सुदूरपश्चिम प्रदेशभित्र रहेका स्थानीय स्रोत, सीप, नवीन सोच तथा व्यवसायिक सम्भावनालाई उद्यममा रूपान्तरण गर्ने लक्ष्यसहित ‘सुदूरपश्चिम नवउद्यमी सम्मेलन–२०८३’ आयोजना हुने भएको छ। युवा तथा विद्यार्थीहरूमा उद्यमशीलताको भावना विकास गर्दै उनीहरूको सिर्जनात्मक सोचलाई व्यवहारिक व्यवसायमा परिणत गर्ने उद्देश्यले सम्मेलन सञ्चालन गर्न लागिएको हो।
सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत कैलाली बहुमुखी क्याम्पसको इन्क्युबेसन सेन्टरले धनगढीमा पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी दिएको हो। “स्थानीय सम्भावनादेखि लगानीयोग्य उद्यमसम्म” भन्ने मूल नाराका साथ कात्तिक १३, १४ र १५ गते कैलाली बहुमुखी क्याम्पस परिसरमा सम्मेलन आयोजना गरिने जनाइएको छ।
आयोजकका अनुसार सम्मेलनले सुदूरपश्चिमका विभिन्न स्थानीय तहमा रहेका प्राकृतिक, सामाजिक तथा आर्थिक सम्भावनालाई पहिचान गरी तिनलाई व्यवसायिक अवसरमा रूपान्तरण गर्ने प्रयास गर्नेछ। यसका लागि नवप्रवर्तनमा रुचि राख्ने विद्यार्थी, युवा उद्यमी, व्यवसाय सुरु गर्न इच्छुक व्यक्ति, प्राविधिक सीप भएका जनशक्ति तथा वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई सहभागी गराइनेछ।
कार्यक्रम राष्ट्रिय योजना आयोग र सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा सञ्चालन हुनेछ। साथै स्थानीय तह, बैंक तथा वित्तीय संस्था, निजी क्षेत्र तथा अन्य सरोकारवाला निकायहरूको सहकार्य रहनेछ। सम्मेलनमार्फत उद्यम विकासका लागि आवश्यक वातावरण निर्माण गर्ने, लगानीकर्तासँग पहुँच बढाउने तथा व्यवसायिक अवधारणालाई परिष्कृत गर्ने लक्ष्य राखिएको छ।
सम्मेलनमा कृषि तथा कृषि प्रविधि, पर्यटन, स्थानीय प्राकृतिक उत्पादन, डिजिटल तथा सूचना प्रविधि, खाद्य प्रशोधन, हस्तकला, सर्कुलर इकोनोमी, शिक्षा तथा स्वास्थ्य सेवासम्बन्धी व्यवसायिक अवधारणालाई विशेष प्राथमिकता दिइनेछ। यी क्षेत्रहरूलाई प्रदेशको आर्थिक विकासका सम्भावित आधारका रूपमा हेरिएको छ।
आयोजकले प्रदेशका ८८ वटै स्थानीय तहबाट सहभागीहरूलाई आफ्नो व्यवसायिक अवधारणा पेश गर्न आह्वान गरेको छ। स्थानीय समस्या समाधान गर्ने, बजारको माग सम्बोधन गर्ने वा व्यक्तिगत सीप तथा अनुभवलाई व्यवसायमा रूपान्तरण गर्न सक्ने योजना भएका व्यक्तिहरूले प्रस्ताव दर्ता गर्न सक्नेछन्।
इन्क्युबेसन सेन्टरका अनुसार सम्मेलनमार्फत करिब ७० जना युवाका उत्कृष्ट व्यवसायिक अवधारणा छनोट गरिनेछ। छनोट भएका सहभागीलाई उद्यम विकासका लागि आवश्यक प्रशिक्षण, परामर्श तथा लगानीको पहुँच उपलब्ध गराउने तयारी गरिएको छ। यसअघि पनि सेन्टरले २७ जना विद्यार्थीलाई उद्यमशीलता तालिम प्रदान गरी पाँच लाख रुपैयाँसम्मको बीउपूँजी उपलब्ध गराएको अनुभव रहेको जनाएको छ।
यसपटकको सम्मेलनले व्यवसाय सुरु गराउने मात्र नभई त्यसलाई दिगो र प्रतिस्पर्धी बनाउने लक्ष्य पनि लिएको छ। बैंक तथा वित्तीय संस्थाबाट सहुलियत ऋण, उद्यमीको स्व–लगानी र इन्क्युबेसन सेन्टरको प्राविधिक सहयोगलाई जोडेर त्रिपक्षीय सहकार्यको मोडेल अघि सारिएको छ।
सम्मेलनबाट छनोट भएका सम्भावनायुक्त उद्यमलाई ९० दिने उद्यम विकास कार्यक्रममा समावेश गरिनेछ। उक्त अवधिमा व्यवसाय दर्ता प्रक्रिया, नमुना उत्पादन विकास, बजार परीक्षण, लागत तथा मूल्य निर्धारण, ब्रान्ड निर्माण, लेखा व्यवस्थापन तथा लगानीकर्तासँग सम्पर्क विस्तारजस्ता विषयमा व्यावहारिक प्रशिक्षण र मार्गदर्शन प्रदान गरिनेछ। यस पहलले सुदूरपश्चिमका युवालाई रोजगारी खोज्नेभन्दा रोजगारी सिर्जना गर्ने दिशामा अघि बढाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

