चाडपर्व नजिकिँदै जाँदा दैनिक उपभोग्य वस्तुको मूल्य निरन्तर बढेपछि सर्वसाधारणको भान्सा महँगिएको छ। बजारमा खाद्यान्न, दाल, तेल, मसला, गेडागुडी र अन्य अत्यावश्यक वस्तुको मूल्य बढिरहेका बेला सरकारले भने मूल्य नियन्त्रणमा उल्लेख्य सफलता हासिल गरेको दाबी गरेको छ। यसले सरकारी दाबी र बजारको वास्तविक अवस्थाबीच ठूलो अन्तर देखाएको छ।
गत असोज ८ गते बसेको प्रतिनिधिसभा बैठकमा सांसद कृष्णप्रसाद अधिकारीले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिप्रति सरकारको ध्यानाकर्षण गराएका थिए। जवाफमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साहले बजार अनुगमनलाई प्रभावकारी बनाइएको र अस्वाभाविक मूल्यवृद्धि नियन्त्रणका लागि व्यवसायी तथा वितरकसँग छलफल गरिएको बताएका थिए।
मन्त्री साहले संसद्को रोष्टमबाट खाद्यान्नको मूल्य १० देखि १५ प्रतिशतसम्म घटाउन व्यवसायी तथा वितरकलाई निर्देशन दिइएको र त्यसको परिणामस्वरूप बजारमा करिब १० प्रतिशत मूल्य घटेको दाबी गरेका थिए। तर, नेपाल खुद्रा व्यापार सङ्घले सार्वजनिक गरेको वैशाख र असोजको खुद्रा बिक्री मूल्य सूचीलाई तुलना गर्दा अवस्था त्यसको ठीक विपरीत देखिन्छ। सङ्घको तथ्यांकअनुसार पछिल्लो ६ महिनामा अधिकांश दैनिक उपभोग्य वस्तुको मूल्य घट्नुको सट्टा बढेको छ।
धनियाँ पाउडरमा प्रतिकिलो १२५ रुपैयाँ वृद्धि
मूल्यवृद्धिको सबैभन्दा ठूलो असर मसलाजन्य वस्तुमा देखिएको छ। सङ्घको मूल्य सूचीअनुसार वैशाखमा प्रतिकिलो ३५० रुपैयाँ रहेको धनियाँ पाउडरको मूल्य असोजमा ४७५ रुपैयाँ पुगेको छ। अर्थात् ६ महिनाको अवधिमा यसको मूल्य १२५ रुपैयाँले बढेको हो। त्यस्तै धनियाँ गेडाको मूल्य ३०० बाट बढेर ३९० रुपैयाँ पुगेको छ। काँचो बदाम २५० बाट २९०, चना दाल १५० बाट १८० र सेतो भटमास १४० बाट १७० रुपैयाँ पुगेका छन्।
अन्य खाद्यान्नमा पनि मूल्यवृद्धि भएको छ। स्टिम जिरा मसिनो चामल प्रतिकिलो ९५ बाट १०५ रुपैयाँ, लङ्ग्रेन बासमती चामल १८० बाट १९० रुपैयाँ र ताइचिन चिउरा १९० बाट २०० रुपैयाँ पुगेको छ। मासको दाल २०० बाट २२० तथा रहर दाल २२० बाट २३० रुपैयाँ पुगेको सङ्घको तथ्यांकमा उल्लेख छ। तेलतर्फ पनि उपभोक्ताले थप मूल्य तिर्नुपरेको छ। काँचो तोरीको तेल प्रतिलिटर ३७५ बाट ४०० रुपैयाँ, भुटेको तोरीको तेल ४५० बाट ४६०, भटमास तेल २९० बाट २९५ र सनफ्लावर तेल २९५ बाट ३०५ रुपैयाँ पुगेको छ।
डाल्डा घ्यूको मूल्य प्रतिकिलो २६० बाट बढेर २९० रुपैयाँ पुगेको छ। जिरा पाउडर ७५० बाट ७७५, बेसार पाउडर ५०० बाट ५२५ र चिनी १०५ बाट ११० रुपैयाँ पुगेको छ।
६ महिनामा ३६ प्रतिशतसम्म वृद्धि
नेपाल खुद्रा व्यापार सङ्घको वैशाख र असोजको मूल्य सूची तुलना गर्दा केही वस्तुको मूल्यवृद्धि ३६ प्रतिशतसम्म पुगेको देखिन्छ। प्रतिशतका आधारमा सबैभन्दा धेरै धनियाँ पाउडर महँगिएको छ। यसको मूल्य ३५० बाट ४७५ रुपैयाँ पुग्दा ३५.७१ प्रतिशत वृद्धि भएको छ।
