प्रधानमन्त्री बालेन्द्र शाहले बालबालिकाको अधिकार, सुरक्षा र समग्र विकास सुनिश्चित गर्न सके मात्रै मुलुकको समृद्ध र सुखद भविष्य निर्माण गर्न सकिने बताएका छन्। राष्ट्रिय बाल दिवस २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले बालबालिकामा गरिने लगानीलाई राष्ट्रको भविष्य निर्माणका लागि गरिएको महत्वपूर्ण लगानीका रूपमा व्याख्या गरेका हुन्।
‘बालपनको रक्षा : भविष्यको सुरक्षा’ भन्ने नारासहित मनाउन लागिएको राष्ट्रिय बाल दिवसका अवसरमा प्रधानमन्त्री शाहले नेपाल तथा विदेशमा रहेका सम्पूर्ण नेपाली बालबालिकाको सुख, सुस्वास्थ्य, सुरक्षित बालपन र उज्ज्वल भविष्यको कामना गरेका छन्। उनले बालबालिकाको जीवनमा सकारात्मक परिवर्तन ल्याउन निरन्तर क्रियाशील सबै पक्षप्रति सम्मानसमेत व्यक्त गरेका छन्।
प्रधानमन्त्रीले बालअधिकारको सम्मान, संरक्षण र प्रवर्द्धनमा भूमिका निर्वाह गर्दै आएका अभिभावक, शिक्षक, जनप्रतिनिधि, राष्ट्रसेवक, नागरिक समाज, विकास साझेदार, सञ्चार क्षेत्र तथा अन्य सरोकारवालाको योगदान महत्वपूर्ण रहेको उल्लेख गरेका छन्। बालबालिकालाई सुरक्षित, शिक्षित, स्वस्थ र अधिकारसम्पन्न बनाउन राज्यका सबै तह तथा समाजका विभिन्न पक्षबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ।
नेपालले बालअधिकारको संरक्षणप्रति अन्तर्राष्ट्रिय प्रतिबद्धता समेत जनाइसकेको प्रधानमन्त्रीले स्मरण गराएका छन्। नेपालले संयुक्त राष्ट्रसङ्घीय बालअधिकारसम्बन्धी महासन्धि (सीआरसी), १९८९ लाई सन् १९९० मा अनुमोदन गरेको थियो। यसैगरी नेपालको संविधानको धारा ३९ ले बालबालिकाका मौलिक हक सुनिश्चित गरेको छ। राष्ट्रिय बालबालिका नीति, २०८० तथा बालबालिका सम्बन्धी ऐन, २०७५ ले समेत बालबालिकाका अधिकारलाई कानुनी संरक्षण प्रदान गरेका छन्।
तर कानुन र नीतिमा अधिकार सुनिश्चित हुँदैमा मात्र उद्देश्य पूरा नहुने प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ। अबको प्रमुख चुनौती ती अधिकारलाई प्रत्येक बालबालिकाले आफ्नो दैनिक जीवनमा व्यवहारमै अनुभूति गर्ने अवस्था सिर्जना गर्नु रहेको उनले बताएका छन्।
यसका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच स्पष्ट जिम्मेवारीसहित प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको प्रधानमन्त्री शाहले जोड दिएका छन्। उनका अनुसार सङ्घीय सरकारले राष्ट्रिय नीति, कानुनी तथा संस्थागत संरचना बलियो बनाउनुपर्नेछ भने प्रदेश सरकारले समन्वय र सेवा विस्तारमा प्रभावकारी भूमिका खेल्नुपर्छ।
स्थानीय तहलाई भने बालबालिकासँग सबैभन्दा नजिकको सरकारका रूपमा जोखिममा रहेका बालबालिकाको पहिचान, संरक्षण, आवश्यक सेवा तथा बालमैत्री वातावरण निर्माणमा अग्रणी भूमिका निर्वाह गर्न प्रधानमन्त्रीले आग्रह गरेका छन्।

