काठमाडौंको दरबारमार्गस्थित याक एन्ड यति परिसरमा रहेको विश्व बैंकको नेपाल कार्यालयका कर्मचारीलाई तीन महिनाका लागि घरबाटै काम गर्न निर्देशन दिइएको छ। विश्व बैंकको वासिङ्टन डीसीस्थित मुख्यालयबाट गरिएको भूकम्पीय सुरक्षा परीक्षणमा कार्यालय रहेको भवन तत्काल प्रयोगका लागि सुरक्षित नरहेको निष्कर्ष आएपछि नेपालस्थित विश्व बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) का कर्मचारीलाई ‘वर्क फ्रम होम’ व्यवस्था गरिएको हो।
गत सातादेखि लागू भएको यो व्यवस्था हाललाई तीन महिनाका लागि कायम रहने बताइएको छ। भवनको भूकम्पीय सुरक्षा परीक्षणको तेस्रो चरण सुरु गर्नुअघि गरिएको प्रारम्भिक मूल्यांकनका क्रममा कर्मचारीलाई भवनमै राखेर काम गराउनु तत्काल सुरक्षित नहुने निष्कर्ष सुरक्षा टोलीले निकालेपछि कार्यालय सञ्चालनको स्वरूप परिवर्तन गरिएको हो।
भवनको भूकम्पीय सुरक्षा परीक्षण यसअघि पनि विभिन्न चरणमा हुँदै आएको थियो। पहिलो र दोस्रो चरणको परीक्षण सम्पन्न भइसकेको अवस्थामा तेस्रो चरणको विस्तृत परीक्षण सुरु गर्न लागिएको हो। त्यसअघि सुरक्षा टोलीले भवनको अवस्थाबारे थप सावधानी अपनाउनुपर्ने देखिएपछि कर्मचारीलाई घरबाट काम गर्ने व्यवस्था गरिएको हो।
विश्व बैंक नेपालका प्रमुख विकास साझेदारमध्ये एक हो। नेपालमा बैंकले ऊर्जा, सडक, शिक्षा, स्वास्थ्य, कृषि, वित्तीय क्षेत्र सुधारलगायत विभिन्न क्षेत्रमा लगानी तथा सहयोग गर्दै आएको छ। त्यस्तै, विश्व बैंक समूहअन्तर्गतको आईएफसीले नेपालको निजी क्षेत्र, जलविद्युत् आयोजना तथा वित्तीय संस्थामा लगानी गर्दै आएको छ।
कार्यालय भवनमा कर्मचारीको नियमित उपस्थितिमा रोक लगाए पनि विश्व बैंक र आईएफसीका नेपालस्थित गतिविधि भने ‘वर्क फ्रम होम’ व्यवस्थामार्फत निरन्तर सञ्चालन हुने बताइएको छ। तीन महिनापछि तेस्रो चरणको भूकम्पीय सुरक्षा परीक्षणबाट प्राप्त विस्तृत प्रतिवेदनका आधारमा कार्यालय सोही भवनबाट सञ्चालन गर्ने वा अन्यत्र स्थानान्तरण गर्ने भन्ने विषयमा निर्णय हुने जनाइएको छ।
२०७२ वैशाख १२ गते गएको गोरखा भूकम्पपछि पनि याक एन्ड यति परिसरमा रहेको उक्त भवनको भूकम्पोत्तर सुरक्षा परीक्षण गरिएको थियो। त्यसबेला भवन प्रयोगयोग्य रहेको निष्कर्ष आएपछि नियमित रूपमा कार्यालय सञ्चालन हुँदै आएको थियो।
भूकम्पपछि विभिन्न समयमा भवनको भूकम्पीय सुरक्षाबारे परीक्षण तथा मूल्यांकन हुँदै आए पनि कर्मचारीलाई लामो समयका लागि घरबाटै काम गर्न लगाइएको भने यो पहिलोपटक भएको स्रोतले जनाएको छ।
झन्डै एक दशकअघि गएको विनाशकारी भूकम्पपछि सुरक्षित मानिएको भवन पछिल्लो विस्तृत सुरक्षा परीक्षणका क्रममा तत्काल प्रयोगका लागि असुरक्षित देखिएपछि काठमाडौंका पुराना तथा ठूला भवनको भूकम्पीय जोखिमबारे पनि चासो बढेको छ।
विशेषगरी २०७२ सालको भूकम्पपछि काठमाडौं उपत्यकाका ठूला कार्यालय, व्यावसायिक भवन तथा सार्वजनिक संरचनाको भूकम्पीय सुरक्षा परीक्षण र मापदण्डको विषय उठ्दै आएको छ। तर वर्षौंअघि सुरक्षित ठहरिएका भवनको समयअनुसार पुनः परीक्षण आवश्यक पर्ने विषय पछिल्लो घटनाले देखाएको छ।

