सरकारले भदौ २३ गते मंगलबार देशभर सार्वजनिक बिदा घोषणा गरे पनि बैंक तथा वित्तीय संस्थाहरू भने खुला रहने भएका छन्। नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका सबै बैंक तथा वित्तीय संस्थालाई उक्त दिन अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न निर्देशन दिएको हो।
राष्ट्र बैंकअन्तर्गतको बैंक तथा वित्तीय संस्था नियमन विभागले आइतबार सूचना जारी गर्दै बाढीपहिरो प्रभावित क्षेत्रका नागरिकलाई राहत, उद्धार तथा आर्थिक सहायता वितरणमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले सेवा सञ्चालन गर्न आग्रह गरेको जनाएको छ।
गत भदौ १० गते रसुवा, नुवाकोटलगायत विभिन्न जिल्लामा आएको प्राकृतिक विपद्का कारण प्रभावित भएका नागरिकलाई राहत वितरण, खोज तथा उद्धार कार्य र आवश्यक आर्थिक कारोबार सहज बनाउन बैंकिङ सेवा निरन्तर सञ्चालन आवश्यक रहेको राष्ट्र बैंकको निष्कर्ष छ। सोही आधारमा सबै बैंक तथा वित्तीय संस्थालाई काउन्टर सेवा तथा अन्य अत्यावश्यक बैंकिङ गतिविधि नियमित रूपमा सञ्चालनमा राख्न परिपत्र गरिएको हो।
यसअघि मन्त्रिपरिषद्को भदौ १८ गते बसेको बैठकले जेन्जी सहिद दिवसको अवसरमा भदौ २३ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। तर विपद् प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका कार्य तीव्र रूपमा चलिरहेका बेला वित्तीय कारोबार प्रभावित हुन नदिन राष्ट्र बैंकले विशेष व्यवस्था गरेको हो।

