत्ति भने ६१.४ प्रतिशतले बढेर ४ खर्ब २४ अर्ब ४८ करोड ४६ लाख रुपैयाँ पुगेको छ। यस्तो सम्पत्तिमध्ये सहज रूपमा विदेशी मुद्रामा रूपान्तरण गर्न सकिने सम्पत्ति ६६.६ प्रतिशतले बढेर ४ खर्ब ८ अर्ब ९३ करोड ७४ लाख रुपैयाँ पुगेको छ। सहज रूपमा रूपान्तरण गर्न कठिन विदेशी सम्पत्ति भने ११.९ प्रतिशतले घटेको छ।

यसैबीच, बैंकिङ क्षेत्रको कुल विदेशी विनिमय सञ्चिति ४५.६ प्रतिशतले बढेर ३८ खर्ब ९७ अर्ब ६७ करोड ४ लाख रुपैयाँ पुगेको छ। उक्त सञ्चितिले करिब २३ महिनाको वस्तु आयात तथा १९.६ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्ष यस्तो क्षमता क्रमशः १८.२ महिना र १५.४ महिना थियो।

विदेशी मुद्रा सञ्चिति बढे पनि यसको उपयोग उत्पादनशील क्षेत्रमा हुन नसकेको भन्दै विज्ञहरूले सरकार र निजी क्षेत्रलाई लगानी विस्तार गर्न सुझाव दिएका छन्। पूर्वकार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठका अनुसार पछिल्लो समय सञ्चिति वृद्धिको प्रमुख आधार विप्रेषण भएकाले मात्रै यसलाई ठूलो उपलब्धिका रूपमा लिन नहुने देखिन्छ।

यस अवधिमा बैंकिङ क्षेत्रको विदेशी दायित्व १२.६ प्रतिशतले बढेर १ खर्ब ७६ अर्ब ८७ करोड ८८ लाख रुपैयाँ पुगेको छ। विदेशी दायित्वको तुलनामा सम्पत्तिको वृद्धिदर उच्च हुँदा शुद्ध विदेशी सम्पत्ति भने ४८.८ प्रतिशतले बढेर ३९ खर्ब ६५ अर्ब ९७ करोड ६९ लाख रुपैयाँ पुगेको छ।

1

Scroll to Top