काठमाडौंको भृकुटीमण्डपमा आजदेखि ‘नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी–२०८३’ सुरु हुँदैछ। चार दिनसम्म सञ्चालन हुने प्रदर्शनीको उद्घाटन बिहीबार बिहान १०ः३० बजे सभामुखले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।
नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीका अवसरमा चेम्बरसँगको सहकार्यमा नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघले संयुक्त रूपमा प्रदर्शनी आयोजना गरेका हुन्। आयोजकका अनुसार प्रदर्शनीका लागि एक सयभन्दा बढी स्टल बुकिङ भइसकेका छन् भने स्टल निर्माणको कामसमेत सम्पन्न भएको छ।
प्रदर्शनीमा अपार्टमेन्ट तथा संयुक्त आवास, जग्गा विकास आयोजना, निर्माण सामग्री, सिमेन्ट, स्टिल, काठ, ग्लास, पेन्ट्स, सेनिटरी, पाइप तथा फिटिङ्स, विद्युतीय उपकरण, इन्टेरियर डिजाइन र सौर्य ऊर्जासहित निर्माण क्षेत्रसँग सम्बन्धित विभिन्न कम्पनी तथा व्यवसायी सहभागी हुनेछन्। भारतका विभिन्न कम्पनी तथा व्यवसायीको समेत सहभागिता रहने आयोजकले जनाएको छ।
घरजग्गा खरिद–बिक्रीमा मात्र सीमित नराखी प्रदर्शनीलाई सुरक्षित, व्यवस्थित तथा वातावरणमैत्री आवास निर्माणसम्बन्धी जानकारी र परामर्शको केन्द्रका रूपमा विकास गर्ने तयारी गरिएको छ। भूकम्प प्रतिरोधी घर निर्माण तथा वास्तुकलासम्बन्धी विज्ञले अवलोकनकर्तालाई निःशुल्क परामर्श दिनेछन्।
प्रदर्शनीमा जलवायु परिवर्तन, विपद् प्रतिरोधी पूर्वाधार, सुरक्षित बस्ती पुनर्निर्माण तथा सार्वजनिक–निजी साझेदारीका विषयमा प्यानल छलफलसमेत आयोजना हुनेछ। नीति निर्माता, सरकारी अधिकारी, इन्जिनियर, आर्किटेक्ट तथा निजी क्षेत्रका प्रतिनिधिले समसामयिक आवास र पूर्वाधारका विषयमा छलफल गर्नेछन्।
सौर्य ऊर्जा, वर्षाको पानी संकलन तथा पुनःप्रयोग, ऊर्जा बचत, फोहोर व्यवस्थापन र स्मार्ट प्रविधिजस्ता वातावरणमैत्री समाधान पनि प्रदर्शनीका आकर्षण रहनेछन्। डिजिटल डिस्प्ले, विद्युतीय कियोस्क तथा भर्चुअल र अग्मेन्टेड रियालिटी प्रविधिको प्रयोगमार्फत प्रदर्शनीलाई आधुनिक र कागजरहित बनाउने प्रयास गरिएको छ।
यसैगरी, निःशुल्क स्वास्थ्य शिविर, रक्तदान तथा अन्य सामाजिक कार्यक्रम पनि आयोजना गरिनेछ। आयोजकले चार दिनमा ६५ हजारभन्दा बढी अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरेको छ। ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने नारासहित आयोजना गरिएको प्रदर्शनीमा आवास, निर्माण प्रविधि, सामग्री, वित्तीय सेवा र बीमासम्बन्धी जानकारी एउटै स्थलमा उपलब्ध हुनेछ।

