Banijya News

सङ्घीय संसद्का दुवै सदन बस्दै, विभिन्न विधेयक र प्रतिवेदनमाथि छलफल हुने

1
1.1K Shares

सङ्घीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्ने भएको छ। संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार दुवै सदनमा विभिन्न विधेयक, समितिका प्रतिवेदन तथा मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुने भएको हो।

प्रतिनिधिसभाको बैठक सिंहदरबारस्थित संघीय संसद् भवनमा अपराह्न १ बजे बस्ने तय भएको छ। बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले विधेयकसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

मन्त्री वादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सदनसमक्ष प्रस्तुत गर्नेछिन्। उक्त प्रस्तावमाथि सांसदहरूले छलफल गर्ने सम्भावना छ।

यसैगरी, राष्ट्रियसभाको बैठक पनि आजै अपराह्न १ः१५ बजे बस्ने भएको छ। राष्ट्रियसभाको बैठकमा पूर्वाधार विकास मन्त्रालय तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर सम्बन्धित मन्त्रीहरूले दिने कार्यसूची छ।

सांसदहरूले उठाएका प्रश्नमाथि सम्बन्धित मन्त्रीहरूले जवाफ दिने र मन्त्रालयका कामकारबाही तथा समसामयिक विषयमा जानकारी गराउने कार्यक्रम रहेको छ।

राष्ट्रियसभाको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले समितिको प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूचीसमेत रहेको छ। उनले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ सम्बन्धी समितिको प्रतिवेदन’ सभासमक्ष प्रस्तुत गर्नेछन्।

त्यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले विशेष प्रस्ताव प्रस्तुत गर्ने भएका छन्। उनले ‘मधेस प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८३ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव राख्ने कार्यसूची छ।

दुवै सदनका बैठकमा प्रस्तुत हुने प्रस्ताव र प्रतिवेदनमाथिको छलफलले आगामी संसदीय कामकारबाही अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

1

Scroll to Top