नेपाल एलपी ग्यास उद्योग संघले प्राकृतिक विपत्तिका कारण सडक तथा यातायात प्रभावित भए पनि मुलुकभर एलपी ग्यासको आपूर्ति र बिक्री–वितरणलाई निरन्तरता दिइरहेको जनाएको छ।
संघका अनुसार यसअघि भूकम्प, नाकाबन्दी तथा कोभिड–१९ महामारीजस्ता कठिन परिस्थितिमा समेत ग्यास उद्योगहरूले उपभोक्तालाई समस्या नपर्ने गरी आपूर्ति व्यवस्थापन गर्दै आएका छन्।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लामा ठूलो क्षति पुर्याएको थियो। त्यसपछि भदौ १४ गते त्रिशूली नदीले पृथ्वी राजमार्गको कृष्णभीर खण्ड कटान गरेपछि सडक अवरुद्ध भयो। सडक अवरुद्ध हुँदा ग्यास बोकेका बुलेट काठमाडौं उपत्यकासम्म आउन नसक्ने अवस्था सिर्जना भएको संघले जनाएको छ।
यस्तो परिस्थितिमा नेपाल आयल निगमको निर्देशनअनुसार वैकल्पिक आपूर्ति व्यवस्था मिलाइएको संघले जनाएको छ। काठमाडौं, काभ्रे र धादिङमा रहेका ग्यास उद्योगका सिलिन्डरहरू बारा, पर्सा, चितवन, धनुषा, नवलपरासीलगायत तराईका जिल्लामा रहेका उद्योगमा पठाई रिफिल गर्ने व्यवस्था गरिएको छ। रिफिल गरिएका सिलिन्डरलाई पुनः काठमाडौं उपत्यकामा ल्याएर बिक्री–वितरण भइरहेको संघको भनाइ छ।
संघका अनुसार काठमाडौं उपत्यकामा दैनिक करिब ४० हजार सिलिन्डर एलपी ग्यासको माग हुने गरेको छ। पछिल्लो तीन दिनदेखि तराई क्षेत्रका उद्योगमा सिलिन्डर रिफिल गरी उपत्यकामा आपूर्ति भइरहेको छ।
आगामी दिनमा पनि उपभोक्ताको माग र आवश्यकताअनुसार थप सिलिन्डर रिफिल गरी काठमाडौं उपत्यकामा आपूर्ति कायम राखिने संघले जनाएको छ।
संघले प्राकृतिक विपत्तिका कारण केही क्षेत्रमा असहज परिस्थिति सिर्जना भए पनि ग्यास आपूर्ति व्यवस्थालाई निरन्तरता दिन वैकल्पिक उपाय अपनाइएको स्पष्ट पारेको छ। साथै, विपत्तिको समयमा उपभोक्तालाई अनावश्यक रूपमा एलपी ग्यास सञ्चय नगर्न र आवश्यकताअनुसार मात्र खरिद गर्न आग्रह गरेको छ।

