Banijya News

असोजमा पनि घट्यो निक्षेपको ब्याजदर, अधिकांश बैंकले कायम राखे पुरानै दर

1
1.1K Shares

नेपालका वाणिज्य बैंकहरूले असोज २०८३ का लागि लागू हुने नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बैंकिङ प्रणालीमा लगानीयोग्य रकम पर्याप्त मात्रामा उपलब्ध भए पनि कर्जाको माग अपेक्षित रूपमा बढ्न नसकेको प्रभाव निक्षेपको ब्याजदरमा देखिएको छ। यही कारण अधिकांश बैंकहरूले ब्याजदर घटाउने वा यथावत राख्ने नीति अवलम्बन गरेका छन्।

सार्वजनिक विवरणअनुसार, २० वटा वाणिज्य बैंकहरूको व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याजदर भदौ महिनाको ४.१३६ प्रतिशतबाट घटेर ४.०८९५ प्रतिशतमा पुगेको छ। यो ०.०४६५ प्रतिशतविन्दुको कमी हो। त्यस्तै संस्थागत निक्षेपतर्फको औसत ब्याजदर पनि ३.०८१ प्रतिशतबाट घटेर ३.०६६५ प्रतिशत कायम भएको छ, जुन ०.०१४५ प्रतिशतविन्दुले कम हो।

यस महिनामा ब्याजदर घटाउने बैंकहरूमध्ये एभरेष्ट बैंक अग्रस्थानमा देखिएको छ। बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ०.५५ प्रतिशतविन्दुले घटाएर ३.५ प्रतिशतमा सीमित गरेको छ। संस्थागत निक्षेपमा पनि ०.२५ प्रतिशतविन्दुको कटौती गर्दै ३.२५ प्रतिशत निर्धारण गरेको छ। यो असोजका लागि सबैभन्दा ठूलो ब्याजदर कटौती मानिएको छ।

नबिल बैंकले पनि व्यक्तिगत निक्षेपमा उल्लेखनीय कटौती गरेको छ। बैंकले अघिल्लो महिनाको तुलनामा ०.३ प्रतिशतविन्दु घटाएर व्यक्तिगत निक्षेपको ब्याजदर ४.२५ प्रतिशत कायम गरेको छ। यद्यपि संस्थागत निक्षेपतर्फ भने बैंकले ३.०१ प्रतिशतको पुरानै दरलाई निरन्तरता दिएको छ।

यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ०.०५ प्रतिशतविन्दुले घटाएर ३.७५ प्रतिशत कायम गरेको छ भने कुमारी बैंकले ०.०३ प्रतिशतविन्दुको कटौतीसहित ३.७३ प्रतिशत निर्धारण गरेको छ। सिटिजन्स बैंकले संस्थागत निक्षेपतर्फको ब्याजदर ०.२५ प्रतिशतविन्दुले घटाउँदै २.७५ प्रतिशतमा झारेको छ।

अर्कोतर्फ, सानिमा बैंक यस महिनामा संस्थागत निक्षेपको ब्याजदर बढाउने एकमात्र बैंक बनेको छ। बैंकले संस्थागत निक्षेपको ब्याजदर ०.२१ प्रतिशतविन्दुले वृद्धि गर्दै ३.५१ प्रतिशत पुर्‍याएको छ। व्यक्तिगत निक्षेपतर्फ भने ४.५ प्रतिशतको दरलाई यथावत राखिएको छ।

बैंकहरूमध्ये प्रभु बैंकले व्यक्तिगत निक्षेपमा सबैभन्दा उच्च ४.५५ प्रतिशत ब्याजदर प्रस्ताव गर्दै शीर्ष स्थान सुरक्षित गरेको छ। यसले बचतकर्तालाई तुलनात्मक रूपमा बढी प्रतिफल उपलब्ध गराउने देखिन्छ।

त्यसैगरी, माछापुच्छ्रे बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनएमबी बैंक, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंकलगायत अधिकांश बैंकहरूले असोज महिनाका लागि ब्याजदरमा कुनै फेरबदल नगरी भदौ महिनाकै दरलाई निरन्तरता दिएका छन्। कुल १५ वटा बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर स्थिर राखेका छन्।

 कुन बैंकको ब्याजदर व्यक्तिगत मुद्दतीमा कति  ?

बैंक भदौको ब्याजदर % असोजको ब्याजदर %
नेपाल  बैंक लि ४.१५ ४.१५
राष्ट्रिय वाणिज्य बैंक लि ४.०० ४.००
एभरेस्ट बैंक लि ४.०५ ३.५०
ग्लोबल आईएमई बैंक लि ४.०० ४.००
हिमालयन बैंक लि ४.०० ४.००
इन्भेस्टमेन्ट मेगा बैंक लि ४.५० ४.५०
कुमारी बैंक लि ३.७६ ३.७३
लक्ष्मी सनराइज बैंक लि ४.०० ४.००
माछापुच्छ्रे बैंक लि ४.५० ४.५०
नबिल बैंक लि ४.५५ ४.२५
सिटिजन्स ३.८५ ३.८५
प्राइम कमर्सियल बैंक लि ४.०० ४.००
एनआईसी एसिया बैंक लि ४.०० ४.००
एनएमबी बैंक लि ४.५० ४.५०
कृषि विकास बैंक लि ४.१५ ४.१५
प्रभु बैंक लि ४.५५ ४.५५
नेपाल एसबीआई बैंक लि ४.१० ४.१०
सानिमा बैंक लि ४.५० ४.५०
सिद्धार्थ बैंक लि ३.७६ ३.७६
स्ट्यान्डर्ड चार्टर्ड बैंक लि ३.८० ३.७५
1

Scroll to Top