नेपाली भान्सामा दैनिक प्रयोग हुने प्याजको मूल्य पछिल्लो तीन सातामा अस्वाभाविक रूपमा बढेको छ। भारतबाट हुने आयातमा अत्यधिक निर्भर नेपाली बजारमा भारतीय बजारमै प्याज महँगिएपछि त्यसको प्रत्यक्ष असर यहाँ परेको हो। चाडपर्व नजिकिँदै गर्दा प्याजको मूल्य बढेपछि उपभोक्ताको भान्साको खर्चसमेत बढेको छ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार भदौ २२ गते भारतीय सुकेको प्याजको थोक मूल्य प्रतिकिलो अधिकतम ९८ रुपैयाँ पुगेको छ। न्यूनतम ९३ रुपैयाँ र औसत ९५ रुपैयाँ ३३ पैसा कायम भएको छ। साउन ३१ गते यसको औसत मूल्य ६२ रुपैयाँ १७ पैसा थियो। अर्थात् २२ दिनमै प्याजको औसत थोक मूल्य प्रतिकिलो ३३ रुपैयाँ १६ पैसा अर्थात् ५३.३४ प्रतिशतले बढेको हो।
थोक बजारमै प्याजको मूल्य १०० रुपैयाँको हाराहारीमा पुगेपछि काठमाडौं उपत्यकाका खुद्रा पसलमा उपभोक्ताले प्रतिकिलो ११० देखि १२० रुपैयाँसम्म तिर्नुपरेको छ।
नेपालमा प्याजको आन्तरिक उत्पादन अत्यन्त न्यून रहेकाले बजारको ९० प्रतिशतभन्दा बढी माग भारतबाट हुने आयातले धान्दै आएको छ। त्यसैले भारतमा उत्पादन, आपूर्ति वा मूल्यमा आउने परिवर्तनले नेपाली बजारलाई तत्काल प्रभावित गर्ने गरेको छ।
यसपटक भारतमा प्याज महँगिनुको प्रमुख कारण रबि बालीमा परेको बेमौसमी वर्षालाई मानिएको छ। कटनी तथा भण्डारणको समयमा भएको वर्षाका कारण महाराष्ट्रको नासिकलगायत प्रमुख उत्पादक क्षेत्रमा उत्पादन घट्नुका साथै भण्डारण गरिएको प्याजसमेत बिग्रिएको बताइएको छ। यसले बजारमा आपूर्ति घटाउँदा माग र आपूर्तिबीच असन्तुलन पैदा भएको हो।
भारतमा मूल्य नियन्त्रण गर्न सरकारले बफर स्टकबाट प्याज बजारमा पठाउन थालेको छ। सन् २०२६ का लागि सुरक्षित राखिएको १.२१ लाख टनमध्येबाट अगस्ट २८ देखि १७ प्रमुख सहरमा प्रतिकिलो ३५ रुपैयाँको सहुलियत दरमा बिक्री भइरहेको छ। राष्ट्रिय सहकारी उपभोक्ता महासंघ (NCCF) र NAFED मार्फत मोबाइल भ्यान तथा आउटलेटबाट उपभोक्तालाई प्याज उपलब्ध गराइएको छ।
त्यसैगरी महाराष्ट्रको नासिकलगायत उत्पादन क्षेत्रबाट दिल्ली, चेन्नईजस्ता ठूला बजारमा छिटो प्याज पुर्याउन भारतीय रेलवेले ‘काण्डा एक्सप्रेस’ विशेष मालवाहक रेल सञ्चालन गर्नुका साथै सयौँ ट्रक परिचालन गरेको छ। तर सरकारले पहिलो १० दिनमै करिब ४ हजार टन बफर प्याज बिक्री गरे पनि उच्च मागका कारण बजार मूल्यमा तत्काल ठूलो सुधार आउन सकेको छैन।


