Banijya News

१०० स्टार्टअपलाई लगानीयोग्य बनाउने लक्ष्यसहित सीएनआईवाइईएफ र टीएसएनबीच सहकार्य

1
1.0K Shares

नेपालमा स्टार्टअप व्यवसायको विकास, लगानी पहुँच र विस्तारलाई सहज बनाउने उद्देश्यले नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाइईएफ) र द स्टार्टअप नेटवर्क नेपाल (टीएसएन) बीच साझेदारी भएको छ। दुई संस्थाले संयुक्त रूपमा ‘फाउन्डर्स हब’ नामक इन्क्युबेसन तथा एक्सेलेरेसन कार्यक्रम सञ्चालन गर्ने भएका छन्।

समझदारीअनुसार फाउन्डर्स हबमार्फत प्रत्येक वर्ष १०० वटा स्टार्टअपलाई व्यवसाय विकास, परामर्श, उद्योगसँगको पहुँच, लगानी तयारी तथा सम्भावित लगानीकर्तासँग जोड्ने योजना छ। प्रारम्भिक चरणमा रहेका स्टार्टअपलाई आवश्यक व्यावसायिक ज्ञान, बजार पहुँच र लगानीका अवसर उपलब्ध गराउँदै विस्तारयोग्य व्यवसायमा रूपान्तरण गर्ने कार्यक्रमको उद्देश्य रहेको छ।

समझदारीपत्रमा सीएनआईवाइईएफका निवर्तमान अध्यक्ष मनिष श्रेष्ठ र टीएसएनका प्रमुख सञ्चालन अधिकृत सौगात ओझाले हस्ताक्षर गरेका छन्। साझेदारीअन्तर्गत सीएनआईवाइईएफले आफ्नो उद्यमी, व्यवसायी तथा लगानीकर्ताको सञ्जालमार्फत स्टार्टअपलाई संस्थागत साझेदारी र लगानीको पहुँच विस्तार गर्न सहजीकरण गर्नेछ।

दुवै संस्थाले स्टार्टअप छनोट, प्रस्तुतीकरण, मूल्यांकन तथा ड्यु डिलिजेन्सका लागि संयुक्त मापदण्ड विकास गर्ने भएका छन्। सीएनआईवाइईएफसँग आबद्ध उद्यमी तथा व्यवसायीहरू कार्यक्रमका क्रममा मेन्टर, सल्लाहकार, निर्णायक तथा प्रशिक्षकका रूपमा सहभागी हुनेछन्। यसबाट नयाँ उद्यमीले अनुभवी व्यवसायीबाट प्रत्यक्ष मार्गदर्शन पाउने अपेक्षा गरिएको छ।

फाउन्डर्स हबले स्टार्टअपलाई प्रारम्भिक व्यावसायिक विचारको चरणदेखि लगानीका लागि तयार हुने अवस्थासम्म पुर्‍याउने लक्ष्य राखेको छ। टीएसएनले यसअघि सञ्चालन गर्दै आएको फाउन्डर्स हब पाँच महिनाको इन्क्युबेसन तथा एक्सेलेरेसन संरचनामा आधारित छ। कार्यक्रममा व्यवसायको अवधारणा परीक्षण, न्यूनतम व्यवहार्य उत्पादन (एमभीपी) विकास, व्यवसाय मोडल सुधार, मेन्टरसिप तथा लगानीका लागि तयारीलाई प्राथमिकता दिइँदै आएको छ।

टीएसएनका अनुसार कार्यक्रम वर्षमा दुई चरणमा सञ्चालन हुनेछ। प्रत्येक चरणमा ५० वटा स्टार्टअप सहभागी गराइनेछ भने वार्षिक रूपमा १०० स्टार्टअपलाई कार्यक्रममा समेट्ने लक्ष्य राखिएको छ।

नेपालमा स्टार्टअपले व्यवसाय सुरु गरेपछि आवश्यक पुँजी जुटाउने, अनुभवी व्यवसायीसँग पहुँच बनाउने तथा बजार विस्तार गर्ने क्रममा विभिन्न चुनौती सामना गर्दै आएका छन्। विशेषगरी प्रारम्भिक चरणका व्यवसायमा लगानीको अभाव र व्यावसायिक सञ्जाल कमजोर हुँदा विस्तारमा समस्या हुने गरेको अवस्थामा यो सहकार्यले त्यस्ता चुनौती सम्बोधन गर्ने अपेक्षा गरिएको छ।

सहकार्यलाई काठमाडौंमा मात्र सीमित नराखी देशका विभिन्न सहर तथा उदीयमान उद्यमशीलता केन्द्रसम्म विस्तार गर्ने योजना पनि दुवै संस्थाले बनाएका छन्। यसबाट राजधानीबाहिरका स्टार्टअपले समेत मेन्टरसिप, व्यावसायिक सञ्जाल र लगानीका अवसरमा पहुँच पाउने अपेक्षा गरिएको छ।

निजी क्षेत्र, उद्यमी तथा लगानीकर्ताको प्रत्यक्ष सहभागिता बढाउँदै स्टार्टअपलाई सुरुवाती चरणदेखि नै उद्योग र लगानीकर्तासँग जोड्ने आधार तयार गर्ने लक्ष्यसहित यो साझेदारी गरिएको हो।

1

Scroll to Top