Banijya News

नेशनल लाइफको चारदिने कर्मचारी क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न

1
1.0K Shares

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (NLICL) ले कर्मचारीको क्षमता, कार्यदक्षता तथा व्यावसायिक सीप अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको चारदिने ‘इम्प्लोई स्किल इन्हान्समेन्ट वर्कसप’ सम्पन्न गरेको छ।

नेपालगन्जस्थित होटल सिद्धार्थमा आयोजित कार्यशालामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन टोली, विभिन्न विभागका प्रमुख तथा प्रशासनिक कर्मचारी गरी ३०० भन्दा बढीको सहभागिता रहेको थियो। कर्मचारीलाई बदलिँदो प्रविधि, व्यावसायिक वातावरण तथा ग्राहकको अपेक्षाअनुसार थप दक्ष बनाउने उद्देश्यले कार्यशाला सञ्चालन गरिएको कम्पनीले जनाएको छ।

कम्पनीकी अध्यक्ष प्रेमाराज्यलक्ष्मी सिंहको सभापतित्वमा सम्पन्न कार्यक्रममा उनले पछिल्लो समय प्रविधिको तीव्र विकाससँगै बिमा व्यवसायमा पनि नयाँ सीप र प्रविधिको प्रयोग आवश्यक हुँदै गएको बताइन्। उनले कर्मचारीको क्षमता विकासका लागि कम्पनीले आवश्यक लगानी गर्ने र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा डिजिटल कनेक्टिभिटीसम्बन्धी तालिमलाई प्राथमिकता दिने बताइन्।

दक्ष र प्रविधिमैत्री जनशक्तिले कम्पनीको व्यावसायिक विस्तार तथा सेवा प्रवाहमा सकारात्मक योगदान पुर्‍याउने अध्यक्ष सिंहको भनाइ थियो। उनले कर्मचारीलाई समयअनुसार नयाँ ज्ञान तथा सीप हासिल गर्दै आफ्नो कार्यक्षमता निरन्तर विकास गर्न आग्रह गरिन्।

कार्यक्रममा कार्यसम्पादनका आधारमा ‘बेस्ट इम्प्लोई अवार्ड–२०८३’ का लागि छनोट भएका शिवेश ठाकुर, गीताकुमारी थिङ, रुक्मणीकुमारी शर्मा, अनिल श्रेष्ठ, सुवासमणि पोखरेल, प्रमिला मल्ल र विष्णुजंग शाहीलाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरिएको थियो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले ग्राहकलाई सरल, छिटो र सम्मानजनक सेवा उपलब्ध गराउन कर्मचारीको भूमिका महत्वपूर्ण हुने बताए। उनले संस्थाका नीति तथा नियमको पालना, कामप्रतिको जवाफदेहिता तथा समस्यालाई संस्थाकै समस्याका रूपमा लिएर समाधान खोज्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिए।

कार्यशालाका क्रममा नेपाल बिमा प्राधिकरणका निर्देशक शाम्भराज लामिछानेले बिमा व्यवसायमार्फत हुन सक्ने सम्पत्ति शुद्धीकरणसम्बन्धी जोखिम र त्यसबाट सचेत रहने उपायबारे प्रशिक्षण दिएका थिए। प्रशिक्षक विश्वराज पौडेलले एआईको प्रयोग तथा प्रशिक्षक संजोग कोइरालाले कर्मचारीको व्यवहार र आचरणसम्बन्धी विषयमा प्रशिक्षण दिएका थिए।

कार्यक्रमलाई व्यावहारिक र सहभागितामूलक बनाउन नाटक, समूह छलफल तथा परीक्षा पनि सञ्चालन गरिएको थियो। त्यसैगरी कर्मचारीबीच फुटसल, टेबलटेनिस र टग अफ वारलगायतका अतिरिक्त गतिविधि आयोजना गरिएको थियो। उत्कृष्ट टिम तथा खेलाडीलाई पुरस्कार प्रदान गरिएको कम्पनीले जनाएको छ।

चारदिने कार्यशालाको अन्तिम दिन सहभागी कर्मचारीलाई कर्णाली चिसापानी भ्रमणसमेत गराइएको थियो। तालिम, अन्तरक्रिया, खेलकुद तथा भ्रमणमार्फत कर्मचारीबीच सहकार्य, नेतृत्व क्षमता र आपसी सम्बन्धलाई थप सुदृढ गर्ने उद्देश्य राखिएको कम्पनीको भनाइ छ।

1

Scroll to Top