Banijya News

चियामा अखाद्य रङको मिसावट भेटियो, बजारबाट फिर्ता गर्न विभागको आदेश

1
1.0K Shares

बजारमा बिक्री भइरहेको चियामा मानव स्वास्थ्यका लागि अनुपयुक्त कृत्रिम बाह्य रङ मिसाइएको पुष्टि भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सम्बन्धित उद्योगलाई उक्त चिया तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ।

विभागले नियमित बजार अनुगमन तथा निरीक्षणका क्रममा विभिन्न स्थानबाट संकलन गरेका चियाका नमुना प्रयोगशालामा परीक्षण गरेको थियो। परीक्षणका क्रममा एक उद्योगबाट उत्पादित चियामा अखाद्य तथा कृत्रिम बाह्य रङ प्रयोग गरिएको पुष्टि भएको विभागले जनाएको छ।

खाद्य वस्तुको गुणस्तर र स्वच्छता कायम गर्ने उद्देश्यले गरिएको अनुगमनका क्रममा चियामा स्वीकृत मापदण्डविपरीत रङको प्रयोग भएको भेटिएपछि विभागले सम्बन्धित उद्योगमाथि कारबाही प्रक्रिया अघि बढाएको हो। गुणस्तरहीन ठहरिएको चियालाई बजारबाट फिर्ता गर्न उद्योगलाई निर्देशन दिइएको विभागले जनाएको छ।

विभागका अनुसार सम्बन्धित उद्योगका अन्य उत्पादनको बिक्री तथा वितरणमा समेत रोक लगाइएको छ। चियामा मात्र नभई उद्योगबाट उत्पादित अन्य खाद्य वस्तुको गुणस्तरसमेत परीक्षण तथा अनुसन्धानको दायरामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको विभागले स्पष्ट पारेको छ।

चियालाई आकर्षक देखाउन वा उपभोक्तालाई प्रभावित पार्ने उद्देश्यले अखाद्य कृत्रिम रङको प्रयोग गरिएमा त्यसले खाद्य सुरक्षामाथि गम्भीर प्रश्न उठाउने विभागको भनाइ छ। त्यसैले चिया उत्पादनदेखि उपभोक्तासम्म पुर्‍याउने प्रक्रियामा संलग्न सबै पक्षलाई खाद्य स्वच्छता र गुणस्तरसम्बन्धी मापदण्ड कडाइका साथ पालना गर्न विभागले आग्रह गरेको छ।

विभागले सार्वजनिक गरेको सूचनामार्फत चिया उत्पादक, प्रशोधनकर्ता, प्याकेजिङकर्ता तथा बिक्री–वितरकलाई चियामा कुनै पनि प्रकारको कृत्रिम रङ वा अन्य अखाद्य पदार्थ मिसावट नगर्न तथा नगराउन निर्देशन दिएको छ। खाद्य वस्तुको उत्पादन र बिक्री–वितरणमा संलग्न व्यवसायीले प्रचलित कानुन तथा तोकिएका गुणस्तरीय मापदण्डको पालना गर्नुपर्ने विभागले जनाएको छ।

विभागले बजारमा रहेका खाद्य वस्तुको नियमित अनुगमनलाई निरन्तरता दिने पनि जनाएको छ। अनुगमनका क्रममा गुणस्तर तथा खाद्य स्वच्छतासम्बन्धी मापदण्ड उल्लङ्घन गरेको पाइएमा सम्बन्धित व्यवसायी वा उद्योगमाथि कानुनी प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ।

विशेषगरी चियाजस्तो दैनिक उपभोग्य वस्तुको गुणस्तरमा उपभोक्ताको स्वास्थ्य प्रत्यक्ष जोडिने भएकाले उत्पादन, प्रशोधन, प्याकेजिङ र बिक्री–वितरणका प्रत्येक चरणमा सावधानी अपनाउनुपर्ने विभागको जोड छ।

विभागले जारी गरेको सूचनाको अवज्ञा गर्दै चियामा अखाद्य पदार्थ वा कृत्रिम रङको मिसावट गरेको पाइएमा ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ मा व्यवस्था भएबमोजिम कडा कानुनी कारबाही गरिने चेतावनी दिएको छ।

1

Scroll to Top