Banijya News

भारत भ्रमणमा अर्थमन्त्री वाग्ले : त्यहाँ रहँदा के–के गर्नेछन् ?

1
1.0K Shares

नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार बिहान भारत प्रस्थान गरेका छन्। भारत सरकारको निमन्त्रणामा उनी बिहान ७:३५ बजे काठमाडौँबाट नयाँदिल्लीतर्फ प्रस्थान गरेका हुन्। नेपाल–भारत सम्बन्धका आर्थिक, कूटनीतिक तथा विकाससम्बन्धी विषयमा उच्चस्तरीय संवाद गर्ने उद्देश्यले आयोजना गरिएको यस भ्रमणलाई महत्वपूर्ण मानिएको छ।

भ्रमणका क्रममा विशेषगरी विपद्पछिको पुनर्निर्माण, द्विपक्षीय आर्थिक सहकार्य, लगानी प्रवर्द्धन तथा क्षेत्रीय विकासका विषयमा छलफल हुने जनाइएको छ। भारतमा रहँदा अर्थमन्त्री वाग्लेले विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिसँग भेटवार्ता गर्दै नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने प्रयास गर्नेछन्।

भ्रमणको पहिलो दिन बिहीबार साँझ ५ बजे उनले भारतकी अर्थमन्त्री निर्मला सीतारमणसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। उक्त भेटमा दुई देशबीचको आर्थिक साझेदारी, व्यापारिक सहकार्य तथा विकास परियोजनामा सम्भावित सहयोगबारे विचार आदानप्रदान हुने अपेक्षा गरिएको छ।

शुक्रबार बिहान ९ बजे भारतका पूर्वविदेश सचिव श्याम शरणद्वारा आयोजित उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा अर्थमन्त्री वाग्ले प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। सोही दिन साँझ ५ बजे उनले भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको छ। उक्त भेटमा नेपाल–भारत सम्बन्धका समसामयिक राजनीतिक, आर्थिक तथा क्षेत्रीय मुद्दाहरूमा छलफल हुने विश्वास गरिएको छ।

यस्तै, शुक्रबार साँझ ७:३० बजे भारत व्यापार संवर्धन सङ्गठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने विशेष अन्तरक्रिया कार्यक्रममा उनी सहभागी हुनेछन्। कार्यक्रममा विभिन्न क्षेत्रका नीति निर्माता, व्यवसायी तथा विज्ञहरूसँग विचार आदानप्रदान गर्ने अवसर रहनेछ।

शनिबार बिहान ९:३० बजे भारतीय उद्योग परिसंघद्वारा आयोजित प्रतिष्ठित औद्योगिक घरानाहरूसँगको सम्मेलनमा अर्थमन्त्री वाग्ले प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन्। सम्मेलनमा नेपालमा लगानीका सम्भावना, आर्थिक सुधार तथा निजी क्षेत्रसँगको सहकार्यबारे आफ्नो धारणा प्रस्तुत गर्ने कार्यक्रम छ।

त्यसपछि बिहान ११:३० बजे दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिसम्बन्धी प्राज्ञिक छलफलमा उनी प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। भ्रमण सम्पन्न गरी अर्थमन्त्री वाग्ले शनिबार साँझ ४ बजे नेपाल फर्किने कार्यक्रम रहेको छ।

भ्रमण टोलीमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी, नेपाली राजदूतावास नयाँदिल्लीका उपनियोग प्रमुख डा. सुरेन्द्र थापा, इकोनोमिक्स मिनिस्टर तारानाथ अधिकारी तथा अर्थमन्त्रीका निजी उपसचिव कञ्चन बस्नेत सहभागी रहेका छन्।

1

Scroll to Top