Banijya News

चीन नाका बन्द भएपछि दसैंको व्यापार संकटमा, अर्बौंको सामान बाटोमै अलपत्र

1
1.0K Shares

दसैं नजिकिँदै गर्दा चीनसँग जोडिएका नेपालका प्रमुख व्यापारिक नाका बन्द भएपछि अर्बौं रुपैयाँ बराबरको व्यापार सडक र नाकामै रोकिएको छ। चीनबाट सामान आयात गर्ने मुख्य तीनवटै स्थलमार्ग एकपछि अर्को अवरुद्ध भएपछि दसैं लक्षित व्यापार प्रभावित भएको छ भने बजारमा सामानको आपूर्ति र मूल्य दुवैमाथि दबाब बढेको व्यवसायीहरूले बताएका छन्। दसैं आउन अब करिब दुई साता मात्र बाँकी रहँदा तातोपानी, रसुवागढी र कोरला नाका प्रभावित भएका हुन्। पहिरोको जोखिम देखाउँदै तातोपानी–खासा नाका यसअघि नै बन्द थियो। त्यसपछि भदौ १० गते भोटेकोशीमा आएको बाढीले रसुवागढी नाकाको भौतिक संरचनामा ठूलो क्षति पुर्‍यायो। यी दुई प्रमुख नाका बन्द भएपछि चीनसँगको व्यापारका लागि विकल्पका रूपमा प्रयोग भइरहेको मुस्ताङको कोरला नाका पनि बाढी र सडक क्षतिका कारण अवरुद्ध भएको छ।

कालीगण्डकी नदीमा आएको बाढीले कालीगण्डकी करिडोर तथा मध्यपहाडी लोकमार्गअन्तर्गतका पुलका एप्रोच सडकमा क्षति पुर्‍याएपछि कोरला नाका जाने सडक सम्पर्क टुटेको हो। नाका र भन्सार कार्यालयको मुख्य संरचना सुरक्षित रहे पनि बेनी–जोमसोम सडक खण्डका विभिन्न पुल तथा सडकमा क्षति पुग्दा मालवाहक सवारीसाधनको आवागमन रोकिएको छ।

कोरलामा बढेको व्यापार पनि रोकियो

तातोपानी र रसुवागढी नाका बन्द भएपछि पछिल्लो समय कोरला नाकामा व्यापारिक चाप ह्वात्तै बढेको थियो। भदौ १० देखि २५ गतेसम्मको १५ दिनमै कोरला नाकाबाट ४ सय ३४ कन्टेनर र ६ सय ४१ वटा विद्युतीय सवारीसाधन नेपाल भित्रिएका थिए। चालु आर्थिक वर्षको भदौ अन्तिम सातासम्म मुस्ताङ भन्सार कार्यालयले २ अर्ब ३१ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरिसकेको थियो। अघिल्लो आर्थिक वर्षमा यही नाकाबाट करिब १४ अर्ब ४१ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो भने ३ हजारभन्दा बढी विद्युतीय सवारीसाधन नेपाल भित्रिएका थिए।

तर अहिले कोरला पुग्ने सडक नै अवरुद्ध भएपछि यस नाकामार्फत हुने ठूलो परिमाणको व्यापार तत्काल प्रभावित भएको छ। मुस्ताङ भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत विदुर चुडालका अनुसार अहिले भन्सार परिसरमा मात्रै एक सय ५० भन्दा बढी मालवाहक गाडी तथा कन्टेनर रोकिएका छन्। यार्ड र नाकामा गरी ३ देखि ४ सय विद्युतीय गाडी तथा खाली र भरिएका कन्टेनर थन्किएका छन्। उनका अनुसार चीनतर्फबाट मालवाहक गाडीको आवागमन बढे पनि नेपालतर्फको सडक बन्द भएकाले व्यापारीले भन्सार जाँचपास गराउनसमेत हतार गरेका छैनन्। सडक विभागले क्षतिग्रस्त सडक तथा पुल मर्मतको काम तीव्र बनाइरहेको र सडक खुलेपछि सामान काठमाडौंलगायतका बजारमा सहज रूपमा ल्याउन सकिने उनले बताए।

