गत वर्षको जेनजी आन्दोलनका क्रममा आगजनीको शिकार बनेको भाटभटेनी सुपरमार्केटको टंगाल स्टोर पुनः सञ्चालनमा आउने भएको छ। लामो पुनःनिर्माण र व्यवस्थापनको प्रयासपछि कम्पनीले सोमबार बिहान १० बजेदेखि स्टोरलाई ग्राहकका लागि औपचारिक रूपमा खुला गर्ने घोषणा गरेको छ।
भाटभटेनी सुपरमार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार टंगाल स्टोर पुनः सञ्चालनमा आउनु केवल एउटा व्यावसायिक गतिविधिको पुनरागमन मात्र नभई चुनौतीमाथिको विजयको प्रतीक पनि हो। आगजनीबाट क्षतिग्रस्त संरचनालाई आधुनिक सुविधा र सुधारिएको व्यवस्थासहित पुनः सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।
जेनजी आन्दोलनका क्रममा देशका विभिन्न स्थानमा रहेका भाटभटेनीका १२ वटा स्टोरमा आगजनी र तोडफोड भएको थियो। ती घटनाले कम्पनीलाई ठूलो आर्थिक तथा भौतिक क्षति पुर्याएको थियो। तर, संकटका बीच पनि कम्पनीले पुनःउत्थानको अभियानलाई तीव्रता दिँदै अधिकांश स्टोरलाई छोटो समयमै सञ्चालनमा ल्याउन सफल भएको छ।
कम्पनीका अनुसार हालसम्म १२ मध्ये १० वटा स्टोर पूर्ण रूपमा सञ्चालनमा आइसकेका छन्। बाँकी रहेका दमक र हेटौँडाका स्टोरहरूको पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको छ। ती स्टोरहरू पनि निकट भविष्यमै सञ्चालनमा आउने अपेक्षा गरिएको छ।
भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले कठिन परिस्थितिमा पनि कम्पनीप्रति विश्वास कायम राख्ने ग्राहक, कर्मचारी तथा शुभेच्छुकप्रति विशेष आभार व्यक्त गरेका छन्। उनका अनुसार आगलागीका दृश्यले भावनात्मक रूपमा निकै पीडा दिएको थियो। आफ्नै आँखाअगाडि वर्षौँको मेहनतले निर्माण गरिएका स्टोरहरू जलेर नष्ट हुँदा मन दुखेको भए पनि कम्पनीले हिम्मत नहारेको उनले बताएका छन्।
उनले संकटको घडीमा कम्पनीले एउटा दृढ संकल्प गरेको स्मरण गरे। “हामी खरानीबाट फेरि उठ्नेछौँ,” भन्ने विश्वासका साथ पुनर्निर्माणको यात्रा सुरु गरिएको उनको भनाइ छ। यही आत्मविश्वास र निरन्तर प्रयासका कारण आज अधिकांश स्टोर पुनः सञ्चालनमा आउन सफल भएको उनले उल्लेख गरेका छन्।
आगजनीपछि कम्पनीले ठूलो चुनौती सामना गर्नुपरे पनि आफ्ना कर्मचारीप्रतिको जिम्मेवारीबाट पछि नहटेको जनाएको छ। १० हजारभन्दा बढी कर्मचारीको रोजगारी सुरक्षित राख्दै कम्पनीले सामाजिक तथा व्यावसायिक उत्तरदायित्व निर्वाह गरेको थियो। कुनै कर्मचारीलाई सेवाबाट हटाइएन भने गत वर्षको दसैँ बोनससमेत कटौती नगरी वितरण गरिएको कम्पनीले जनाएको छ।
अध्यक्ष गुरुङले कर्मचारीहरू नै कम्पनीको वास्तविक शक्ति भएको उल्लेख गर्दै संकटको समयमा उनीहरूको समर्पण र धैर्य प्रशंसनीय रहेको बताए। चौबीसै घण्टा खटेर पुनःनिर्माणमा योगदान दिने कर्मचारी र निरन्तर साथ दिने ग्राहकहरूप्रति उनले सम्मान व्यक्त गरेका छन्।
पुनः सञ्चालनमा आउन लागेको टंगाल स्टोरमा ग्राहकले आधुनिक सेवा, व्यवस्थित किनमेल वातावरण र गुणस्तरीय उत्पादनको सुविधा पाउने कम्पनीको दाबी छ। कम्पनीले सेवा र गुणस्तरमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता दोहोर्याउँदै ग्राहकको विश्वासलाई अझ बलियो बनाउने लक्ष्य लिएको जनाएको छ।
टंगाल स्टोरको पुनः सञ्चालनसँगै भाटभटेनीले संकटबाट पुनःउत्थान सम्भव छ भन्ने सन्देश दिएको छ। आगजनीको पीडादायी अध्यायलाई पछाडि छोड्दै कम्पनी अब नयाँ ऊर्जा, नयाँ उत्साह र ग्राहकप्रतिको प्रतिबद्धतासहित अगाडि बढ्न तयार देखिएको छ।

