Banijya News

बिराट एग्रीको आईपीओ तयारी, निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

1
1.0K Shares

कृषि तथा मत्स्यपालन क्षेत्रमा सक्रिय बिराट एग्री लिमिटेडले भविष्यमा सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन (आईपीओ) गर्ने तयारी थालेको छ। आईपीओ निष्कासनका लागि आवश्यक संस्थागत तथा परामर्श सेवा उपलब्ध गराउने गरी कम्पनीले एनआईसी एशिया क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।

यससम्बन्धी दुई पक्षीय सम्झौता एनआईसी एशिया क्यापिटल र बिराट एग्रीबीच सम्पन्न भएको हो। सम्झौताअनुसार प्रचलित कानुन तथा नियामकीय व्यवस्थाको अधीनमा रही बिराट एग्रीलाई कम्पनी स्थापना भएदेखि भविष्यमा सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन गर्ने चरणसम्म आवश्यक पर्ने विभिन्न संस्थागत परामर्श तथा अन्य सेवा एनआईसी एशिया क्यापिटलले उपलब्ध गराउनेछ।

एनआईसी एशिया क्यापिटलले आफ्नो ‘आइडिया टु आईपीओ’ सेवा अन्तर्गत विभिन्न क्षेत्रका कम्पनीलाई आईपीओ जारी गर्ने प्रक्रियासम्म पुर्‍याउन आवश्यक परामर्श तथा सहजीकरण गर्दै आएको जनाएको छ। यही सेवाअन्तर्गत बिराट एग्रीसँग पनि सम्झौता गरिएको हो।

इटहरी–१३, सुनसरीमा कारोबार कार्यालय रहेको बिराट एग्री कृषि तथा एक्वाकल्चर क्षेत्रलाई व्यावसायिक, आधुनिक र दिगो ढाँचामा विकास गर्ने उद्देश्यले स्थापना भएको कम्पनी हो। कम्पनीले मोरङ र सुनसरी जिल्लामा १०० हेक्टरभन्दा बढी जलाशय क्षेत्रफलमा करिब १५० वटा पोखरी सञ्चालन गर्दै व्यावसायिक एकीकृत कृषि तथा मत्स्यपालन गर्दै आएको छ।

कम्पनीका अनुसार व्यवस्थित रूपमा ठूलो क्षेत्रफलमा व्यावसायिक मत्स्यपालन गर्ने फार्ममध्ये आफू अग्रणी अवस्थामा रहेको छ। उत्पादनदेखि प्रशोधन तथा बजारसम्मको सम्पूर्ण मूल्य शृङ्खलालाई व्यवस्थित गर्दै कृषि तथा मत्स्यपालन व्यवसायलाई थप विस्तार गर्ने कम्पनीको योजना छ।

बिराट एग्रीले इटहरी–१३ स्थित खनार औद्योगिक क्षेत्रमा दैनिक २५ टन उत्पादन क्षमता भएको आधुनिक फिस फिड प्लान्टसमेत सञ्चालन गर्दै आएको छ। उक्त प्लान्टबाट विभिन्न प्रकारका तैरिने तथा डुब्ने माछाका दाना उत्पादन गरी आफ्ना परियोजना तथा बजारमा बिक्री–वितरण गर्दै आएको कम्पनीले जनाएको छ।

कम्पनीले कृषि तथा मत्स्यपालन क्षेत्रको उत्पादन, प्रशोधन, प्याकेजिङ तथा बजारीकरणलाई एकीकृत गर्दै व्यवसायलाई थप व्यवस्थित र व्यावसायिक बनाउने दीर्घकालीन योजना अघि सारेको छ। प्रस्तावित सार्वजनिक सेयर निष्कासनबाट प्राप्त हुने पुँजीलाई उत्पादन क्षमता विस्तार, आधुनिक प्रशोधन प्रविधिको विकास तथा आवश्यक व्यावसायिक पूर्वाधार निर्माणमा परिचालन गर्ने लक्ष्य कम्पनीले लिएको छ।

आईपीओबाट जुट्ने पुँजीमार्फत कम्पनीले आगामी दिनमा विभिन्न महत्वपूर्ण परियोजना सञ्चालन तथा विस्तार गर्ने योजना बनाएको छ। यसबाट कृषि तथा मत्स्यपालन क्षेत्रमा थप लगानी विस्तार गर्दै उत्पादन तथा प्रशोधन क्षमता बढाउने र बजार विस्तार गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ।

एनआईसी एशिया क्यापिटलसँगको सम्झौताले बिराट एग्रीको संस्थागत विकास तथा भविष्यमा सार्वजनिक कम्पनीका रूपमा अघि बढ्ने प्रक्रियालाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। यद्यपि, सर्वसाधारणका लागि सेयर निष्कासनको प्रक्रिया भने सम्बन्धित कानुनी तथा नियामकीय स्वीकृतिपछि मात्र अघि बढ्नेछ।

1

Scroll to Top