Banijya News

मोदी र पेजेश्कियानबीच भेटवार्ता, भारत–इरान रणनीतिक सम्बन्ध विस्तारमा जोड

1
1.0K Shares

ब्रिक्स शिखर सम्मेलनको छेउमा द्विपक्षीय छलफल, अमेरिकी डलरको विकल्पका रूपमा ब्रिक्स बैंकलाई सशक्त बनाउन इरानी राष्ट्रपतिको प्रस्ताव काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित ब्रिक्स शिखर सम्मेलनको छेउमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र इरानी राष्ट्रपति डा. मसूद पेजेश्कियानबीच भेटवार्ता भएको छ । भेटका क्रममा दुई नेताले भारत–इरान सम्बन्ध, पारस्परिक सहयोग विस्तार तथा क्षेत्रीय अवस्थाबारे छलफल गरेका छन् ।

इरानी राष्ट्रपति पेजेश्कियानले दुई देशबीच पारस्परिक सहयोग विकास गर्नुपर्ने र रणनीतिक सम्झौताहरूलाई निरन्तरता दिनुपर्ने आवश्यकतामा जोड दिएका छन् । उनले भारतसँगको सम्बन्धलाई थप सुदृढ बनाउँदै आर्थिक तथा रणनीतिक क्षेत्रमा सहकार्य अघि बढाउने विषयमा चासो व्यक्त गरेका हुन् । भेटपछि भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत इरानी राष्ट्रपतिसँग भेट गर्न पाउँदा खुशी लागेको बताएका छन् । उनले पेजेश्कियानको भारत भ्रमणलाई विशेष अवसरका रूपमा उल्लेख गर्दै यो उनको पहिलो भारत भ्रमण भएको बताएका छन् ।

मोदीले भारत–इरान मित्रताका विषयमा छलफल भएको जानकारी दिँदै दुई देशले दीर्घकालीन तथा पारस्परिक रूपमा लाभदायक रणनीतिका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन् । उनले क्षेत्रको वर्तमान अवस्थाबारे समेत विचार आदानप्रदान भएको र भारत दिगो शान्तिका लागि प्रयासरत रहेको उल्लेख गरेका छन् ।

ब्रिक्स बैंकलाई बलियो बनाउन इरानी प्रस्ताव

यसैबीच, ब्रिक्स व्यापार मञ्चमा सम्बोधन गर्दै इरानी राष्ट्रपति पेजेश्कियानले सदस्य राष्ट्रहरूबीच बैंकिङ तथा मौद्रिक क्षेत्रमा थप घनिष्ठ सहयोग आवश्यक रहेको बताएका छन् । उनले ब्रिक्स बैंकलाई सदस्य राष्ट्रहरूको आर्थिक सहकार्यको महत्वपूर्ण आधारका रूपमा विकास गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । अमेरिकी प्रतिबन्धका कारण विश्वका विभिन्न देशको वैध व्यापार प्रभावित भइरहेको सन्दर्भ उल्लेख गर्दै पेजेश्कियानले वर्तमान विश्वव्यापी वित्तीय प्रणाली कमजोर रहेको तर्क गरेका छन् । उनका अनुसार अन्तर्राष्ट्रिय वित्तीय प्रणाली केही सीमित मुद्रामा अत्यधिक निर्भर हुँदा आर्थिक असन्तुलन तथा दबाब सिर्जना हुने गरेको छ ।

इरानी राष्ट्रपतिले ब्रिक्स बैंकलाई सदस्य राष्ट्रका लागि प्रमुख मुद्रा आधारका रूपमा विकास गर्न सकिने बताएका छन् । उनले अन्तर्राष्ट्रिय कारोबारमा वैकल्पिक वित्तीय संरचना निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउँदै ब्रिक्स सदस्यहरूबीच आर्थिक सहकार्य विस्तारमा जोड दिएका हुन् । पेजेश्कियानले इरान खुला र निष्पक्ष अर्थतन्त्र निर्माणका लागि ब्रिक्स सदस्य राष्ट्रहरूसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । इरानको भौगोलिक अवस्थिति तथा ऊर्जा स्रोतका कारण ब्रिक्सको आर्थिक प्रणालीमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने उनको भनाइ छ ।

अमेरिकी डलरको विकल्प खोज्दै इरान

अमेरिकी प्रतिबन्धको विस्तार र आर्थिक दबाब बढिरहेका बेला इरानी अधिकारीहरूले चीन र रूसजस्ता प्रमुख देशसँग सम्बन्ध विस्तार गर्दै अमेरिकी डलरमा आधारित वित्तीय प्रणालीबाट निर्भरता घटाउने प्रयास गरिरहेका छन् । इरानी राष्ट्रपतिले ब्रिक्सले कुनै पनि देशले वित्तीय उपकरण वा प्रविधिमा एकाधिकार कायम गरी अन्य देशको वैध व्यापारमा अवरोध सिर्जना गर्न नसक्ने वातावरण बनाउनुपर्ने बताएका छन् । उनले अन्तर्राष्ट्रिय व्यापारमा समान अवसर, निष्पक्षता तथा आर्थिक स्वतन्त्रताको पक्षमा आवाज उठाएका हुन् ।

भारत र इरानबीचको पछिल्लो भेटवार्ताले दुई देशबीचको कूटनीतिक तथा आर्थिक सम्बन्धलाई थप गति दिने अपेक्षा गरिएको छ । ऊर्जा, व्यापार तथा क्षेत्रीय सहकार्यका विषयमा दुवै देशले आगामी दिनमा थप संवाद अघि बढाउन सक्ने देखिएको छ । ब्रिक्समार्फत वैकल्पिक वित्तीय संरचना निर्माण गर्ने इरानको प्रस्तावले विश्व अर्थतन्त्रमा अमेरिकी डलरको प्रभुत्व, प्रतिबन्धको प्रभाव तथा बहुपक्षीय आर्थिक सहकार्यबारे बहसलाई समेत नयाँ दिशा दिएको छ ।

1

Scroll to Top