दसैंको ३० प्रतिशत सामान मात्रै काठमाडौंमा

चीनबाट दसैं लक्षित गरेर आयात गरिएका कपडा, जुत्ताचप्पल, झोला, इलेक्ट्रोनिक्स सामग्री तथा विद्युतीय सवारीसाधनको ढुवानी प्रभावित भएको छ। आरबी कम्प्लेक्स व्यवसायी संघका अध्यक्ष परशुराम दाहालका अनुसार दसैंका लागि व्यवसायीहरूले मगाएको सामानमध्ये हालसम्म २० देखि ३० प्रतिशत मात्र काठमाडौं आइपुगेको छ। ठूलो हिस्सा सामान बाटोमै रोकिएको उनले बताए। ‘दसैं लक्षित सामान बाटोमै रोकिएका छन्। गोदाममा भएका सामान बाटो डाइभर्ट गरेर कोरला नाकाबाट ल्याउन खोजिएको थियो, तर त्यो पनि सबै रोकियो,’ दाहालले भने, ‘अहिलेसम्म बढीमा ३० प्रतिशत मात्र सामान आइपुगेको छ।’

उनका अनुसार भन्सार प्रक्रियामा ठूलो समस्या नभए पनि डलरको मूल्य र ढुवानी खर्च बढेकाले अब बजारमा आउने सामान महँगो हुने अवस्था छ। सडक अवरुद्ध भएपछि वैकल्पिक बाटो तथा साना सवारीसाधन प्रयोग गर्नुपर्दा ढुवानी लागत बढेको व्यवसायीहरूको भनाइ छ। दाहालले नयाँ सामानको मूल्य २५ देखि ३० प्रतिशतसम्म बढ्न सक्ने अनुमान गरेका छन्। ठूला मालवाहक गाडी सञ्चालन हुन नसकेपछि कतिपय व्यवसायीले भारतबाट साना गाडीमार्फत सामान ल्याउन थालेका छन्। तर भारतीय बजारबाट सामान ल्याउँदा चिनियाँ सामानभन्दा महँगो पर्ने र साना गाडीको ढुवानी खर्च पनि बढी हुने उनको भनाइ छ। हाल बजारमा पुरानो स्टक तथा स्वदेशी उत्पादनले केही राहत दिए पनि दसैंको माग धान्न पर्याप्त नहुने व्यवसायीहरू बताउँछन्।

वर्षासँगै होलसेल व्यापारमा पनि असर

चीनबाट सामान आपूर्ति रोकिएसँगै काठमाडौंको होलसेल व्यापारसमेत प्रभावित भएको छ। लगातार चार–पाँच दिनको वर्षाका कारण देशका विभिन्न स्थानका सडक तथा पुलमा क्षति पुगेपछि बाहिरी जिल्लाका व्यापारी काठमाडौं आएर सामान खरिद गर्न नसकेको व्यवसायीहरू बताउँछन्। सामाजिक सञ्जाल तथा ह्वाट्सएपमार्फत अर्डर लिने क्रम जारी रहे पनि सामान्य अवस्थामा जस्तो कारोबार हुन नसकेको दाहालको भनाइ छ। उनका अनुसार पछिल्ला केही वर्षदेखि दसैंको समयमा वर्षा र सडक अवरोधका कारण व्यापारमा असर पर्ने क्रम दोहोरिँदै आएको छ। यसले व्यवसायीको लागत र जोखिम दुवै बढाएको छ।