धनियाँ गेडाको मूल्य ३० प्रतिशत, सेतो भटमासको २१.४३ प्रतिशत र चना दालको २० प्रतिशतले बढेको छ। काँचो बदाम १६ प्रतिशत, सानो चना करिब १५.५ प्रतिशत र डाल्डा घ्यू ११.५४ प्रतिशतले महँगिएको तथ्यांकले देखाउँछ। त्यस्तै स्टिम जिरा मसिनो चामलको मूल्य १०.५३ प्रतिशत र मासको दालको १० प्रतिशतले बढेको छ। अन्य चामल, तेल, दाल, गेडागुडी तथा खाद्यान्नको मूल्यमा पनि २ देखि ७ प्रतिशतसम्म वृद्धि भएको छ।
यसरी हेर्दा संसद्मा मन्त्रीले गरेको ‘१० प्रतिशत मूल्य घटेको’ दाबी र खुद्रा व्यापार सङ्घको मूल्य सूचीबीच स्पष्ट अन्तर देखिन्छ। सङ्घको तथ्यांकले मूल्य घटेको भन्दा अधिकांश वस्तुमा मूल्य बढेको देखाएको छ।
मूल्य सूची र वास्तविक बजारमा पनि अन्तर
खुद्रा व्यापार सङ्घको मूल्य सूचीले बजारको औसत तथा आधारभूत मूल्यको अवस्था देखाए पनि उपभोक्ताले पसलमा तिर्नुपर्ने वास्तविक मूल्य भने पसल, ब्रान्ड र क्षेत्रअनुसार फरक हुन सक्ने व्यवसायीहरू बताउँछन्। एउटै वस्तुको मूल्यसमेत पसलपिच्छे फरक हुने गरेको उपभोक्ताको गुनासो छ। ब्रान्ड, गुणस्तर, प्याकेजिङ र आपूर्तिकर्ताको नाममा व्यापारीले फरक मूल्य लिने गरेका कारण उपभोक्ताले वास्तविक मूल्य पहिचान गर्न कठिनाइ भोगिरहेका छन्।
विशेषगरी चाडपर्वका बेला खाद्यान्न तथा मसलाजन्य वस्तुको माग बढ्ने भएकाले मूल्यमा थप दबाब पर्ने गर्छ। यस्तो समयमा बजार अनुगमन प्रभावकारी हुन नसके उपभोक्तामाथि आर्थिक भार थपिने अवस्था रहन्छ।
अनुगमन गर्ने निकायमै नेतृत्व परिवर्तन
बजारमा मूल्य नियन्त्रण तथा अनुगमनको जिम्मेवारी पाएको निकायको नेतृत्व परिवर्तनले पनि चाडपर्वको समयमा अनुगमन प्रभावित हुन सक्ने देखिएको छ। गत भदौ २४ गते दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीका रूपमा नियुक्त भएका थिए। उनले कार्यभार सम्हालेको भोलिपल्ट अर्थात् भदौ २५ गते बसेको मन्त्रिपरिषद् बैठकले वाणिज्य विभागका तत्कालीन महानिर्देशक मोतीराम सापकोटालाई गृह मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको थियो।
सरुवा भएका सापकोटाले असोज १२ गते पदस्थापनपछि गुल्मी जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका छन्। वाणिज्य विभागको नेतृत्व परिवर्तन भएको अवस्थामा नयाँ महानिर्देशकको जिम्मेवारी, बजार अनुगमनको निरन्तरता र चाडपर्व लक्षित अनुगमन कति प्रभावकारी हुन्छ भन्ने प्रश्नसमेत उठेको छ।
यसबीच उपभोक्ताले भने सरकारी दाबीभन्दा बजारमा देखिएको मूल्यलाई प्रत्यक्ष रूपमा अनुभव गरिरहेका छन्। चामल, दाल, तेल, मसला, चिनी तथा गेडागुडीजस्ता दैनिक आवश्यक वस्तुको मूल्य बढ्दा सीमित आम्दानी भएका परिवारमाथि थप आर्थिक दबाब परेको छ।
खुद्रा व्यापार सङ्घको मूल्य सूचीले देखाएको तथ्यांकअनुसार वैशाखदेखि असोजसम्म अधिकांश अत्यावश्यक वस्तुको मूल्य बढेको अवस्थामा सरकारको १० प्रतिशत मूल्य घटेको दाबीलाई पुष्टि गर्ने तथ्यांक सार्वजनिक हुन सकेको छैन। त्यसैले बजार अनुगमन, मूल्य निर्धारण प्रक्रिया र उपभोक्ताले वास्तविक रूपमा तिर्ने मूल्यबीचको अन्तर घटाउन प्रभावकारी अनुगमन र पारदर्शी बजार सूचना आवश्यक देखिएको छ।

