Banijya News

बाढीपीडितलाई प्रभु बैंकका सञ्चालक र कर्मचारीद्वारा ४० लाख ८० हजार सहयोग

1
1.1K Shares

भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा घरबारविहीन बनेका परिवारहरूको राहत, उद्धार र पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले प्रभु बैंकका सञ्चालक तथा कर्मचारीहरूले स्वेच्छिक रूपमा संकलन गरेको ४० लाख ८० हजार ५० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेका छन्।

विपद्को यस कठिन परिस्थितिमा प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले संकलित उक्त रकमको चेक प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन शर्माले अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा माननीय अर्थमन्त्रीलाई हस्तान्तरण गरेका हुन्।

प्रभु बैंकले यसअघि पनि बाढी प्रभावित समुदायलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले नुवाकोट जिल्ला प्रशासन कार्यालयमार्फत १०० थान टेन्ट र १०० थान स्लिपिङ ब्याग वितरण गरेको थियो। बैंकले विपद्का कारण समस्यामा परेका परिवारहरूको आवश्यकता सम्बोधन गर्न निरन्तर सहयोग गर्दै आएको जनाएको छ।

यसका अतिरिक्त, संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत प्रभु बैंकले २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सहयोग रकमको चेकसमेत हस्तान्तरण गरेको छ। बैंकले प्राकृतिक विपद्का कारण प्रभावित नागरिकहरूको पुनःस्थापना तथा जीवनयापन सहज बनाउन विभिन्न माध्यमबाट सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रभु बैंकले बाढी तथा अन्य प्राकृतिक विपद्का कारण ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ। साथै, सम्पर्कविहीन नागरिकहरूको शीघ्र खोज तथा उद्धार, घाइतेहरूको स्वास्थ्य लाभ र प्रभावित समुदायको सुरक्षित पुनःस्थापनाको कामना गर्दै गहिरो समवेदना प्रकट गरेको छ।

1

Scroll to Top