अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेर आए पनि नेपाल आयल निगमले स्वदेशी बजारमा पेट्रोल, डिजेल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्य यथावत राख्ने निर्णय गरेको छ । भोटेकोशी नदीमा आएको असाधारण बाढीका कारण मुलुकमा उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै निगमले उपभोक्तामाथि थप मूल्यवृद्धिको भार नथोपर्ने नीति लिएको हो ।
निगम सञ्चालक समितिको भदौ ३० गते बसेको बैठकले भदौ ३१ गते बिहान १ बजेदेखि लागू हुने गरी साबिककै बिक्री मूल्य कायम राख्ने निर्णय गरेको हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दै गए पनि स्वदेशी बजारमा समायोजन नगर्दा निगमको आर्थिक दायित्व भने थपिने भएको छ । निगमका अनुसार हालको बिक्री मूल्य कायम राख्दा १५ दिनमा करिब १ अर्ब ९१ करोड ६९ लाख रुपैयाँ घाटा हुने स्थिति सिर्जना भएको छ ।
पेट्रोलमा १२ रुपैयाँ ४० पैसा र डिजेलमा ४ रुपैयाँ ६८ पैसा वृद्धि
इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट भदौ ३० गते प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १२ रुपैयाँ ४० पैसा तथा डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ ६८ पैसा बढेर आएको निगमले जनाएको छ । नेपालले पेट्रोलियम पदार्थको ठूलो हिस्सा भारतबाट आयात गर्ने भएकाले आईओसीबाट प्राप्त खरिद मूल्यले स्वदेशी बजारको मूल्य निर्धारणमा प्रत्यक्ष प्रभाव पार्ने गर्छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य, आपूर्ति अवस्था र क्षेत्रीय द्वन्द्वका कारण पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव भइरहँदा त्यसको असर नेपालको आयात लागतमा पनि परेको निगमको भनाइ छ ।
स्वचालित मूल्य प्रणालीमा समायोजन हुनुपर्ने अवस्था
निगमले पेट्रोलियम पदार्थको मूल्य निर्धारणका लागि स्वचालित मूल्य प्रणाली अवलम्बन गर्दै आएको छ । उक्त प्रणालीअनुसार आईओसीबाट प्राप्त खरिद मूल्यका आधारमा स्वदेशी बजारमा बिक्री मूल्य समायोजन गर्नुपर्ने अवस्था देखिएको थियो ।
तर, भोटेकोशी बाढीबाट सिर्जित विपत्तिका कारण सर्वसाधारणको जनजीवन प्रभावित भइरहेको अवस्थामा पेट्रोलियम पदार्थको मूल्य बढाउँदा थप आर्थिक भार पर्ने निगमले आकलन गरेको छ । यही कारण तत्काल मूल्य नबढाई उपभोक्तालाई राहत दिने निर्णय गरिएको हो । यद्यपि, मूल्य यथावत राख्ने निर्णयले उपभोक्तालाई तत्काल राहत दिए पनि निगमको वित्तीय अवस्थामा भने दबाब बढ्ने देखिएको छ । खरिद लागत बढ्दा बिक्रीबाट प्राप्त आम्दानी र खर्चबीचको अन्तर फराकिलो हुने भएकाले निगमको घाटा बढ्ने अवस्था बनेको हो ।
कुन क्षेत्रमा कति छ मूल्य ?
निगमले कायम राखेको मूल्यअनुसार तेस्रो वर्गका क्षेत्रअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल तथा डिजेल÷मट्टीतेलको मूल्य प्रतिलिटर २०० रुपैयाँ रहेको छ । त्यस्तै, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोल तथा डिजेल÷मट्टीतेलको मूल्य प्रतिलिटर १९९ रुपैयाँ कायम गरिएको छ । पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा मूल्य निर्धारण गरिएको छ । यसैगरी, आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर २४९ रुपैयाँ कायम छ । अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १ हजार ६९७ अमेरिकी डलर तोकिएको छ ।
एलपी ग्यासको मूल्य पनि यथावत
खाना पकाउने एलपी ग्यासको मूल्यमा पनि कुनै परिवर्तन गरिएको छैन । निगमले १४.२ किलोको प्रतिसिलिन्डर ग्यासको मूल्य २ हजार ६० रुपैयाँ कायम राखेको छ । पेट्रोलियम पदार्थको मूल्य स्थिर राख्ने निर्णयले बाढी तथा विपत्तिबाट प्रभावित नागरिकलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ । तर, अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि जारी रहेमा निगमको घाटा थप बढ्न सक्ने चुनौती कायमै छ । यस्तो अवस्थामा उपभोक्तालाई राहत दिने नीति र निगमको वित्तीय स्थायित्वबीच सन्तुलन कायम गर्नु सरकार तथा निगमका लागि महत्वपूर्ण विषय बनेको छ ।
निगमले अन्तर्राष्ट्रिय बजारको मूल्य अवस्था, आयात लागत र मुलुकको समग्र परिस्थितिको समीक्षा गर्दै आगामी दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने अवस्था आउन सक्ने संकेत गरेको छ ।


