बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको नयाँ नेतृत्व चयनका लागि चुनावी सरगर्मी बढेको छ। आगामी असोज २१ देखि २३ गतेसम्म हुने संघको २६औँ अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने भएपछि उद्योगी–व्यवसायीहरूले आन्तरिक तयारी र भेटघाटलाई तीव्र बनाएका छन्।
बुटवलको पुरानो तथा प्रभावशाली व्यावसायिक संस्थाका रूपमा रहेको संघको अध्यक्ष पदमा हालसम्म तीन जना प्रमुख आकांक्षी देखिएका छन्। वर्तमान वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, अघिल्लो निर्वाचनका उपविजेता दिनेशप्रसाद श्रेष्ठ र बुटवल उपमहानगरपालिका–४ का वडाध्यक्ष नरीश्वर शर्मा पौडेल अध्यक्षका लागि आकांक्षी देखिएका हुन्।
वर्तमान वरिष्ठ उपाध्यक्ष गैरेले अध्यक्ष पदमा आफ्नो दाबी स्वाभाविक रहेको बताएका छन्। संघमा १८ वर्ष बिताइसकेको उल्लेख गर्दै उनले आगामी अधिवेशनबाट आफूलाई व्यवसायीहरूले सर्वसम्मत अध्यक्ष बनाउने विश्वास व्यक्त गरेका छन्। आफू व्यवसायीहरूको बीचबाटै आएको भन्दै उनले संघका अग्रजको आशीर्वाद र सहकर्मीहरूसँग निरन्तर छलफल गरिरहेको बताएका छन्।
अघिल्लो अधिवेशनमा वर्तमान अध्यक्ष हरिप्रसाद अर्यालसँग पराजित भएका दिनेशप्रसाद श्रेष्ठ पनि यसपटक अध्यक्षका आकांक्षी छन्। आफू अघिल्लो निर्वाचनको उपविजेता भएकाले यसपटक व्यवसायीहरूले न्याय गर्ने उनको अपेक्षा छ। उनले सकेसम्म निर्वाचनमा प्रतिस्पर्धा नगरी सहमतिका आधारमा नेतृत्व चयन गर्नुपर्ने धारणा राखेका छन्।
श्रेष्ठले अहिलेको परिस्थितिमा व्यवसायीहरूबीच प्रतिस्पर्धाभन्दा सहमति आवश्यक रहेको बताएका छन्। सबै पक्ष मिलेर नेतृत्व चयन गर्न सके त्यसले संघमा सहमतिको संस्कार विकास गर्ने उनको भनाइ छ।
यता बुटवल उपमहानगरपालिका–४ का वडाध्यक्ष नरीश्वर शर्मा पौडेलले पनि अध्यक्ष पदका लागि आफ्नो तयारी अघि बढाएका छन्। उज्ज्वलप्रसाद कसजू अध्यक्ष रहेको कार्यसमितिमा वाणिज्य उपाध्यक्षका रूपमा काम गरिसकेका पौडेल अहिले वडाध्यक्ष रहेकाले संघको वर्तमान कार्यसमितिमा मनोनीत सदस्यका रूपमा छन्।
पौडेलले संघका लागि आफूले विभिन्न भूमिकामा रहेर काम गर्दै आएको भन्दै अब अध्यक्षका रूपमा उद्योगी–व्यवसायीको हितमा काम गर्न चाहेको बताएका छन्। उनले आफूलाई व्यवसायीहरूको साथ रहेको दाबीसमेत गरेका छन्।
अध्यक्षसँगै अन्य पदमा पनि आकांक्षीहरू देखिन थालेका छन्। वरिष्ठ उपाध्यक्षमा सुरज भट्टराईको चर्चा छ। व्यवसायीहरूसँगको निरन्तर छलफल र भेटघाटमार्फत उनले आफ्नो पक्ष बलियो बनाउने प्रयास गरिरहेका छन्। वरिष्ठ उपाध्यक्षकै लागि विमल भट्टराईको पनि दाबी रहेको बताइएको छ।
महासचिव पदमा वर्तमान महासचिव मुक्ति अधिकारी र कोषाध्यक्ष बसन्त ढकालको नाम चर्चामा छ। यद्यपि अधिकारीले आफूलाई उपाध्यक्ष पदमा जिम्मेवारी दिइए महासचिवको दाबी छाड्ने तयारी गरेको बताइएको छ। यसले पदाधिकारी चयनमा सहमतिको सम्भावनालाई समेत खुला राखेको छ।
७३ वर्ष पुरानो संस्थामा नेतृत्वको महत्व
बुटवल उद्योग वाणिज्य संघको इतिहास लामो छ। २०१० फागुन १० गते पदमचन्द्र श्रेष्ठको अध्यक्षतामा गठन भएको बुटवल व्यापार संघ नै पछि बुटवल उद्योग वाणिज्य संघका रूपमा विकसित भएको हो। काठमाडौँबाहिरको पुरानो व्यावसायिक संस्थामध्ये एक भएकाले यसको नेतृत्वलाई व्यवसायी वृत्तमा महत्वपूर्ण रूपमा हेरिन्छ।
संघमा हाल करिब २ हजार २ सय सदस्य छन्। स्थापनादेखि हालसम्म पदमचन्द्र श्रेष्ठ, रुद्रविलास तुलाचन, किशोरीलाल कसौधन, युक्तप्रसाद प्रधान, द्रोणराज जोशी, सूर्यप्रसाद प्रधान, महेशकुमार राजभण्डारी, हीराकुमार श्रेष्ठ, जीवनप्रसाद ओझा, ज्ञानेन्द्र कसजू, अर्जुनमान सैँजू, कुशप्रसाद मल्ली, निर्मल लाकौल, नवराज श्रेष्ठ, शंकर श्रेष्ठ, सुरेन्द्रप्रसाद श्रेष्ठ, महेशमान सिंह, खेम हमाल, उज्ज्वलप्रसाद कसजू र हरिप्रसाद अर्यालले संघको नेतृत्व गरिसकेका छन्।
संघका अध्यक्ष हरिप्रसाद अर्यालले २६औँ अधिवेशनको तयारी अघि बढिरहेको बताएका छन्। उनका अनुसार साधारणसभा तथा अधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएका छन्। निर्वाचन प्रक्रियालाई व्यवस्थित बनाउन संघका कानुनी परामर्शदाता अधिवक्ता बाबुराम पाण्डेलाई प्रमुख निर्वाचन अधिकृत तोकिएको छ।
अधिवेशन नजिकिँदै जाँदा अध्यक्षसहित विभिन्न पदमा आकांक्षीहरूबीच छलफल र भेटघाट बढेकाले अन्तिम नेतृत्व सहमतिबाट चयन हुन्छ वा निर्वाचनमार्फत भन्ने विषयमा व्यवसायीहरूको चासो बढेको छ।

