Banijya News

जुम्लामा दसैँ–तिहार लक्षित ५० क्विन्टल चिनी, सहुलियत मूल्यमा बिक्री हुने

1
1.0K Shares

दसैँ, तिहार र छठजस्ता ठूला चाडपर्व नजिकिएसँगै जुम्लामा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ५० क्विन्टल चिनी ल्याउने भएको छ । चाडपर्वको समयमा बजारमा चिनीको माग बढ्ने र मूल्यसमेत महँगिन सक्ने अवस्थालाई ध्यानमा राख्दै कम्पनीले केन्द्रबाट चिनी पठाउने तयारी गरेको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको केन्द्रीय कार्यालयले जुम्लाका लागि ५० क्विन्टल चिनी पठाउने निर्णय गरिसकेको शाखा कार्यालय जुम्लाले जनाएको छ । उक्त चिनी तीन दिनभित्र सदरमुकाम खलङ्गास्थित डिपोमा आइपुग्ने शाखा प्रमुख मनोज जोशीले जानकारी दिए ।

कम्पनीले ल्याउने चिनी उपभोक्तालाई प्रतिकिलो ११० रुपैयाँका दरले सहुलियत मूल्यमा बिक्री गर्नेछ । एक जना उपभोक्ताले बढीमा पाँच किलोसम्म चिनी खरिद गर्न पाउने व्यवस्था गरिएको छ । बजारमा चिनीको अभाव देखाएर महँगो मूल्य असुल्ने अवस्था आउन नदिन कम्पनीले सहुलियत दरमा चिनी बिक्री गर्न लागेको हो ।

चाडपर्वका बेला अत्यावश्यक खाद्यवस्तुको मूल्य बढ्ने तथा कृत्रिम अभाव सिर्जना हुन सक्ने गुनासो आउने गरेको छ । हिमाली जिल्ला जुम्लामा त्यस्तो समस्या नहोस् भनेर समयमै चिनीको आपूर्ति सुनिश्चित गर्न लागिएको कम्पनीले जनाएको छ ।

कम्पनीले आमउपभोक्तालाई आवश्यकताभन्दा बढी चिनी खरिद नगर्नसमेत आग्रह गरेको छ । त्यस्तै, बजारमा तोकिएकोभन्दा बढी मूल्य तिर्नुपर्ने अवस्था आएमा सजग रहन कम्पनीले अनुरोध गरेको छ ।

जुम्लामा २१ सय क्विन्टल चामल मौज्दात

यसैबीच, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको जुम्ला शाखामा हाल दुई हजार १०० क्विन्टल चामल मौज्दात रहेको छ । चालु आर्थिक वर्षका लागि सरकारले जुम्लामा कुल छ हजार क्विन्टल खाद्यान्नको कोटा निर्धारण गरेको छ ।

निर्धारित कोटामध्ये हालसम्म तीन हजार ८०० क्विन्टल चामल जुम्ला पुगिसकेको छ । त्यसमध्ये असोजको दोस्रो सातासम्म करिब दुई हजार ७०० क्विन्टल चामल बिक्री भइसकेको शाखा कार्यालयले जनाएको छ ।

दसैँ नजिकिएसँगै चामलको बिक्रीसमेत बढेको छ । हाल शाखाबाट दैनिक करिब ९० क्विन्टल चामल बिक्री भइरहेको शाखा प्रमुख जोशीले बताए ।

चाडपर्वअघि ग्रामीण क्षेत्रका उपभोक्तालाई सहज रूपमा खाद्यान्न उपलब्ध गराउन विभिन्न बिक्री केन्द्रमा समेत चामल पठाउने तयारी गरिएको छ । पातारासी गाउँपालिकाको लुम र गुठीचौर गाउँपालिकाको गुठीचौर डिपोबाट दसैँअघि नै एक हजार क्विन्टल चामल बिक्री गर्ने योजना छ ।

त्यसैगरी तिला गाउँपालिकाको जुम्लाकोट, सिञ्जाको धापा र हिमाका बाजाँगाडा बिक्री केन्द्रबाट थप ५०० क्विन्टल चामल बिक्रीवितरण गरिने शाखा कार्यालयले जनाएको छ ।

चाडपर्वको समयमा खाद्यान्नको माग बढ्ने भएकाले जिल्लाका विभिन्न बिक्री केन्द्रमार्फत नियमित आपूर्ति कायम राख्ने तयारी गरिएको कम्पनीले जनाएको छ ।

1

Scroll to Top