तीन नाका बन्द हुँदा आपूर्ति शृंखला प्रभावित

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामै नेपालले चीनबाट ७६ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको वस्तु आयात गरेको छ। चीन नेपालको प्रमुख व्यापारिक साझेदारमध्ये एक भएकाले प्रमुख स्थल नाका बन्द हुँदा त्यसको प्रत्यक्ष असर आपूर्ति प्रणालीमा परेको छ। नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष मनोजबाबु श्रेष्ठले तीनवटै नाका बन्द हुँदा व्यवसायी, बजार र उपभोक्ता सबै प्रभावित भएको बताए। उनका अनुसार भूकम्पपछि तातोपानी नाकामा अर्बौं रुपैयाँ खर्च गरेर ड्राइपोर्ट, पार्किङलगायतका पूर्वाधार निर्माण गरिए पनि नाका नियमित रूपमा सञ्चालन हुन नसक्दा ती संरचना पूर्ण क्षमतामा प्रयोग हुन सकेका छैनन्। सरकारले कूटनीतिक पहलमार्फत तातोपानी नाका खोल्न तत्काल पहल गर्नुपर्ने उनको माग छ। कोरला नाकामा पनि पूर्वाधार तथा जनशक्तिको अभाव रहेको श्रेष्ठको भनाइ छ। भन्सार प्रणालीमा सफ्टवेयर, नेटवर्क र सर्भरसम्बन्धी समस्या लामो समयदेखि रहेको तथा यसले जाँचपासको गति प्रभावित गर्ने गरेको उनले बताए।

ढुवानी लागतले थप बढाउँदै मूल्य

कोरला नाका वैकल्पिक व्यापारिक मार्ग बने पनि यसको भौगोलिक दूरी र सडकको अवस्थाले ढुवानी खर्च महँगो बनाएको व्यवसायीहरू बताउँछन्। चीनतर्फबाट कोरला पुग्न लामो दूरी पार गर्नुपर्ने र नेपालतर्फ पनि करिब २०० किलोमिटर सडक कमजोर अवस्थामा रहेकाले ढुवानी लागत बढ्ने गरेको उनीहरूको भनाइ छ। श्रेष्ठका अनुसार ढुवानी खर्चकै कारण एक जोर जुत्ता वा ज्याकेटमा मात्र पनि करिब एक सयदेखि डेढ सय रुपैयाँसम्म अतिरिक्त लागत थपिन सक्छ। यस्तो अवस्थामा नाका सञ्चालनमा आए पनि व्यापारिक लागत पहिलेको तुलनामा उच्च रहने देखिन्छ।

दसैं बजारको ‘पिकअप’मै धक्का

सामान्यतया दसैंअघि बजारमा माग उच्च हुने र व्यापारले गति लिने समय हो। तर यसपटक मुख्य आपूर्ति मार्ग नै अवरुद्ध भएपछि बजारमा अपेक्षित चहलपहल देखिन नसकेको व्यवसायीहरूको भनाइ छ। हालसम्म बजारमा रहेको पुरानो स्टकबाट माग धान्ने प्रयास भए पनि दसैंका लागि आवश्यक नयाँ सामानको ठूलो हिस्सा नेपाल भित्रिन बाँकी छ। सडक छिटो सञ्चालनमा नआएमा त्यसको असर आपूर्ति, मूल्य र उपभोक्ताको छनोटमा समेत पर्न सक्ने व्यवसायीहरू बताउँछन्। सरकारले क्षतिग्रस्त सडक तथा पुल मर्मतलाई तीव्रता दिएको जनाएको छ। सडक खुलेपछि कोरला नाकामा रोकिएका मालवाहक सवारीसाधन तथा कन्टेनर क्रमशः गन्तव्यतर्फ पठाउन सकिने अपेक्षा गरिएको छ।

तर, दसैंको मुख्य व्यापारिक समय नजिकिँदै जाँदा तीनवटै प्रमुख व्यापारिक नाका बन्द हुनु र ठूलो परिमाणमा सामान बाटोमै रोकिँदा यस वर्षको दसैं बजार कस्तो हुने भन्ने प्रश्न भने गम्भीर बनेको छ। सडक तथा नाका कहिले पूर्ण रूपमा सञ्चालनमा आउँछन् भन्ने विषयले नै आगामी दिनमा बजारमा सामानको उपलब्धता र मूल्यको अवस्था निर्धारण गर्ने देखिन्छ।

1

Scroll to Top