महालक्ष्मी विकास बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त गुणस्तर व्यवस्थापन प्रणाली (Quality Management System) अन्तर्गतको प्रतिष्ठित ISO 9001:2015 प्रमाणपत्रबाट लगातार तेस्रो पटक पुनः प्रमाणित हुन सफल भएको छ। यस उपलब्धिसँगै बैंकले गुणस्तरीय सेवा, प्रभावकारी व्यवस्थापन प्रणाली तथा ग्राहक सन्तुष्टिप्रतिको आफ्नो प्रतिबद्धतालाई पुनः स्थापित गरेको छ।
बैंक पहिलो पटक मिति २०८१ साल श्रावण ३२ गते (सन् २०२४ अगस्ट १६) देखि लागू हुने गरी ISO 9001:2015 प्रमाणपत्रबाट प्रमाणित भएको थियो। त्यसपछि २०८२ साल भदौ महिनामा सम्पन्न पहिलो सर्भिलियन्स अडिट सफलतापूर्वक पार गर्दै बैंकले आफ्नो गुणस्तर व्यवस्थापन प्रणालीलाई थप सुदृढ बनाएको थियो। यसै क्रमलाई निरन्तरता दिँदै २०८३ साल श्रावण महिनामा सम्पन्न तेस्रो सर्भिलियन्स अडिटमा समेत बैंक सफल भएको छ। सो अडिटको आधारमा बैंकलाई २०८३ साल श्रावण ३२ गते (सन् २०२६ अगस्ट १६) देखि लागू हुने गरी पुनः प्रमाणित गरिएको हो।
बैंकले “Provision of Development Banking Activities” अन्तर्गत यो अन्तर्राष्ट्रिय प्रमाणपत्र प्राप्त गरेको हो। विकास बैंकहरूमध्ये यस्तो प्रमाणपत्र प्राप्त गर्ने अग्रणी संस्थाको रूपमा महालक्ष्मी विकास बैंकले आफ्नो पहिचान स्थापित गर्न सफल भएको छ।
ISO 9001:2015 जस्तो अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रमाणपत्र प्राप्त गर्न संस्थाले गुणस्तर व्यवस्थापनका सबै मापदण्डहरू प्रभावकारी रूपमा कार्यान्वयन गरेको हुनुपर्छ। ग्राहक सन्तुष्टि सुनिश्चित गर्ने, सेवा प्रवाहलाई निरन्तर सुधार गर्ने, पारदर्शी र व्यवस्थित कार्यप्रणाली अपनाउने तथा संस्थागत दक्षता कायम राख्ने संस्थाहरू मात्र यस्तो प्रमाणपत्रका लागि योग्य मानिन्छन्। प्रमाणिकरण प्रक्रियाका क्रममा बैंकका नीति, नियम, कार्यविधि, अभिलेखीकरण प्रणाली तथा समग्र व्यवस्थापन संरचनाको विस्तृत परीक्षण र अडिट गरिएको थियो।
महालक्ष्मी विकास बैंकले गुणस्तरीय तथा प्रविधिमैत्री बैंकिङ सेवा विस्तारमा समेत विशेष जोड दिँदै आएको छ। यसै क्रममा बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा अत्याधुनिक डिजिटल हब सञ्चालनमा ल्याएको छ, जहाँ ग्राहकहरूले डिजिटल बैंकिङ सेवासँगै कफी लाउञ्जको सुविधा पनि उपयोग गर्न सक्नेछन्। बैंकको यो पहलले आधुनिक बैंकिङ अनुभव प्रदान गर्दै ग्राहक सेवामा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।
लगातार तेस्रो पटक अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र प्राप्त गर्न सफल हुनु महालक्ष्मी विकास बैंकका लागि महत्वपूर्ण उपलब्धि मात्र नभई समग्र वित्तीय क्षेत्रका लागि पनि प्रेरणादायी उदाहरण बनेको छ।

