नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशनलाई लिएर देखिएको विवाद थप गहिरिँदै गएको छ। पार्टीको संस्थापन पक्षले महाधिवेशनको तयारी अघि बढाइरहेका बेला पूर्वसभापति शेरबहादुर देउवा पक्षले पनि समानान्तर रूपमा महाधिवेशन प्रक्रिया अघि बढाएको छ। देउवा पक्षले आफ्नो निर्धारित कार्यतालिकाअनुसार आजदेखि वडा अधिवेशन सुरु गर्न लागेको हो।
संस्थापन पक्षले यही असोज १८ गतेदेखि १५औँ महाधिवेशन गर्ने तयारी गरिरहेका बेला देउवा पक्षले छुट्टै कार्यतालिका सार्वजनिक गरी संगठनका विभिन्न तहका अधिवेशन अघि बढाएको हो। देउवा पक्षले १५औँ महाधिवेशन आगामी मङ्सिर २१ देखि २३ गतेसम्म काठमाडौंमा गर्ने कार्यतालिका तय गरेको जनाएको छ।
उक्त कार्यतालिकाअनुसार वडा अधिवेशनपछि असोज २० गते पालिका तहको अधिवेशन, असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन र मङ्सिर ४ गते प्रदेश अधिवेशन गर्ने तयारी गरिएको छ। सो कार्यतालिकाबारे निर्वाचन आयोगलाई समेत जानकारी गराइसकिएको देउवा पक्षले जनाएको छ।
देउवा पक्षका नेता किरणराज पौडेलका अनुसार ७७ वटै जिल्लामा केन्द्रीय निर्वाचन समितिको तर्फबाट निर्वाचन अधिकृत पठाइसकिएको छ। यस्तै, आजदेखि सुरु हुने वडा अधिवेशनका लागि ५६ जिल्लामा निर्वाचन संयोजकसमेत खटाइएको जानकारी दिइएको छ।
कांग्रेसभित्रको आधिकारिकतासम्बन्धी विवाद अहिले सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै देउवा पक्षले तत्काल महाधिवेशन गर्न नहुने धारणा राख्दै आएको थियो। तर, संस्थापन पक्षले यही असोज ३ गतेदेखि नै महाधिवेशनसम्बन्धी प्रक्रिया अघि बढाइसकेपछि देउवा पक्षले पनि आफ्नो संगठनात्मक गतिविधि तीव्र बनाउँदै छुट्टै महाधिवेशनको तयारी थालेको हो।
देउवा पक्षले १४औँ महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसको कार्यसमितिलाई नै पार्टीको आधिकारिक कार्यसमिति भएको दाबी गर्दै आएको छ। यही कारण संस्थापन पक्षले आह्वान गरेको महाधिवेशन प्रक्रियामा आफूहरू सहभागी नभएको उक्त समूहको भनाइ छ।
देउवा पक्षीय महाधिवेशन आयोजक समितिका संयोजक डा. शशाङ्क कोइरालाले वडा तहदेखि नै पार्टी संगठनलाई बलियो, अनुशासित र जनमुखी बनाउन आवश्यक रहेको बताएका छन्। उनले कांग्रेसका नेता, कार्यकर्ता तथा क्रियाशील सदस्यलाई उच्च मनोबल र उत्साहका साथ वडा अधिवेशनमा सहभागी हुन अपिल गरेका छन्।
कांग्रेसभित्र एउटै पार्टीका दुई समूहले छुट्टाछुट्टै महाधिवेशन प्रक्रिया अघि बढाएपछि यसको वैधानिकता र आधिकारिकताबारे थप प्रश्न उठेको छ। सर्वोच्च अदालतमा विचाराधीन विवादको निरूपणसँगै पार्टीको संगठनात्मक संरचना र महाधिवेशन प्रक्रियाले कुन दिशा लिन्छ भन्ने विषयलाई कांग्रेसका नेता–कार्यकर्ताले चासोका साथ हेरिरहेका छन्।

