बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले युनिलिभर नेपाल लिमिटेडले करिब ६ करोड रुपैयाँ बराबरको सहयोग उपलब्ध गराएको छ। कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ आर्थिक सहयोग गर्नुका साथै करिब १ करोड रुपैयाँ बराबरका अत्यावश्यक स्वास्थ्य तथा सरसफाइ सामग्रीसमेत प्रदान गरेको हो।
युनिलिभर नेपालले उपलब्ध गराएको ५ करोड रुपैयाँको चेक अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको छ। बाढी तथा त्यसबाट उत्पन्न विपद्का कारण प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन तथा पुनर्स्थापनाका काममा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार आर्थिक सहयोगबाहेक करिब २६ टन अत्यावश्यक स्वास्थ्य तथा सरसफाइ सामग्री पनि प्रभावित क्षेत्रमा उपलब्ध गराइएको छ। ती सामग्रीको अनुमानित मूल्य करिब १ करोड रुपैयाँ रहेको छ। यससँगै युनिलिभर नेपालको कुल सहयोग रकम करिब ६ करोड रुपैयाँ बराबर पुगेको कम्पनीले जनाएको छ।
बाढीपछि प्रभावित क्षेत्रमा प्रदूषण र विभिन्न किसिमका संक्रमणको जोखिम बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य तथा सरसफाइ सामग्री उपलब्ध गराइएको हो। विपद्का कारण खानेपानी, व्यक्तिगत सरसफाइ तथा वातावरणीय स्वच्छतामा समस्या आउन सक्ने भएकाले प्रभावित समुदायलाई आवश्यक सामग्री उपलब्ध गराएर जोखिम न्यूनीकरणमा योगदान पुर्याउने कम्पनीको उद्देश्य रहेको छ।
युनिलिभर नेपालले राहत सामग्रीअन्तर्गत व्यक्तिगत सरसफाइ तथा घरायसी सफाइमा प्रयोग हुने विभिन्न ब्रान्डका उत्पादन उपलब्ध गराएको जनाएको छ। कम्पनीले लाइफबोय, लक्स, सनसिल्क, क्लोजअप, भिम र रिनलगायतका सामग्री प्रभावित समुदायका लागि प्रदान गरेको हो।
बाढी तथा डुबानपछि फोहोर पानी र दूषित वातावरणका कारण सरुवा रोगको जोखिम बढ्न सक्ने भएकाले सरसफाइलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता हुन्छ। यस्तो अवस्थामा साबुन, सफाइ सामग्री तथा अन्य आवश्यक स्वास्थ्यसम्बन्धी वस्तुको उपलब्धताले प्रभावित परिवारलाई दैनिक जीवनमा केही सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ।
कम्पनीले विपद्को समयमा प्रभावित समुदायको तत्काल आवश्यकता सम्बोधन गर्न निजी क्षेत्रबाट पनि सहयोग आवश्यक रहेको जनाएको छ। राहतसँगै पुनर्स्थापनाका लागि आवश्यक पर्ने स्रोत परिचालनमा आफ्नो तर्फबाट योगदान गर्ने प्रतिबद्धता पनि कम्पनीले व्यक्त गरेको छ।


