हिन्दू धर्मावलम्बी नेपाली महिलाहरूको प्रमुख पर्व हरितालिका तीज आज भाद्र शुक्ल तृतीयाका दिन महादेवको पूजा आराधना, उपासना तथा व्रत बसेर मनाइँदै छ। विवाहित तथा अविवाहित महिलाहरूले शिव–पार्वतीको पूजा गरी पारिवारिक सुख, शान्ति, समृद्धि तथा कल्याणको कामना गर्ने धार्मिक परम्परा रहेको छ। भाद्र शुक्ल तृतीयाका दिन व्रत बसी भगवान् शिव र माता पार्वतीको पूजा तथा उपासना गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ। विशेषगरी विवाहित महिलाले श्रीमान्को दीर्घायु, सुख–समृद्धि तथा पारिवारिक शान्तिको कामना गर्दै तीजको व्रत बस्ने प्रचलन छ। अविवाहित महिलाले योग्य वर प्राप्तिको कामना गर्दै व्रत बस्ने धार्मिक मान्यता पनि रहिआएको छ।
पार्वतीको तपस्यासँग जोडिएको पौराणिक कथा
हरितालिका तीज पर्वको सुरुआत सत्ययुगमा हिमालय पुत्री पार्वतीले गरेको तपस्यासँग जोडिएको पौराणिक मान्यता छ। धार्मिक विश्वासअनुसार पार्वतीले महादेवलाई पति रूपमा प्राप्त गर्न गौरीघाटमा बसेर कठोर तपस्या गरेकी थिइन्। उनको तपस्याबाट प्रसन्न भएर महादेवले उनलाई पति रूपमा प्राप्त हुने वरदान दिएको विश्वास गरिन्छ। तर, पार्वतीका पिता हिमालयले उनको इच्छाविपरीत भगवान् विष्णुसँग विवाह गरिदिन खोजेपछि पार्वती समस्यामा परेकी थिइन्। आफूले महादेवलाई पति रूपमा रोजेको भए पनि पिताले अर्कैसँग विवाह गराउन खोजेपछि उनले आफ्ना साथीहरूलाई आफ्नो समस्या सुनाइन्।
पार्वतीको अवस्था बुझेपछि उनका साथीहरूले उनलाई हरण गरेर कसैले नदेख्ने स्थानमा लुकाएर राखिदिए। साथीहरूले लुकाएको त्यही स्थानमा पार्वतीले निराहार व्रत बसी महादेवको पूजा तथा आराधना गरिन्। उनको कठोर तपस्या र भक्तिबाट प्रसन्न भएका महादेवले उनलाई पत्नीका रूपमा स्वीकार गरेको पौराणिक कथन छ। यसरी पार्वतीलाई साथीहरूले हरण गरी लुकाएको दिन भाद्र शुक्ल तृतीया भएकाले त्यही दिनदेखि हरितालिका तीजको व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत छ।
‘हरितालिका’ शब्दको अर्थ
संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुई शब्द मिलेर ‘हरितालिका’ शब्द बनेको हो। धर्मशास्त्रीय व्याख्याअनुसार ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ। पार्वतीलाई उनका साथीहरूले हरण गरी सुरक्षित स्थानमा लुकाएको पौराणिक घटनासँग जोडेर यस पर्वको नाम हरितालिका तीज राखिएको मानिन्छ।
व्रतका तीन प्रकार
सत्ययुगमा पार्वतीले आजकै दिन निराहार व्रत बसेर महादेवलाई पति रूपमा प्राप्त गरेकाले आजको दिन व्रत बस्दा मनोकामना पूरा हुने धार्मिक विश्वास छ। यद्यपि सबै महिलाले अनिवार्य रूपमा निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद्हरूको भनाइ छ। धर्मशास्त्रमा व्रतका तीन प्रकार उल्लेख गरिएको छ। निराहार, जलाहार र फलाहार गरी व्रतलाई तीन किसिममा विभाजन गरिएको पाइन्छ। निराहार व्रतमा अन्न तथा पानीसमेत ग्रहण नगरी उपवास बसिन्छ। जलाहार व्रतमा पानी मात्र सेवन गरिन्छ भने फलाहार व्रतमा फलफूल तथा आवश्यक हल्का आहार ग्रहण गरिन्छ। धर्मशास्त्रविद्हरूका अनुसार शारीरिक क्षमता र स्वास्थ्य अवस्था हेरेर व्रत बस्नु उपयुक्त हुन्छ। सक्नेले निराहार, नसक्नेले जलाहार तथा जलाहार पनि नसक्नेले फलाहार व्रत बस्नु उत्तम मानिन्छ। यस पर्वले धार्मिक आस्था, पारिवारिक एकता, आपसी प्रेम तथा सामाजिक सद्भावलाई बलियो बनाउने विश्वास गरिन्छ।


