चर्चित वेब सिरिज ‘मिर्जापुर’मा आधारित फिल्म ‘मिर्जापुरः द मूभी’ले भारतीय बक्स अफिसमा शानदार प्रदर्शन गरिरहेको छ। ओटीटी प्लेटफर्ममा लामो समयदेखि लोकप्रिय रहेको ‘मिर्जापुर’लाई ठूलो पर्दामा उतारिएको यो फिल्मले दर्शकको उत्साहजनक प्रतिक्रिया पाउँदै बलियो व्यापार गरिरहेको हो।
भारतका अधिकांश स्थानमा फिल्मका शोहरू हाउसफुल भइरहेका छन्। टिकट बुकिङ प्लेटफर्ममा समेत फिल्मप्रति दर्शकको उच्च रुचि देखिएको छ। पंकज त्रिपाठी, अली फजल, दिव्येन्दु शर्मा, रवि किशन, जितेन्द्र कुमार र अभिषेक बनर्जीको अभिनय रहेको फिल्मले प्रदर्शनको पहिलो दिनदेखि नै राम्रो सुरुवात गरेको थियो।
फिल्मले पहिलो दिन २५ करोड ७५ लाख भारु नेट कलेक्सन गरेको थियो। पहिलो दिनको उत्साहजनक व्यापारपछि दोस्रो दिन फिल्मको कमाइमा उल्लेख्य वृद्धि भयो। शनिबार फिल्मले ३२ करोड भारु नेट कलेक्सन गरेको बताइएको छ।
आइतबार पनि फिल्मको व्यापारमा वृद्धि देखियो। तेस्रो दिन फिल्मले १२.५ प्रतिशतको वृद्धि गर्दै ३६ करोड भारु नेट कलेक्सन गरेको छ। यससँगै तीन दिनमा फिल्मको भारतमा कुल नेट कलेक्सन ९३ करोड ७५ लाख भारु पुगेको छ।
फिल्मले भारतमा मात्रै नभई अन्तर्राष्ट्रिय बजारमा पनि राम्रो प्रदर्शन गरिरहेको छ। तीन दिनमा यसको विश्वव्यापी ग्रस कलेक्सन १३२ करोड ३५ लाख भारु पुगेको बताइएको छ। सोमबारसम्म फिल्मले भारतमा १०० करोड भारुको नेट कलेक्सन पार गर्ने अपेक्षा गरिएको छ।
‘मिर्जापुरः द मूभी’को व्यापारले ओटीटीमा लोकप्रिय बनेका कथालाई ठूलो पर्दामा रूपान्तरण गर्ने प्रयोग सफल हुन सक्ने संकेत दिएको छ। यसअघि वेब सिरिजका दर्शक सीमित रहने अनुमान गरिए पनि लोकप्रिय पात्र र कथालाई फिल्मका रूपमा प्रस्तुत गर्दा सिनेमाघरमा पनि दर्शक आकर्षित गर्न सकिने देखिएको छ।

